//दुवै प्रहरीले आइजीपी पायो

दुवै प्रहरीले आइजीपी पायो

काठमाडौँ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा वरिष्ठताका आधारमा सर्वेन्द्र खनाल र सैलेन्द्र खनाललाई आईजीपीमा नियुक्त गरेपछि नेपाल प्रहरीका प्रचारित डीआईजी रमेश खरेल आजबाट बिदा बस्ने धम्की दिँदै हिँडेका छन् । आईजीपी एक महिनाअगावै बिदामा बसेर नयाँका निम्ति बाटो खोल्ने पुरानो परम्परा र नेपाल प्रहरीमा उपेन्द्रकान्त अर्यालकै समयबाट एकाएक तोडियो । नेपाल प्रहरीको प्रबन्ध विभागले खरिद गर्ने प्रहरीका सामानमा हुने भ्रष्टाचारमा उपेन्द्रकान्त अर्याल पनि बच्न सकेनन् । त्यही कारण प्रकाश अर्यालले नीतिगत निर्णयसमेत गरेनन् । प्रहरी सुस्त गतिमा छ ।
अर्यालको कार्यकालमा जस्तो प्रहरी सङ्गठनमा सुस्तता कहिल्यै भएन । एसएसपीदेखि निरीक्षकसम्मको वृत्ति विकास ठप्प भएको बेला नेपाल प्रहरीले डीआईजीको तहबाट आईजीपी पाउने छ । राजनीतिक तहमा दौडधूप गर्ने प्रहरी हाकिमहरू पनि यस पटक सुस्ताए । प्रहरी र सशस्त्रमा वरिष्ठले आईजीपी पद पाउने परम्परालाई छेक्दै काँग्रेसका शेरबहादुर देउवाले तेस्रो वरियताका जयबहादुर चन्दलाई आईजीपी बनाउँदा नवराज सिलवाल प्रकरणको रूपमा आयो । प्रहरीमै कीर्ते प्रकरण पनि जन्मियो । अदालतमा यो केस गयो पनि । त्यसको टुङ्गो अझै लागेको छैन । उता सशस्त्र प्रहरीले पनि सिंहबहादुर श्रेष्ठ जस्ता सुस्तबाट नेतृत्व फेर्दै छ । त्यहाँ एआईजी शैलेन्द्र खनालको आईजीपी बन्ने निश्चित हुँदा समेत एआईजी नेताहरूकहाँ निकै धाए । जबकि उनीहरू भन्दा ११ महिनाअगाडि आईजीपी शैलेन्द्रको बढुवा भएको थियो । उमेर हदका कारण जितबहादुर खड्का पहिले अवकाश भएकाले त्यहाँ खनाल एक्ला प्रतिस्पर्धी हुन् । प्रधानमन्त्री ओलीले आफू भारत भ्रमणमा गएर फर्केपछि आईजीपीको बारेमा निर्णय गर्ने भनेपछि बिदामा बस्न हतारिएका आईजीपी सिंहबहादुर श्रेष्ठ तालिम केन्द्रको उद्घाटन कुरेको बताउँथे । सशस्त्र प्रहरी ३७ हजारको अर्धसैनिक फोर्स हो भने नेपाल प्रहरी ७५ हजारमाथिको फोर्स हो । सुरक्षा निकायमा हुने र भएका राजनीतिक हस्तक्षेपले आलोचित प्रहरीमा अहिले भने राजनीतिक दौडधूप हटेको हो ।

रमेश खरेललाई नयाँ आईजीपीको आग्रह
सरकारले सर्वेन्द्र खनाल प्रहरी प्रमुख बनाएको छ । अघिल्लो पटक जस्तो मुद्दा मामिला र ठूलो विवाद त भएन तर, आईजीपीको दावेदार मध्येका एक डीआईजी रमेश खरेलले भने राजीनामा दिने धम्की दिएपछि नवनियुक्त आईजीपी सर्वेन्द्र खनाललले राजीनामा नगर्न आग्रह गरेका छन् । सर्वेन्द्र खनालभन्दा खरेल ११ महिनाअघि भलिबल खेलाडीका रुपमा प्रहरी जवानमा भर्ना भएका थिए तर, प्रहरी निरीक्षकमा भने खनालकै ब्याचमा भर्ना भएका हुन् । त्यसयता एसएसपीसम्म खरेल एक नम्बरमा थिए । डीआईजी बढुवामा भने खनाल एक नम्बर र खरेल दुई नम्बरमा परे । डीआईजी खरेलले नेपाल प्रहरीको आइजीपीमा व्यक्तिको योग्यता, क्षमता र आवश्यकता भन्दा पनि भागबण्डा हेरिएको आरोप लगाएका छन् ।
नयाँ आईजीपीको आग्रह
नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भने खरेललाई सँगै मिलेर काम गर्न आग्रह गरेका छन् । खरेलले राजीनामा दिन लागेको खबर सार्वजनिक भएपछि खनालले यस्तो आग्रह गरेका हुन् । सरकारले सबै प्रक्रिया पूरा गरेर आईजीपी नियुक्तिको निर्णय गरेको होला भन्दै नवनियुक्त आईजीपी खनालले भने, ‘हामी प्रतिस्पर्धी थियौं तर, मिसन एउटै थियो । नेपाल प्रहरीलाई सशक्त बनाउन र देशको हितमा काम गर्न सँगै काम गरौं भनेर आग्रह गर्छु ।’ उनले अघि भने, ‘राजीनामा दिने नदिने व्यक्तिको कुरा हो तर, म सँगै काम गरौं भन्न चाहन्छु ।’
सरकारको निर्णय शीरोधार्यः पुष्कर कार्की
आईजीपीकै प्रतिस्पर्धामा रहेका अर्का डीआईजी पुष्कर कार्कीले भने सरकारले गरेको निर्णय आफूलाई शीरोधार्य रहेको प्रतिक्रिया दिएका छन् । आफू आईजीपीको दाबेदार रहेपनि सरकारको निर्णय स्वागतयोग्य रहेको प्रतिक्रिया उनले दिएका छन् । कार्कीले भने, ‘यतिका वर्ष व्यवसायिक निष्ठा राखेर काम गरियो । अझै धेरै काम गर्न बाँकी छ । सरकारको निर्णय कुन बेला के आउँछ त्यो अलग कुरा हो । तर जोसँग जे खुबी छ त्यहिअनुसार काम गर्नुपर्छ ।’ उनले अघि भने, ‘म प्रहरी सेवामा बसेर आईजीपीलाई सघाउँदै आफ्नो जिम्मेवारी पूरा गर्छु ।’