//क्षतिपूर्ति माग्दै प्रहरीविरुद्ध मुद्दा

क्षतिपूर्ति माग्दै प्रहरीविरुद्ध मुद्दा

बाँके । प्रहरीले हिरासतमा शारीरिक तथा मानसिक यातना दिएको भन्दै बाँकेको भुजाइगाँउका एक युवकले आइतवार मुद्दा दायर गरेका छन् । भुजाइगाँउका भुविन थापाले यातनाको क्षतिपूर्तिबापत एक लाख रूपैयाँ क्षतिपूर्ति माग्दै बाँके जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् । मुद्दामा जिल्ला प्रहरी कार्यालय बाँके र सोही कार्यालयका असई राजेन्द्र पुजारालाई विपक्षी बनाइएको छ । फिरादपत्रमा यातना क्षतिपूर्ति मुद्दामा यातनाको कारणले पुग्न गएको क्षति र भविष्यमा पुग्न जाने क्षतिको समेत यथोचित मूल्याङ्कन र विचार गरी यातनासम्बन्धी क्षतिपूर्ति ऐन २०५३ को दफा ३(१) बमोजिम एक लाख रूपैयाँ अर्थात् हदैसम्मको क्षतिपूर्ति माग गरिएको छ । साथै, कुटपिट तथा यातनामा संलग्न प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावली २०४९ बमोजिम हदैसम्मको कारबाहीको माग गरिएको छ । तराई मानवअधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स)को कानुनी सहयोगमा मुद्दा दर्ता गरिएको थर्ड एलायन्सका नेपालगन्ज प्रमुख आलम खानले बताए । मोबाइल चोरीको अभियोगमा पक्राउ परेका थापालाई हिरासतमा दिइएको यातनाका कारण हिप पूरै नीलडाप परेको छ भने हिँडडुल गर्न समेत समस्या भएको छ भने यातनाका कारण छाती, ढाड र खुट्टामा पनि चोट लागेको छ । मुद्दा दर्ता गराउन थर्ड एलायन्सका प्रमुख आलम खान र अधिवक्ता विश्वजित तिवारी बाँके जिल्ला अदालत गएका थिए ।