//एकैचोटि तीनतिर ठग्छन् निजी विद्यालय

एकैचोटि तीनतिर ठग्छन् निजी विद्यालय

व्यापारका पनि सीमा हुन्छन् । नाफा कति खाने ? छुट कति दिने र कतिमा बेच्दा व्यापार दीर्घकालीन हुन्छ भन्ने बुझाइ भएकाहरूले नै व्यापार सञ्चालन गर्छन् भन्ने मेरो बुझाइ छ । वस्तुको वास्तविक मूल्यभन्दा जब दश गुणा बढी असुल्न खोजिन्छ, तब त्यो व्यापार हुनै सक्दैन । शिक्षाको बजारमा, जसरी अहिले रात–दिन मेहनत गरेर लुट्नकै निम्ति विभिन्न शीर्षकमा अभिभावकबाट पैसा असुलिँदै छ, त्यसलाई व्यापार मात्र भन्न सकिँदैन । तपाईं मान्नुस् या नमान्नुस्, त्यो लुटधन्दा नै हो र लुटेराहरूले न राज्यलाई टेर्छन् न विधिलाई मान्छन् न नियम नै पालना गर्दछन् ।
वस्तु किन्न जाँदा त्यहाँ बार्गेनिङ गर्न पाइन्छ किनकि हामीलाई थाहा छ, त्यो व्यापार नै हो भनेर । निजी विद्यालय व्यापार नै हो भने किन अभिभावकले शुल्कसम्बन्धी बार्गेन गर्न नपाउने ? राज्यले समान शुल्क तोकिदिन किन नसक्ने ? मलाई कहिलेकाहीँ लाग्ने गर्दछ, सडक पेटीमा मिल्ने चिज वस्तुको मूल्य र सपिङ सेन्टरमा पाइने वस्तुको फरक हुन्छ किनकि त्यहाँ स्वाभाविक कारणहरू छन् तर किन विद्यालय र विद्यालयमा नै असमान शुल्क निर्धारण ? स्पष्ट वर्गीय खाडल सिर्जना गर्ने आधारको सृष्टि किन गरिँदै छ ?
विद्यालयले धेरै शीर्षकमा पैसा असुली रहेको हुन्छ, तपाईंहरूको ध्यान पुगिरहेको हुँदैन । तपाईंले तिरेको एक–एक पैसा सही कुरामा प्रयोग भएको छ या छैन, त्यो बुझ्न पाउने तपाईंको अधिकार हो । तपाईंले तिरेको शुल्कले तपाईंका नानी–बाबु सन्तुस्ट छन् या छैनन्, त्यो पनि अभिभावकले बुझ्नुपर्दछ । ५ मिनेट कम्प्युटर सिकाएर कम्प्युटर सिकेको शुल्क असुल्ने, खद्दर र पोलिस्टरका कपडालाई कटन भनेर बेच्ने, शिक्षक अनुपस्थित हुँदा लाइब्रेरी (पुस्तकालय) लैजाने अनि पुस्तकालय शुल्क असुल्ने, जनस्वास्थ्य तथा शारीरिक शिक्षा पढाउँदा विद्यार्थीलाई पाठ्यक्रमअनुसारको खेल खेल्न लैजाने अनी खेलकुद शुल्क भन्दै असुल्ने आदि कुरा निजी विद्यालयमा व्याप्त छन् । अभिभावकले यस्ता कुरामा एक पैसा पनि तिर्नु जरुरी छैन । कहिले टाई, कहिले आइडी कार्ड र कहिले भ्रमण यस्ता देखिएका अनेकौँ विषयमा तपाईं अभिभावक लुटिइरहनुभएको छ । बसले मोबिल फेरेको पनि पैसा उठाउँदा त्यसलाई बस मर्मत शुल्क भनेर बुझ्नुपर्ने ? भवन मर्मत शुल्क रे ? अभिभावकले १० मिनेट समय दिएर छोराछोरीको बिलमाथि अनुसन्धान गर्नुहोस्, धेरै कुराको रहस्य आफैँ उदघाटित हुने छ । ५० डिग्रीको घाममा उभिएर कमाएको त्यो पैसाको महत्व धेरै छ । तपाईंले तिर्नुभएको त्यो पैसाले, के तपाईंका बालबालिकाले गुणस्तरीय शिक्षा नै प्राप्त गरेका छन् त ? गुणस्तर मापनको एकाइ के हो ? सुगा रटाउँदा झैँ रटाएर कागजको खोस्टोमा डिभिजनको ट्याग लगाएर पठाउँदैमा, तपाईं हाम्रा छोराछोरीले राम्रो पढेका छन् भनेर बुझ्नुहुँदैन । निजी विद्यालयभित्र पैसा आर्जनका लागि ट्युसन र कोचिङको व्यवस्था हुने गर्दछ । अभिभावकले ठन्डा दिमागले सोच्नुभयो भने एउटा कुरा बुझिहाल्नुहुन्छ, छोराछोरीलाई कोचिङ र ट्युसन राखेपछि उनीहरू पास नै हुन्छन् किनकि कक्षा ९ सम्म परीक्षाकै प्रश्नपत्रमा सुगा रटाइ हुन्छ । तपाईंलाई विश्वास नलागे छोराछोरीको रिभिजन कापी र जाँचको प्रश्नपत्र जाच गर्नुहोला, सत्य आफैँ बुझ्नुहुने छ ।
एकातिर अभिभावकसँग अनावश्यक शुल्क असुल्दै मोटाएका बिर्खेहरूले शिक्षकलाई निम्न पारिश्रमिक दिँदै श्रम र बौद्धिक शोषण गरेका छन् । त्यस्तै, राज्यले तोकिदिएको सिलिङ तोडेर आफूले मनपरी शुल्क असुल्दै कर पनि छली गर्ने गरेका छन् । निजी विद्यालयमा दुई किसिमका अडिट रिपोर्ट हुने गर्दछन्, एउटा राज्यलाई बुझाउने जहाँ कर छलिएको हुन्छ र अर्को आन्तरिक प्रयोजनका लागि अडिट हुने गर्दछ । राज्यले तीव्र र सूक्ष्म अनुसन्धान गर्ने हो भने निजी विद्यालयको लुट धन्दा बाहिर उद्घाटित हुने छ । निजी विद्यालयभित्र शिक्षकलाई बिनानियुक्ति पत्र हायर एन्ड फायर जसरी राखिन्छ । निजी विद्यालयका शिक्षकप्रति पनि राज्यले न्यायोचित व्यवहार देखाउन जरुरी छ ।