//आईजीपीका बारेमा गृहमन्त्री चुपचाप

आईजीपीका बारेमा गृहमन्त्री चुपचाप

काठमाडौँ । पार्टीमा विवादरहित र सङ्गठनमा कुशल रामबहादुर थापा ‘बादल’ले काम गर्नै नदिने विगतका गृहमन्त्रीहरूलाई घेराबन्दीमा पार्ने संस्कारको सुरुमै नियन्त्रण गरेका छन् । गृहमन्त्री बादलले त्यो प्रक्रिया नअपनाएको भए उनको कार्यकक्ष उनी मन्त्रालय नपुग्दै खचाखच हुन्थ्यो तर उनले दश दिनपछि आईजीपीबाट हट्ने अवस्थामा पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपीले लगेका नीतिगत फाइलहरूबाहेक सरुवा–बढुवाका फाइल छोएनन् । अनावश्यक झन्झट र सरुवा–बढुवामा केन्द्रित हुन नपरेपछि गृहमन्त्री थापाले सङ्घीय संरचनाअनुसारको कार्यव्यवस्था तयार गर्न हिजो आफ्नै अग्रसरतामा बैठक सम्पन्न गरेका छन् । देश प्रादेशिक ढाँचामा गएपछि स्थानीय, प्रदेश र केन्द्रीय तहको रचनाअनुसार सशस्त्र प्रहरीलाई प्रदेश मातहतमा सञ्चालन गर्ने सुरुमा सुझाव लिनै पथ्र्यो । त्यस्तो सुझाव दुवै सङ्गठनका उच्च अधिकारीहरूसँग लिनु गृहमन्त्रीको कर्तव्य हो । कानुनको पालना आफैँले गरे आफू मातहतका सङ्गठनहरू सञ्चालन गर्न सहज हुन्छ । त्यो बुझेर गृहमन्त्री थापाले शक्ति र पहुँचको भरमा कुद्नेहरूलाई पहिल्यै तर्काउन सफल भएको ठानिएको छ ।

प्रतिस्पर्धी दुवैतिर गहकिला

आजको दशौँ दिनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले नयाँ आईजीपी पाउँदैछन् । अर्धसैनिक बल सशस्त्र प्रहरीमा अरू आईजीभन्दा ११ महिनाअगाडि बढुवामा परेका एकल दावेदार शैलेन्द्र खनाल रहेका छन् । उनलाई कैँची काटेर आईजीपी बन्ने चाहना राखेका एआईजी पुष्पराम केसीले डीआईजीबाट बढुवा हुँदा बुढानीलकण्ठतिर धाएर नारायणबाबु थापालाई पछि पारेका थिए । केसीले एमालेका वरिष्ठ नेता वामदेव गौतमको भर परेर सशस्त्रको वरिष्ठता प्रक्रियामा खनाललाई धक्का दिन बजार हल्ला पिटाएका छन् । तर त्यो सफल हुने देखिँदैन । किनकि १४ दिने आईजीपी बनाउने त्यही सशस्त्र हो । सशस्त्रको भन्दा फरक संरचना वरिष्ठता र रोलक्रममाथि धक्का दिन नेपाल प्रहरीमा सम्भव छ–छैन ? वरिष्ठता मिचियो भन्दै नवराज सिलवाल प्रकरण सदनमा उठाएको नेकपा एमाले धर्म सङ्कटमा छ । प्रहरीको आईजीपीका बारेमा चासो राष्ट्रपतिसम्मले लिएका छन् । बाहिर नदेखिए पनि सत्ताको स्वादमा ठूलै नेता खट्छन्, जुट्छन् । तर कामको हिसाबले डीआईजी सर्वेन्द्र खनाल र पुष्कर कार्की लोकप्रिय छन् । भित्रीरूपमा यी दुवै कुदेका हुन सक्छन् । तर जयबहादुर चन्दबाट बदर गराउने हैसियतमा नवराज पुगेझैँ सर्वेन्द्र र पुष्कर पुग्दैनन् भन्ने विश्वास धेरैमा छ ।