//यस्तो छ, हवाइएन गितारको इतिहास

यस्तो छ, हवाइएन गितारको इतिहास

– ईश्वर जोशी, (हवाइएन गितारमा प्रवीण) –

 

स्पेनिस र इलेक्ट्रिक गितार भन्दा पूर्णरूपमा फरक तरिकाबाट बजाइने, यो हवाइएन गितारलाई पूरा काखमा सुताएर, दायाँ हातको चोर, माझी र बूढीऔँलामा विशेष खालको औँठी लगाएर बायाँ हातमा फलामको चिप्लो रड – डन्डी) को टुक्राले घिसारेर बजाइन्छ । यसरी तारमा घिसारेर बजाउने तरिका अहिले मात्र होइन, परापूर्वकालमा सरस्वतीले बजाउने चार विणाहरू जस्तै– सरस्वती विणा, रुद्र विणा, मोहन विणा र विचित्र विणामध्ये विचित्र विणा पनि यसरी नै काँचको डल्लाले तारमा घिसारेर बजाइन्थ्यो । यस विचित्र विणाकै शैलीमा हाल आएर स्पेनिस गितारमा तरफ, जिल र झालाको तार थपी र बारलाई माथि उठाएर हवाइएन गितारको रूपमा प्रयोग हुँदै आएका छन् । इतिहासविद्हरू गितारको विकास आदिम इजिप्टबाट करिब पाँच हजार वर्षपहिले भएको कुरामा विश्वास गर्छन् । ई.स. ७११ मा मूरहरूले स्पेनमा सैन्य बलबाट प्रवेश गर्दा उत्तरी अफ्रिकाबाट गितारलाई आफूसँगै भित्र्याएका थिए । त्यसपछि १८औँ शताब्दीको अन्त्यतिर स्पेनका कलाकार एन्टोनियो टोरेस जुआर्डोले आधुनिक बनोटमा गितारको विकास गरे । त्यतिखेरै स्पेनका अर्का सङ्गीतकार तथा गितारवादक फ्रान्सिस्का टेरेगाले गितार बजाउने आधुनिक कलाको सुरु गरी स्पेनिस गितारलाई संसारमै स्थापित गरे । यसै विकाससँगै १८३० ई.स.मा मेक्सिकन गोठालाहरूले गितारमा घिसारेर बजाई अमेरिकाको हवाई भन्ने ठाउँमा प्रदर्शन गरे र हवाईका कलाकार जोसेफ केकुकुले घिसार्ने विधिलाई विकास गरी १८८५ ई.स.मा लोकप्रियता हासिल गरे । १९औँ शताब्दीमा डेभियान भन्ने अमेरिकी कलाकारले भारतबाट यस्तै विणा सिकेर प्रदर्शन गरेका थिए । त्यसपछि २०औँ शताब्दीको सुरुदेखि नै यस हवाइन गितारको लोकप्रियता बढेर गयो र गितार बनाउने कारखानाहरूले यस गितारको उत्पादन गरी बजारमा ल्याए । यसरी हवाइमा विकास भएको पश्चिमी हवाइन गितारलाई हाल सानो किबोर्ड जस्तोमा तारहरू माथि राखी विद्युत् जदान गरी पनि बजाइन्छ । यसरी स्पेनमा विकास भएको गितारलाई स्पेनिस गितार र हवाइमा विकास भएको गितारलाई हवाइएन गितारको रूपमा प्रचलनमा आए । तर हाल प्रचलनमा आएको पूर्वीय हवाइएन गितारमा भने सितारमा जस्तै १२ वटा तरफ तार, दुईवटा झालाको तार, झालाको तारसँगै अर्को २ वा ३ जिल तथा मुख्य बजाउने ४ वा ५ वटा तार राखिएका हुन्छन् । दायाँ हातको चोर र माझी औँलामा मुख्य तारलाई बजाउने औँठी हुन्छ भने बूढीऔँलामा झाला बजाउने छुट्टै औँठी लगाएको हुन्छ । बाँया हातमा ४ इन्चको फलामको चिप्लो रडले तारमा घिसारेर बजाइन्छ । यस गितारमा तरफ र जिल बजाउने राग वा धुनको स्वरहरूको प्रयोगको आधारमा मिलाइन्छ भने मुख्य बजाइने तार साधारणतया पहिलो नम्बरदेखि सा प सा प मा मिलाइन्छ । यदि बजाउने राग वा धुनमा प स्वर बर्जित छन् भने सा म सा म मा मिलाइन्छ ।
बाध्य शिरोमणि गुरु स्वर्गीय श्री गणेशलाल श्रेष्ठले पनि तानपुराको तारमा घिसारेर बजाउने गरेको थाहा भएको छ भने २०१५ सालमा सङ्गीतविद् रामशरण दर्नालले हवाइन गितारको झङ्कारलाई केही गीतहरूमा प्रयोग गरेको बताउनुहुन्छ । भारतमा हवाइएन गितारको प्रचलन धेरै पहिलेदेखि नै भए पनि १९९६ मा पण्डित विश्वमोहन भट्टले ग्रायमी एवार्ड पाएपछि यसको लोकप्रियता अझ बढेको छ । यसलाई प्रचलनमा ल्याउनमा पण्डित ब्रिजभूषण काब्राको पनि ठूलो प्रयास रहेको हामी पाउँछौँ । हाल यस हवाइएन गितारलाई पण्डित विश्वमोहन भट्टले आफ्नो नाम जोडी ‘मोहन वीणा’ र केही आकार फरक गरी ‘विश्व वीणा’ नामाङ्कन गरे पनि अन्य सम्पूर्ण शास्त्रीय सङ्गीतका विद्हरूले भने यसलाई ‘मोहन वीणा’ भन्न राजी भएको देखिँदैनन् । यसको बदलामा शास्त्रीय गितार वा हवाइएन गितार नै भन्ने गरेको पाइएको छ ।