//लोक दोहोरीमा जम्दै नीलमणि

लोक दोहोरीमा जम्दै नीलमणि

नेपाली सङ्गीत नेपालको मौलिक सङ्गीत हो । नेपालमा शास्त्रीय सङ्गीतको सुरुवात लिच्छविकालदेखि नै भएको पाइन्छ । लोक सङ्गीत, शास्त्रीय सङ्गीत, आधुनिक सङ्गीत, पप सङ्गीत, रक सङ्गीत आदि प्रकारका सङ्गीत नेपालीमा पनि सुन्न पाइन्छन् । यस्तै, लोक सङ्गीतमा निरन्तर लागिरहेका लोकदोहरी गायक नीलमणि भण्डारीले स्कटनेपाल राधिघर सञ्चालन गरेर स्वदेश तथा विदेशमा छरिएर रहेका सम्पूर्ण दर्शक महानुभावहरूलाई भरपूर मनोरञ्जन दिइरहेका छन् ।
को हुन् नीलमणि ?
जन्मस्थान् भोजपुर दिङ्ला, पिताको नाम विष्णुप्रसाद भण्डारी । माताको नाम रणकुमारी भण्डारी । जन्मेको सात महिनामा पोलियो रोगका कारण अपाङ्ग जीवन बिताइरहेको छु । मेरा दुवै खुट्टा र एउटा बायाँ हात पूर्णरूपमा चल्दैनन् । विगत २०५८ सालदेखि साङ्गीतिक क्षेत्रमा लागिरहेको छु । मेरा अहिलेसम्मका गीति एल्बमहरू– ‘माया गाँसेर’, ‘चारतिरै वासना छरेर’, ‘कुहिरो लाग्यो’, ‘अभागीको कर्म’, ‘खोया बिर्के’ हुन् भने अब बजारमा आउने क्रममा रहेका एल्बमहरू– ‘म चिन्दिनँ भने र ‘अपाङ्ग जीवन’ छन् । पेसागतरूपमा काठमाडौँका दोहोरी साँझहरूमा ८ वर्ष गीत गाएँ । म पूर्वको मान्छे भए पनि पश्चिमे दोहोरी गीत गाउँछु । २०६२ सालमा बुटवलको औद्योगिक प्रदर्शनी मेलामा दोहोरी गीत प्रतियोगिता गरिएको थियो । त्यस बखत अहिलेकी चर्चित गायिका बहिनी देवी घर्ती दोस्रो र मैले प्रथम पुरस्कार जित्न सफल भएको थिएँ । नेपालमा भएका धेरै दोहोरी प्रतियोगितामा म प्रथम भएको छु । त्यस बखत अहिलेको जस्तो युट्युब च्यानल र हरेक सामाजिक सञ्जाल भइदिएको भए आज म लाखौँ दर्शक र श्रोताको मन–मुटुमा बस्न सफल हुन्थेँ होला । तर विडम्बना नै भन्नुपर्छ, मैले गीत–सङ्गीतको क्षेत्रलाई निरन्तरता दिन सकिनँ । कारण थियो– आर्थिक अभाव र मेरो शारिरीक अवस्था । हाम्रो यति सानो देशमा ३२ लाख अपाङ्गहरू छौँ । त्यो ३२ लाख अपाङ्गमध्येमा एक म पनि पर्छु । म जस्ता कति अपाङ्ग दाजुभाइ तथा दिदीबहिनीहरू आफ्नो प्रतिभालाई गुम्स्याएर बसेका होलान्, तिनीहरूको पीडा कसले बुझ्छ ? म त छक्क परेको छु, अगाडि बढ्न खोज्दा खुट्टा तान्ने प्रचलन हाम्रो देशमा मात्रै हो कि अरू देशमा पनि छ कुन्नि ? सँगै सङ्घर्ष गरेका एउटै स्टेजमा गीत गाएका र मसँगै मेरो कोठामा बसेका अहिलेका राष्ट्रिय कलाकारको उपाधि पाइसकेका साथीहरूले मलाई नचिन्दाचाहिँ साह्रै दुःख लाग्छ । दुई–चारवटा एल्बम निकाल्दैमा र दुई–चारवटा देश घुम्दैमा आफूलाई यो संसारकै सबैभन्दा ठूलो कलाकार ठान्नेहरूलाई मेरो भन्नु केही छैन । कहिलेकाहीँ त यस्तो लाग्छ, मेरो कलाले यो साङ्गीतिक जगतमा एउटा सानो स्थानसम्म नपाउँदा म किन नेपाल जस्तो गरीब देशमा जन्मे छु । तर यो देशका मान्छेहरू जति नै स्वार्थी भए पनि मलाई मेरो देश नेपाल नै प्राणभन्दा प्यारो लाग्छ र ती स्वार्थी मान्छेहरूप्रति दया लागेर आउँछ । म एउटा पुस्तक प्रकाशन गर्ने क्रममा छु । साहित्यप्रति पनि मेरो झुकाव भएकाले मेरो जीवनी त्यही पुस्तकमा लिएर चाँडै आउँदै छु ।
अहिले त्यही पुस्तकको लेखन कार्यमा आफ्नो समय खर्चिरहेको छु । गीत, सङ्गीत र साहित्यलाई सँगसँगै अगाडि बढाउने प्रयासमा छु । हेरौँ, समयले कहाँ पु¥याउँछ । मेरो अर्को चाहना भनेको मैले चढ्ने चारपाङ्ग्रे स्कुटरको बायाँपट्टिको चक्कामाथि बसेर एउटै हातले र एउटै ब्रेकले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यात्रा गर्ने इच्छा छ । त्यसै गरी भोटेकोसीमा बञ्जिजम गर्ने इच्छा छ । तर यो सबै गर्नका लागि तघारो बनेको छ, मेरो गरिबी । त्यसैले देश–विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ र दिदीबहिनीहरूसँग सहयोगको अपिल गर्दै मेरा दुई शब्दलाई यहीँ पूर्णविराम दिन्छु ।