//गृहको हुंकार काम लागेन

गृहको हुंकार काम लागेन

काठमाडौँ । सुरक्षाकर्मी र अर्थ मन्त्रालय भन्सारका कर्मचारीको मिलेमतोमा एयरपोर्ट भन्सार र सुरक्षा भन्सारबाट प्रवेश गरेको तस्करीतन्त्रको भण्डाफोर गर्ने क्रम तीव्र छ । प्रहरीको सीआईबी, अपराध महाशाखा जस्ता निकायले बारम्बार सुन पक्रन्छन्, भरिया समाउँछन् तर मूल तस्कर समाएका छैनन् ।
रसुवाबाट भित्र्याइएको ८० किलो सुनमध्ये ३० किलो सुन हराएको निहुँ पनि बाहिर आयो । बैङ्कहरूले सुन ल्याउन थालेपछि तस्करी घट्छ भन्ने सोच थियो तर तस्करी रोकिएन । तातोपानी नाका बन्द भए पनि तस्करहरूको धन्दा घटेको छैन । भरियाले भित्र्याउने सुनमा नाका चल्नु र नचल्नुको अर्थ राख्दैन । गृहमन्त्री थापाले सुरक्षा टोली सँगै राखेर ८२ बुँदे कार्ययोजना ल्याए तर सहयोग जुन टिमको लिने हो, त्यसको विरोध हुँदा धेरैले रुचाएनन् ।
दुवै प्रहरी सङ्गठनले चैत २९ मा नयाँ आईजीपी पाउने छन् । गृहमन्त्री थापाले आफ्नो कार्यकालमा प्रहरी सङ्गठनलाई चुस्त बनाउन चाहेका छन् । काम देखिने भनेको अपराध नियन्त्रण र तस्करी नियन्त्रण नै हो । सीमा क्षेत्रहरूबाट हुने अपराधको गिरोहसँग अनुसन्धान हुन बाँकी छ । नेपाल प्रहरीभन्दा सीमा क्षेत्रमा सशस्त्र प्रहरी पोष्टहरू सक्रिय हुने हो भने अपराध नियन्त्रण घट्छ । सीमामा डोके र पोके समाउने तर ठूलासँग मिलेर पैसा उठाउने चलन छ ।
गृहमन्त्री थापा सुशासन दिलाउने दायित्व नेपाल प्रहरीबाट पूरा हुन्छ भन्नेमा ढुक्क छन् । प्रहरी प्रशासन चुस्त र अनुशासित भयो भने आधा अपराध घट्छ । नेपालमा क्विन्टलका क्विन्टल सुन तस्करी हुने कुरामा गृहमन्त्री थापा विश्वस्त छन् । तर उनले सुरक्षा टोलीप्रति अविश्वास गरे जस्तो देखियो । नीतिगत योजना सबै मन्त्रालयले ल्याएका छन् । त्यही प्रतिस्पर्धामा गृहमन्त्रीको योजना आएका हुन् । मूल ठीक भए अनेत्र सफा हुन्छ । यो सफाइ आजको आवश्यकता हो । प्रहरी र सशस्त्रले प्रदेश सङ्गठनका रूपमा डीआईजीहरूको कमान्डमा क्षेत्री कार्यालयहरू विगतदेखि नै सञ्चालन गरेका हुन् । जवानको भान्सा चेक गर्ने जेलको निरीक्षण अध्यागमन विभागभित्र चुस्तता खोज्दा गृह मन्त्रालय कति उदार कति सहज हुन्छ, त्यसमा भर पर्छ । प्रहरीलाई भ्रष्ट बनाउने मन्त्रीको कारण हो । घूस लिने र सरुवा–बढुवामा चासो दिने प्रवृत्ति विगतमा थियो । भ्रष्ट प्रहरीको नेतृत्व कुनै योजना पूरा गर्न सक्दैन । आँट र प्रतिबद्धताले सुरक्षा सक्रियता दर्शाउँछ । आफू सफल हुने–नहुने कुरा मन्त्री उनको सचिवालय र पार्टी कार्यकर्तामा भर पर्दछ । माओवादीमा एमाले र काँग्रेसका जस्ता चोट्टा छैनन् भनेर ढुक्क हुने अवस्था छैन । स्वार्थ पूरा गर्न रातारात माओवादी भइदिनेहरू छन् । प्रचण्ड प्रधानमन्त्री बन्दा दिन–रात नभनी खटेका उपसचिव झम्क ढकाल सुरक्षा महाशाखामा छन् । उनको इमानदारिता मात्र सम्मान भयो भने मन्त्री थापाको कार्यकाल सफल हुने छ ।