//घोषणा गर्दा प्रचण्ड भए भावुक

घोषणा गर्दा प्रचण्ड भए भावुक

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डबाट यतिछिटै पार्टी एकता हुन्छ भन्ने कसैले सोचेको थिएनन् । संयोगवश जुनदिन पार्टी एकता भयो जुन दिन एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभागप्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको २५ वर्ष पुगेको थियो । नेपालका कम्युनिष्ट नेताले थुप्रै पटक पुरानो पार्टी भत्काउने र नयाँ पार्टी बनाउने काम गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले मसालबाट नेकपा माओवादी, एकीकृत नेकपा माओवादी हुँदै माओवादी केन्द्र बनाए । थुप्रै नेताहरुलाई टीका लगाएर पार्टीमा भित्र्याएका पनि थिए । उनी हरेक पटक उत्साहित हुन्थे, छलाङ हान्ने कुरा गर्थे । बिहीबार एमाले र माओवादी केन्द्रले मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ बनेको घोषणा गर्दा भने प्रचण्ड निकै भावुक बने । पुनर्ग्ठित पार्टीका दुईअध्यक्ष मध्येका एक प्रचण्डले सम्बोधन गर्ने क्रममा पटक पटक उनको गला अवरुद्ध भयो ।
एकता सभालाई सम्बोधन गर्ने क्रममा आफूलाई शब्दको दुःख भएको प्रचण्डले बताए । आफूले कमजोरी गर्दा देश र जनताले दुःख पाउने र राम्रो निर्णय गर्दा देश अघि बढ्ने गरेको स्मरण गर्दै उनले एमाले र माओवादीको एकता ‘महान छलाङ’ भएको बताए । हाइड्रोजन र अक्सिजन मिलाएपछि पानी बनेपछि छुट्याउन नसकिने भन्दै उनले भने, ‘अब न एमाले भेटिन्छ, न माओवादी भेटिन्छ । अर्कै कम्पाउण्ड बनिसक्यो ।’ प्रचण्डले भावुक हुँदै सम्बोधन गरेपछि पुनर्ग्ठित पार्टीका महासचिव विष्णु पौडेलले देशका लागि गरेका योगदानहरुमध्ये यो सर्वोच्च योगदान भएको बताए ।