//यसरी हुन्छ नेपालबाट तस्करी

यसरी हुन्छ नेपालबाट तस्करी

वीरगन्ज । तेस्रो मुलुकबाट मरिच आयात गरेर भारत तस्करी गर्ने क्रम बढेको छ । भारतमा भन्दा भन्सार कम भएको फाइदा उठाउँदै केही व्यापारीले मरिच आयात गरेर तस्करी गरिरहेका छन् । केही समयअघि सम्म साइकल र मोटरसाइकलमार्फत् हुने तस्करी अहिले ट्रकमार्फत् नै हुन थालेको छ । बाराको छोटी नाका मुसहर्वा, मटिअर्वा, पचरौता, सिम्रौनगढलगायत नाकाबाट साइकल र मोटरसाइकलमा हुने मरिच तस्करी अब ट्रकमा हुन थालेको छ । बारा प्रहरीले आइतवार बिहान ना ५ ख ६९५५ नम्बरको मिनी ट्रकमा कुखुराको दानाभित्र लुकाएर भारत निकासी गरिरहेको अवस्थामा करिब ६० क्विन्टल मरिच बरामद गरेको छ । कुखुराको दाना साढे ५ टन फेला परेको छ ।

प्रहरीले पचरौता नगरपालिकाका– ९ बाट तस्करीको समानसहित सिमरौनगढ– ३ का विरोज कुशवाहालाई नियन्त्रणमा लिएको छ । प्रहरीले ५ लाखको कुखुराको दाना, सवा लाख मूल्यबराबरको मरिच जफत गरी कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालय पठाएको बाराका एसपी राजकुमार वैदवारले जानकारी दिए । यसरी मरिच बरामद गरेको पहिलो पटक होइन । यसअघि पनि प्रहरीले ठूलो परिमाणमा मरिच बरामद गरेको छ । अढाइ महिनामा जम्मा १ सय ३५ क्विन्टल मरिच बरामद भएको बारा प्रहरीले जनाएको छ । भियतनाम, इन्डोनेसिया, ब्राजिललगायत देशबाट मरिच ल्याएर भारत पठाइने गरिएको छ । मरिचको पैठारीमा भन्सार महसुल पनि थोरै भएकाले व्यवसायी यसतर्फ आकर्षित भएका हुन् । मरिचको भन्सार महसुल ५ प्रतिशत मात्र छ । यसमा मूल्य अभिवृद्धि कर (भ्याट) पनि बुझाउनुपर्छ । भियतनामबाट आयातीत मरिचको खुद्रा मूल्य नेपालमा प्रतिकिलोग्राम ७ देखि ८ सय रूपैयाँ पर्छ । भारतमा यसको मूल्य ९ सयभन्दा माथि छ । मूल्यको यही अन्तरको फाइदा उठाउँदै कारोबारीले मरिचको पैठारीलाई तीव्र बनाएका हुन् ।

नेपाल प्रहरी र सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको ज्यादाजसो ध्यान सुपारीमा नै गएपछि व्यवसायीले अन्य वस्तुतर्फ हात हालेका हुन् । मरिच महँगो माल भएकाले ५ किलोग्रामको पोका लैजाँदा पनि प्रहरीको आँखा छल्न सजिलो छ ।  मरिच आयात गर्नेमा ठूला व्यापारी छन् । तर तस्करीमा भने भरिया समातिन्छन् । मरिच आयात गर्नेहरूलाई कुनै कारबाही हुँदैन । भरियालाई भारत निकासी गर्न पठाउँछन् र उनीहरू मात्रै तस्करको रूपमा दर्ज हुन्छन् । ठूलाको सेटिङ हुन्छ । उनीहरूलाई सधैँ व्यापारीको रूपमा समाज र राज्यले चिन्छ । स्रोतका अनुसार सुपारी, सुकमेल हुँदै मरिचको तस्करी भएको राज्यका सबै निकायलाई जानकारी भए पनि नियन्त्रणका लागि कुनै प्रयास हुँदैन । सुपारी, सुकमेल र अहिले मरिच आयात गरेर भारत तस्करी गर्ने व्यापारी एउटै छन् । तर उनीहरूलाई आयातकर्ताको रूपमा सम्मान दिइन्छ । मुलुकभित्रको खपतभन्दा बढी आयात हुनेबित्तिकै रोक्नेतर्फ पहल नगरेसम्म यस्तो तस्करी भइरहन्छ । खुलमखुला रूपमा सुपारी, सुकमेलपछि मरिच तेस्रो मुलुकबाट ल्याएको व्यापारीले बताइरहँदा पनि अर्थ मन्त्रालयलगायतका निकायले कुनै कारबाही नगरेकाले तस्करीको रूपमा मुलुक बदनाम भएको छ । ‘भारतले हरेक वाणिज्य वार्तामा नेपालबाट सामान तस्करीको कुरा उठाउँछ । हाम्रा धेरै मुद्दा त्यही तस्करीका कारण समाधान हुन सकेको छैन । तर भारत र नेपालबीचको भन्सार फरक राख्दा हुने समस्यालाई सम्बोधन गर्न नै सकिएको छैन । यसले कालो व्यापार मौलाएको छ । राजस्वमुखी मात्रै भएर हेर्दा यसरी तेस्रो मुलुकबाट सामान आयात गरेर तस्करी गर्ने प्रणालीको विकास भएको हो । राजस्व मात्रै हेर्ने प्रणाली विकास हुँदा यस्तै अवैध कामले प्रश्रय पाएका छन् । यसले व्यापार घाटा उच्च पनि भएको छ र कालो धनसमेत थुप्रिएको छ ।