//मदिरा नियन्त्रण गर्ने गृहमन्त्रीको तयारी

मदिरा नियन्त्रण गर्ने गृहमन्त्रीको तयारी

काठमाडौँ । गृह मन्त्रालयले देशव्यापी रुपमा मदिरा नियन्त्रण अभियान सञ्चालन गर्ने भएको छ । गृहले देशभर निश्चित क्षेत्रमा निश्चित समयमा मात्रै मदिरा विक्रि वितरण र प्रयोग गर्न पाउने गरी कार्ययोजना बनाउन लागेको हो । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले बिभिन्न राजनीतिक पार्टी आवद्ध महिला नेतृ र महिला सांसदहरूसँग आज गृहमन्त्रालयमा सो विषयमा छलफल गर्नुभएको छ । छलफलमा गृहमन्त्री बादलले समाज, परिवारमा विखण्डनको प्रमुख कारण मदिरा रहेको भन्दै यसको नियन्त्रण गर्ने तयारी गृह मन्त्रालयले थालेको भन्दै यसमा रचनात्मक सुझाव र सहयोगका लागि महिला नेतृहरूसँग आग्रह गर्नुभयो ।

उहाँले पछिल्लो समय बढीरहेको महिला हिंसाको कारण समेत मदिरानै रहेको भन्दै मदिराबाट राज्यले पाउँदै आएको कर भन्दा त्यसको प्रयोगले समाजमा ल्याएको विकृति कैयौँ गुणा घातक रहेको टिप्पणी गर्नुभयो । देशभर रहेको करिब छ हजार ५०० स्थानिय तहका वडाहरूमा विभिन्न राजनीतिक पार्टी आवद्ध महिला संगठनका प्रतिनिधि, जनप्रतिनिधि, आमा समुह, नागरिक समाज र सुरक्षाकर्मी रहनेगरी समिति गठन गरी वडास्तरबाटै जनसहभागितामा मदिरा नियन्त्रणको अभियान सञ्चालन गर्ने मन्त्रालयको तयारी रहेको उहाँले जानकारी दिनुभयो । यसको लागि मन्त्रालयले विस्तृत खाका बनाईरहेको भन्दै अभियान केन्द्रको प्रयासले मात्रै सम्भव नरहेको भन्दै वडास्तरबाटै सञ्चालन गरीने गृहमन्त्री बादलको भनाई छ ।

यसैबीच, गृहमन्त्री रामबहादुर थापा‘बादल’ले बस तथा माईक्रोबसमा रहेको एकाधिकार तोडिएसँगै अब ट्रक व्यवसायमा रहेको एकाधिकार तोड्ने तयारीमा सरकार रहेको बताउनुभएको छ । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योती बानियाको नेतृत्वमा आएको प्रतिनिधिमण्डसँगको भेटमा गृहमन्त्री बादलले यातायात क्षेत्रको एकाधिकारको अन्त्य सुरुवातमात्रै भएको बताउँदै अब अन्य क्षेत्रका पनि सबै एकाधिकार तोडेर छाड्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।