//भारतीय आश्वासनको विश्वास खोइ ?

भारतीय आश्वासनको विश्वास खोइ ?

मोदीको स्वार्थ पूरा, नेपालका सबै अधुरा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आकस्मिक नेपाल भ्रमणले नेपालको भन्दा भारतकै पक्षमा कूटनीतिक तहमा धेरै कुरा भए । नेपालमाथि आर्थिक नाकाबन्दी लगाएर छ महिना १७ दिनसम्म नेपाललाई दुःख दिँदा भारतमा त्यो बेला प्रम मोदी नै थिए । नेपालमा खड्ग ओलीको नेतृत्वमा सरकार थियो । मुखले सहयोग गर्ने तर व्यवहार सफल कहिल्यै नदेखिने मोदीको आश्वासनले एमालेको सत्तापक्ष फुर्किएको छ । तर सरकारमा जो छैन, त्यसले यो होहल्लाप्रति चासो राखेको छैन । एमाले ओली गुटले सुम्पेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजना २१ वर्षसम्म अलपत्र छ । अहिले पनि त्यो कुरा मोदीले नै उठाए । हुलाकी राजमार्ग बनाइदिने भनेको भारतले पैसा नदिँदा अलपत्र छ । सीमा नदीहरूमा एकतर्फी बाँध बाँधेर नेपाली भूभाग डुबाएको भारतले अहिले कञ्चनपुरमा नेपालीले निर्माण गरेको वन्यजन्तुबाट बच्ने तारबार यही बेला भारतीय प्रहरीले भत्काएको थियो । मोदी नेपाल भ्रमणमा आउँदा नेपालको चिया तेस्रो मुलुक पठाउन नेपालीले नपाएको अवस्था थियो । त्यो विषयमा न त नेपाली पक्षले बोल्यो न त मोदीले बोले । नेपाली पक्षले पुराना सहमतिको कार्यान्वयनलाई जोड दिएको छ । मोदी आए, गए, सरकारका लागि रमाइलो भयो । तर जनताका लागि कफ्र्यू लगाइयो । भारतबाट ६० जना कमाण्डो आफ्नै गाडीको व्यवस्था गरेर नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यस पटकको भ्रमणको उपलब्धि उनको विगतको छवि नेपाली समाजमा रहेको राम्रो थिएन र कमाण्डो ल्याउनुपरेछ । जबर्जस्त सरकारले हिजोका राजा–महाराजाको जस्तो गरी स्वागत ग¥यो । पञ्चायतीकालका राजा दरबारबाट निस्कँदा सडकमा नाकाबन्दी लगाई सवार गराइए जस्तै भयो मोदीको सवारी । मोदी जनकपुर–काठमाडौँ आफ्नै विमानमा आए । काठमाडौँ–जोमसोम आफ्नै साधनबाट सम्भव थिएन, नेपाली सेनाले जोमसोम–काठमाडौँ उडान ग¥यो । अरूण तेस्रोको शिलान्यास गरेर अरूण प्रोजेक्ट भारतको जीएमआरले वैधानिक रूपमा कब्जा ग¥यो । काम यसले गर्छ भन्ने विश्वास छैन । किनकि अपर कर्णाली र अरूण तेस्रो एमाले नेतृत्वको माधव नेपाल सरकारले २०६६ सालमा भारतका यी कार्यमा ल्याइदिएको हो ।

नेपाल पक्षले जमेर आफ्ना कुरा राख्न छाडेको पनि छैन । भारतले हेप्न छाडेको पनि छैन । सीमा नाकाको संवेदनशीलताप्रति नेपाल जति चिन्तित हुन्छ, भारत चिन्तित छैन । भारतले दशगजा अतिक्रमण गर्छ, नेपालले दशगजाभन्दा पर तारबार लगाउँदा भारतीय फौजले उखेल्छ । नेपालले सहेका दर्जनौँ समस्या छन् । भारत मुखले ठीक पार्छ, व्यवहारमा सताउँछ । नेपालको धार्मिक भ्रमण मोदीले गरे । उनको रहर पूरा भयो । पर्यटक बढ्न के गर्छ भोलि देखिन्छ । तर नेपाल–भारत सम्बन्धलाई कम्युनिस्ट सरकारले जसरी गम्भीरतापूर्वक लिन्छ, काँग्रेसले लिँदैन भन्ने थुप्रै प्रमाण छन् । यस पटक भएको उपलब्धि अब नेपाल हेपिँदैन कि भन्ने हो ।

कूटनीतिक रूपमा सरकार पक्षले आफ्नो मित्रशक्ति नेपाल भ्रमणमा आउँछु भन्दा नआइज भन्दैन । नेपालका प्रधानमन्त्री एक महिनाअगाडि मात्र भारत गएका थिए । आश्वासन त्यो बेला जति थिए, आज उस्तै छन् । नेपालीले भारतबाट अरू खोजेको होइन । नेपाल पञ्चशीलका आधारमा परराष्ट्र सम्बन्ध राख्छ, संयुक्त राष्ट्रसङ्घको घोषणापत्रलाई पनि तोड्ने कुरा हुँदैन । समानता सार्वभौमिकताका अधारमा दुई छिमेकीसँग नेपालले साइनो राख्छ । नेपाली जति भारतमा छन्, भारतीय पनि नेपालमा छन् । तिनको रेखदेख सम्बन्धित देशले गर्नुपर्छ, मानवीयरूपमा पनि त्यो विश्वले स्वीकारेको मान्यता हो । भारतको जति नेपालको व्यापार वाणिज्यमा महत्वपूर्ण स्थानमा छ, त्यो रूपमा उसले नेपालले पाउने सामुद्रिक हक, वायु उडानमा आकाशको प्रयोग, जल, थल र हवाई गर्न पाउने विश्वव्यापी मान्यताअनुसार नेपालप्रति सरल हुन्छ ? यो शङ्का मोदीको भ्रमणले पनि हटाएन ।

भूकम्पपीडितको व्यवस्थापनका लागि दिन्छु भनेको रकम भारतले दिएको छैन । अहिले प्रधानमन्त्री नरेन्द्र मोदी चुनावी माहोलमा छन् । कूटनीतिक प्रदेशको चुनावको मौन अवधि छल्ने काम उनले गरे । प्रचार छिमेकीप्रति भारत नरम छ भन्ने देखाइयो । सरकारको तहबाट विरानटरमा रहेको भारतीय अस्थायी पोष्टका बारेमा बोलिएन । कुरा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उठाए । सीमा अतिक्रमण, एकातर्फी बाँधका कारण भएको नेपाली भूभागको डुबान जस्ता विषयमा प्रचण्ड मोदीलाई सम्झाउन सफल भए । तर मोदीले भनेको कुरा सीमा सुरक्षामा खट्ने प्रदेशस्तरीय प्रशासनले कसरी मान्छ, त्यो पनि स्पष्ट छैन । मोदीको नाङ्गै चाकडी गरेर देशको संविधानविपरीत कुर्लने सङ्घीय समाजवादी फोरमका प्रदेश– २ का मुख्यमन्त्री लालबाबु राउतको प्रस्तुतिले नेपालको शिर कति झुक्यो ? राष्ट्रवाद मधेसमा कसरी मौलाएको रहेछ, त्यो भने देखियो । नेपालमाथि दमन नीति लादेर भारतले देखाएको दादागिरी, रोटी र बेटीको साइनाले झल्काउँदैन । सरकार एउटा कुरा हो, जनस्तरको सम्बन्ध अर्को हो ।