//प्रचण्डले ‘कान्छी’ हेरेपछि…

प्रचण्डले ‘कान्छी’ हेरेपछि…

अभिनेत्री श्वेता खडकाद्वारा निर्मित चलचित्र ‘कान्छी’ को आइतवार साँझ काठमाडौँमा विशेष शो आयोजना गरियो । कुमारी हलमा आयोजित विशेष शोमा पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नयाँ शक्ति पार्टी नेपालकी नेत्री हिसिला यमीलगायत उपस्थित थिए । चलचित्र हेर्न कलाकर्मी र सामाजिक क्षेत्रका व्यक्तिहरू पनि उपस्थित थिए ।  सो अवसरमा प्रचण्डले नायिका तथा निर्मात्री श्वेता र आफ्नो अवस्था एउटै भएको बताए । प्रचण्डले भने– ‘परिवारको सदस्य गुमाउनुको पीडा हामीले समान महसुस गरिरहेका छौँ । श्वेताजी र हाम्रो परिवार एउटै पीडाबाट गुज्रेको छ ।’ उनले आफू पीडालाई शक्तिमा बदलेर देश र जनताका लागि सामाजिक काममा लागिरहेको बताए । कार्यक्रममा डिजाइनर सुन्दर श्रेष्ठलाई प्रचण्डले सम्मान गरेका थिए । आकाश अधिकारी निर्देशित चलचित्र ‘कान्छी’ मा दयाहाङ राई र श्वेता खड्का मुख्य भूमिकामा छन् ।