//नेतृत्वले समयमै सोचे राम्रो

नेतृत्वले समयमै सोचे राम्रो

ईश्वरी वाग्ले
जनताको चाहनाअनुसार चुनावकै समयमा पार्टी एकताको मुद्दा लिएर मत माग्न गएका माओवादी र एमाले नेताहरू पार्टी एकतामा मन्थन गर्दै गर्दा भागबन्डाको अत्तो थापेका समाचारले निराशा र शङ्का उब्जाएको छ । सरकार बनेको एक महिना २६ दिन भएको छ । जनताले शङ्का गर्छ, कार्यकर्ताले शङ्का निवारण गर्छन् । तर निश्चित लक्ष्य र उद्देश्य पूरा गर्ने दायित्व दुवै पार्टीका ती नेतामा छ, जसले नेपालमा परिवर्तन चाहेका छन् । एकता हुनै नदिने र एकता भए टिक्न नदिनेसम्मका धम्की आएका छन् । नेपालमा वाम प्रगतिशील शक्तिलाई फुटाउने र आफू राज गर्ने नेपाली काँग्रेस र त्यसको वर्गीय धरातलसँग मिल्ने २३४ वर्षको राजतन्त्रको निकै शक्ति देखियो । काँग्रेस प्रजातन्त्रमा विश्वास गर्दागर्दै त्यसका केही नेताहरू कम्युनिस्टको नाउँ नै लिन चाहँदैनथे । तर परिवर्तनकारी आन्दोलनमा काँगे्रेसलाई साथ दिने कम्युनिस्ट नै भए ।
कम्युनिस्टसँगको सहकार्य जति भर पर्दो छ, त्यति काँग्रेस कम्युनिस्टहरूको भर पर्दो साथी सहयात्री भएन । काँग्रेसले बरु पञ्चहरूलाई प्रजातन्त्रवादी देख्यो । काँग्रेस जस्तै चुनावी योजना र एजेन्डा लिएर जनतामा गएर जनमत लिने कम्युनिस्टहरू प्रजातन्त्रवादी भएनन् । जसले प्रगतिशील योजनाका साथ जनताका सुखदुःख देख्यो । जनताका समस्या समधान गर्ने बाटो रोज्यो । त्यो प्रजातन्त्रवादी र सुधारवादी भएन । देशमा गणतन्त्र, सङ्घीयता, समावेशिताका योजना लागू गर्ने काममा काँग्रेसलाई सघाउने कम्युनिस्टहरू हुन् । तर राप्रपा कमल थापा गुटले संवैधानिक राजतन्त्रको एजेन्डा राजतन्त्र ध्वस्त भएको १२ वर्षसम्म उठाइरहेको छ । काँग्रेसलाई प्रजातन्त्रवादी त्यही कमल थापा बनेका छन् । माओवादी र एमालेहरू प्रजातन्त्रवादी भएनन् ।
काँग्रेसको पुरातन शैलीका कारण जनताले रुचाएनन् । आज काँग्रेसमा पनि विदेशी जासुसहरू छन् । विदेशी चलखेलका कारण काँग्रेस आफ्नै प्रगतिवादी योजनालाई कार्यान्वयन गर्न नसक्ने भयो । वामपन्थीहरूले जनताबाट प्राप्त मतको कदर गर्छन् । तर काँग्रेसले जनमतको कदर त्यो बेला मात्र गर्छ, जुन बेला चुनाव हुन्छ । चुनाव सकिएपछि जनता बिर्सने काँग्रेसलाई यस पटक जनताले दिएको सजाय बाध्यताको हतियार हो । काँग्रेसलाई हरायो, वामपन्थी शक्ति झन्डै दुई तिहाइमा पुगेको छ । यो जनमतको कदर नगरी फेरि अहङ्कार देखाइयो भने भोलि वापमन्थीहरू जति नै ठूलो र सशक्त पार्टी भए पनि खस्न सक्छन् । अहिले अहङ्कार होइन, शालीनता जरुरी छ । कामविहीन होइन, योजना चाहिएको छ । जनता महँगी हटाऊ, भ्रष्टाचार घटाऊ, राष्ट्रिय स्वाभिमान बचाऊ, बेरोजगारी अन्त्य गर, देशमै रोजगारी सिर्जना गर, काँग्रेस जस्तो पक्षपाती नहोऊ, नेतृत्वले अवसरको उचित सदुपयोग गर्न सक्नुपर्छ, समयले एक पटक साथ दिन्छ । त्यो अवसरको उचित सदुपयोग गर्न सक्नुपर्छ । प्रधानमन्त्री खड्ग ओली छिमेकीको भ्रमण गरेर फर्किएका छन् । उनको चाहना पनि वैशाख ९ सम्म होइन, भारत भ्रमणअगावै एकता गरेर दक्षिण एसियाको बलियो शक्ति नेपालको नेतृत्व भ्रमणमा छ भन्ने सन्देश दिन चाहन्थे । तर प्राविधिक रूपमा प्रधानमन्त्रीको भ्रमणअगाडि त्यो काम हुन सकेन । शङ्का एमालेमा पनि छ, माओवादीमा पनि छ । यो शङ्का निवारण गर्ने नेतृत्वले हो । एकताविरोधी दुवै पार्टीमा छन् ।
एमाले, माओवादी मिल्दा मोहन वैद्य, नेत्रविक्रम चन्द र मोहनविक्रम सिंहलाई दबाब पर्न सक्छ । उनीहरू पनि क्रान्तिकारी पार्टीको अवधारणा बनाउँदै छन् । एउटा शक्ति संसद्मा र अर्को शक्ति सडकमा भयो भने कम्युनिस्टको नाममा हुने गलत काम रोकिन सक्छ । यहाँ संसदीय अभ्यास स्वीकार गरेर चुनावमा गएका मोहन वैद्य जनतामा पत्याउने अस्त्र भएनन् । व्यवस्था ध्वस्त गरेर जनवादी व्यवस्था ल्याउने भन्दै कम्युनिस्ट पार्टीका उम्मेदवारमाथि बम प्रहार गर्ने चन्दको क्रियाकलाप कतैको उक्साहटमा भएको हुन सक्छ । चन्दले बम पड्काएकाहरू सबैले चुनाव जिते । उनका क्रियाकलापप्रति जनता आकर्षित भएनन् । त्यही कारण चुनावमा सहभागी भएर करारी हार बेहोरेका मोहन वैद्यसँग चन्दले क्रान्तिकारी एकता गर्ने प्रचार भयो । मोहनविक्रम सिंहको हालत वाम गठबन्धनसँग सहकार्य नभएको भए वैद्यकै हालत हुन्थ्यो । मातेका कारण सीपी सिद्धिए । अब बाँकी नेमकिपा र डा. बाबुराम हो । बाबुरामले आफू जिते, नयाँ शक्तिलाई जिताउन सकेनन् । जनलहर बुझ्न नसक्दा यस्तो भएको हो ।
नेकपा एमाले र माओवादीबीचको एकताले मुलुक परिवर्तनको दिशामा केन्द्रित छ भन्ने झल्काउँछ । तर सङ्ख्यात्मक रूपमा एमाले ठूलो शक्ति हो । उसले पाउने र माओवादीले पाउने हिस्सा बराबरी हुँदैन । कार्यकर्ताबाट निर्वाचित २०६ जनाको केन्द्रीय टिम बनेको चार वर्ष पुग्दैछ । माओवादीको ९९ जनाको केन्द्रीय टिम रहेको छ । एकता हुँदा यही सङ्ख्या समेटिने हो । सङ्गठनको स्वरूप जनवर्गीय सङ्गनहरूको एकता त्यसपछिको क्रियाकलाप हुन् । पार्टी एकता त भयो तर थुप्रै जिल्लामा रामबहादुर थापाको टिम र प्रचण्डको टिमको बीचमा एकता भएको छैन भने माओवादी र एमालेबीचको एकताको साङ्गोपाङ्गो लाग्न वर्षै समय पर्खन पर्ला । हतारमा गरेका कामको परिणाम राम्रो आउँदैन । असोज १७ गतेबाट सुरु भएको एकता प्रक्रिया योजना ७ महिना बितेपछि बल्ल केन्द्रमा एकताको कार्यक्रमको दिन तोकिएको छ । सरकारले जनताका अपेक्षा पूरा गर्नु छ । पार्टीले योजनाका आधार खडा गरेको छ । यो माहोलमा जो जहाँ छन्, तिनले समय चिनेन भने पछुताउनुपर्छ । अब सीपी, नारायणमानहरूको छुट्टै मही पसल चल्न कठिन छ । समयको बहाव स्वीकार्न नसक्नेको बाटो भनेको पछुताउने हो ।