//पुस्तक अंशः प्रधानपञ्च कुटेर केपी ओली भूमिगत

पुस्तक अंशः प्रधानपञ्च कुटेर केपी ओली भूमिगत


हरिहर पोखरेल
केपी ओलीकी माता मधुमाया ओलीले पँधेरोबाट पानी भरेर गाग्री घरमा के राख्न भ्याएकी थिइन्, उनको नजर आफ्नो चारमहिने छोरामा पर्‍यो । उनी आत्तिँदै गुहार-गुहार भनेर चिच्याउन थालिन् ।

गुहारको आवाज सुनेका जति छिमेकी जम्मा भए । तर, चार महिनाका केपी ओली सुतिरहेको ठाउँमा पुग्ने कसैको हिम्मत भएन । एउटा अकल्पनीय दृश्य उनी सुतिरहेको कोक्रोमा थियो । उनलाई कालो सर्पले बेरेर बसेको थियो । केपी ओली मस्त निद्रामा थिए । बेरेको कालो सर्पले सबैले हेर्दाहेर्दै बिस्तारै छोडेर गयो । उनी निद्राबाट बिउँझिए । आमा मधुमायाले ठूलो सास लिँदै, आँसु पुछ्दै अँगालोमा लिइन्, सुमसुम्याइन् ।

उनलाई लागेको थियो, छोरालाई सर्पले डसेर मारिसक्यो । तर, उनको छोरालाई केही भएको थिएन । बेरेको सर्पले उनलाई डस्ने होइन, सुरक्षा पो दिएको रहेछ । मधुमायाका खुसीका आँसु खसे । उनी आˆनो छोरालाई च्यापी टुसुक्क पिँढीमा बसिन् ।

जब केपीलाई बेरेको सर्पले छोडेर गयो, छिमेकीहरू एक-आपसमा कानेखुसी गर्न थाले । यो बच्चो भोलि देशको ठूलो मान्छे बन्छ ।

कमजोर स्वास्थ्य, जीर्ण शरीर र तीक्ष्ण बुद्वि भएका उनी अन्य बच्चासरह सामान्य तरिकाले हुर्किंदै थिए । उनी बारम्बार बिरामी परिरहन्थे । बिरामी परिरहँदा परिवारमा ढुङ्गेल थरका ज्योतिषीको भविष्यवाणीले पनि झस्काइरहन्थ्यो ।

उता फेरि सर्पले बेरेर छोडेपछि छोराको ग्रहदशा बलियो नै रहेछ भन्ने पनि लाग्थ्यो । पिता मोहनप्रसाद आफैँ पनि ज्योतिषशास्त्रका ज्ञाता भएका कारण छोरो बचाउन मुस्किल हुने हो कि भन्ने चिन्तामा छँदै थिए । मनोवैज्ञानिक कारणबाट पनि परिवारमा तनाव उत्पन्न भएको थियो । कुन दिन कहाँ कसलाई के हुन्छ ? तत्कालीन समाजको चेतनास्तर त्यति माथि उठिनसकेका कारण यस्ताखालका भविष्यवाणी र अन्धविश्वासले मानिसलाई झुलाइरहन्थ्यो ।

समय, परिस्थिति र संयोग पनि कस्तो भयो भने केपी ओली चार वर्षका मात्र के भएका थिए, उनकी आमाको देहान्त भयो । उनी आमाको मातृवात्सल्यबाट वञ्चित हुन पुगे । तत्कालीन समयको त्यहाँको भाषाअनुसार माइका खटिरा -बिफर, दादुरा)बाट ग्रस्त भएर आमा मधुमाया ओलीको निधन भयो । त्यति नै बेला उनले मात्र होइन, अरूहरूले पनि यसै रोगको महामारीबाट ग्रस्त भई जीवन गुमाउनुपरेको थियो । अहिले भने त्यस्तो रोग उन्मूलन भएको छ ।

केपी ओलीको न्वारानको नाम धुव्र ओली हो । धुव्र आँगनमा खेलिरहेका थिए । चार वर्षको उमेरका बच्चालाई आमा सिकिस्त बिरामी भएको त्यस्तो हेक्का पनि हुँदैन । आमा मधुमाया ओलीले सायद अन्तिम श्वास लिँदै थिइन् । उनलाई छोरो देख्न मन लागेछ । आफू अब बाँच्दिनँ भन्ने लागेर होला, छोरालाई कसैको जिम्मा लगाउन खोज्दै थिइन् । उनी बोल्न सक्ने अवस्थामा थिइनन्, इसारा गरेर केपी ओलीलाई खोजिन् । उनकी सासू तथा केपी ओलीकी हजुरआमाले ध्रुव आइज त बाबू भनेर बोलाइन् । केपी बालसुलभ तरिकाले आज्ञाकारी बन्दै टुकुटुकु हिँडेर आए । केपीको हात समाती उनकी आमाले आˆनी सासूको हातमा राखिदिइन् । उनको इसारा थियो, अब मेरो छोरो हजुरको जिम्मा ।

मधुमायाका आँखाभरि आँसु भरिए । बोल्न र चल्न सक्ने भए आˆनो छोरालाई काखमा लिएर ममताले कति म्वाइँ खान्थिन् होला । नियतिले उनलाई आˆनो जीवनको अन्तिम घडीमा समेत छोरालाई ममताले चुम्न दिएन । छोराको हात सासूको हातमा राखी साङ्केतिक जिम्मा लगाएको केही क्षणमै उनले सदाका लागि संसारबाट बिदा लिइन् । हजुरआमा राममायाले पनि आँसु थाम्न सकिनन्, घरमा सन्नाटा छायो ।

त्यही दिनदेखि केपी ओलीले आˆनो मातृवात्सल्य गुमाए । तर, उनलाई उनकी हजुरआमाले आमाको कुनै अभाव हुन नदिई हुर्काइन् । केपी ओली हजुरआमासँगै रमाउँथे, अरू परिवारको उनलाई वास्ता हुँदैनथ्यो । आमाको ममताको अभाव उनलाई हजुरआमाले हुन दिइनन् ।

प्रधानपञ्च काण्ड

केपी ओली सानैदेखि जुझारु स्वभावका थिए । अन्याय पटक्कै सहँदैनथे । कोही आइलाग्छ भने जाइलाग्न पनि पछि पर्दैनथे । गाउँमा चलेको किसान आन्दोलन, भकारी आन्दोलन, जातीय आन्दोलन, मोहियानी हक आन्दोलनजस्ता आन्दोलनले गाउँका पञ्च, सामन्त, फटाहा आत्तिएका थिए ।

त्यस्ता आन्दोलन रामनाथ दाहालको नेतृत्वमा सञ्चालनमा आएका थिए । केपी रामनाथकै समिपमा घरमा बसेर पढ्ने र रामनाथले चलाएको आन्दोलनमा सक्रिय सहभागी भएकाले उनीविरुद्व पनि सामन्त, फटाहा र पञ्चहरू लागेका थिए । पञ्च-सामन्त, गाउँका चम्चेहरू भेला भई रामनाथ र केपीविरुद्व उत्रिन्थे । केपी ओलीलेे भेला भएका पञ्चे-चम्चेले रामनाथलाई पुलिस लगाएर थुन्नेसम्म निर्णय गरेको थाहा पाए । उनले पनि एक दिन आˆना मान्छेहरूको भेला बोलाए । गाउँमा मोहन राजवंशी भन्ने प्रधानपञ्च थियो ।

उसले पनि भेला बोलाएको थियो । रामनाथ, केपी ओलीविरुद्वको प्रधानपञ्चको भेला नसकिउन्जेल केपी ओलीले आˆनो टिम लिएर बाटोमा कुरेर बसे । जब प्रधानपञ्च आˆनो भेला सकेर ठाँटसँग आउँदै थियो, केपी ओलीको टिमले प्रधानपञ्चमाथि मर्ने गरी आक्रमण गरी खोलामा फालिदिए । त्यसपछि केपीको टिम प्रधानपञ्च मर्‍यो भन्दै घरमा आइपुग्यो । उनीहरूले घरमा आएर प्रधानपञ्चलाई मारेर खोलामा फालिदियौँ भने । अब बित्यास पर्ने भो ।

त्यसै त रामनाथ र केपीमाथि पञ्चलाई रीस थियो, त्यसमा प्रधानपञ्चलाई मारेपछि बसिनसक्नु हुने भयो भन्दै उनीहरूलाई छिटो-छिटो खाना खाएर भाग्न भनियो । तर, केपीले भने खासै खान मन गरेनन् । दही मात्र खाएर भागे ।

त्यस घटनाभन्दा अगाडि प्रधानपञ्चले ओलीलगायतको टिमलाई गालीबेइज्जती गरे भनेर चौकीमा उजुरी दिएका थिए । ओलीको टिमले एक दिन प्रधानपञ्चलाई सार्वजनिक ठाउँमा राम्रैसँग झपार्दै प्रधानपञ्चलाई सबक सिकाए, गाली बेइज्जती भनेको यस्तो हुन्छ । त्यसपछि पुनः प्रधानपञ्चले सार्वजनिक अपराधमा उजुरी हाल्यो । केपीको टिमले फेरि सार्वजनिक ठाउँमै प्रधानपञ्चलाई गाली गर्दै हातपातसमेत गर्दै भने, सार्वजनिक अपराध भनेको यस्तो हो भन्ने सबक सिकाए । अनि प्रधानपञ्चले ज्यान मार्ने उद्योग गरे भनेरै उजुर गर्‍यो । त्यसपछि केपीको टिमले राम्रैसँग धुलाई गरी ज्यानमार्ने उद्योग यो हो भनेर सबक सिकाउँदा यो घटना घटेको थियो ।

केपी ओलीको टिम त्यहाँबाट भाग्नेबितिकै पुलिसको टोली रामनाथको घरमा आइपुग्यो । ओली स्कुल अध्ययन गर्दै थिए । पुलिसले घरमा आई तिम्रा मान्छे खै, तिनीहरू मान्छे मारेर यहाँ आएका छन् भन्दै खोज्यो । विश्वेश्वरा पनि के लाटी थिइन् र, उनमा पनि राजनीतिक चेतना जागरण भइसकेको थियो । उनले मान्छे मारेका भए यहाँ आउँछन् कि भागेर जान्छन् भन्दै त्यहाँ कोही पनि नआएको बताइन् । प्रहरीहरू यताउति हेर्दै नाजवाफ भएर घरबाट रित्तै फर्किए ।

तर, उनीहरू केपीको टिमलाई खोज्दै बाटो पछ्याउन थाले । तत्कालीन समयमा आउने-जाने बाटो निश्चित थियो । पुलिसले रामनाथको घरबाट केही पर पुगेपछि केपीको टिमलाई फेला पार्‍यो । प्रधानपञ्च आक्रमण गर्ने टिमका केहीलाई प्रहरीले पक्रियो भने केही भागेर ज्यान बचाए । केपी ओली भने पक्राउ पर्नबाट जोगिए ।

भागेर ज्यान बचाउने साथीहरूले केपी ओली तमोरमा हाम फाले, कतै फेला परेनन् भन्ने समाचार ल्याए । उनी तमोरमा हाम फालेको र मरेको भन्ने हल्ला फैलियो । उक्त हल्ला रामनाथ दाहालले पनि सुने । उनी राति अबेर घरमा आए, खाना खान मन गरेनन् । तुरुन्तै घरमा केपीले तमोरमा हाम फाल्यो रे, म बुझ्दै छु भन्दै घरबाट बाहिर निस्किए । त्यतिबेला सुरक्षित ढङ्गले काम गर्न केही गोप्य सेल्टरहरू पनि बनिसकेका थिए । रामनाथ त्यही सेल्टरमा पुगे । त्यहाँ पुग्दा त केपी ओली निथ्रुक्क भिजेर बसिरहेको देखे ।

त्यही समयदेखि केपी ओली पूर्ण भूमिगत भई पार्टीको काममा खटिएका हुन् ।

ओलीको टिमले आक्रमण गरी मर्‍यो भनी फालेको प्रधानपञ्च जिउँदै रहेछ । आक्रमण गर्दा उसले मरेको नाटक गरेको रहेछ । ओली टिमले खोलामा फालेपछि ऊ निस्केर आफँै प्रहरीकोमा गएर उजुरी गरेको रहेछ । आखिर मर्‍यो भनेको प्रधानपञ्च जिउँदै रहेछ ।

ओली जति समस्या पर्दा पनि, जस्तोसुकै कठिन परिस्थिति बेहोर्नुपरे पनि सानैबाट कति पनि विचलित नहुने मान्छे हुन् । त्यही भएर रामनाथले उनलाई अत्यन्त प्रचुर सम्भावना भएको व्यक्ति भन्दै आन्दोलनमा ल्याएका थिए । आखिर भयो पनि त्यस्तै । त्यतिबेला पनि धनी कम्युनिस्ट र गरिब कम्युनिस्टबीच पार्टीभित्रै भेदभाव थियो । गरिब पारिवारिक पृष्ठभूमि भएका ओलीले त्यो नमिठो पीडा पनि भोगे । तर, जनमुक्ति आन्दोलनको बाटोबाट कहिल्यै विचलित भएनन् । उनी स्पष्टवादी र कसैसँग कहिल्यै नडराउने स्वभावका थिए ।

उनी स्कुल पढ्दा पनि अत्यन्त तर्कपूर्ण कुरा गर्थे । उनको तर्क र दृष्टान्त प्रस्तुतीकरणबाट शिक्षकसमेत प्रभावित थिए । उनी सङ्गठन गर्ने कलामा पनि सिपालु थिए ।

(हरिहर पोखरेलले लेखेको केपी ओलीको जीवनी ‘स्वाभिमानका सतीसाल’ ब्रदर बुक्सले बजारमा ल्याउन लागेको छ ।)