//के हुँदैछ कम्युनिस्ट पार्टीलाई

के हुँदैछ कम्युनिस्ट पार्टीलाई

ईश्वरीप्रसाद वाग्ले
आखिर दुई तिहाइको सरकार पनि पँखेटा हालेर आकाशमा उड्ने त रहेनछ । सरकार त बन्यो, नेकपाले लक्ष्य लिएको छ– समृद्धि र विकास । तर भएको छ देशभर बलात्कार र हत्या । त्यो पनि महिला वर्गको मान प्रतिष्ठामाथि प्रहार गरेर । नेकपाका नेताले चलाएको शासनमा अशान्ति, हिंसा, दमन र अत्याचारले सीमा नाघ्नुपर्ने गरी पार्टी विधान निर्देशिका कहाँ लेखेको छ ? कहाँ छ शान्ति, सुशासन र समृद्धि ! देश र सरकार असफल, नालायक सिद्ध हुँदैछ । मन्त्रीका बोली र तिनका व्यवहार, शैली र चरित्र पनि विवादित छन् । के घटना हो, पीडक कस्तो छ, राजनीतिक पहुँच के हो, त्यो हेरेर यहाँ कानुनको प्रयोग हुँदैन । अपराधका प्रत्यक्ष प्रमाण लुकाएर, दबाएर, नष्ट गरेर नेकपाका नेताहरू राजनीति गर्दैछन् । जसले पीडित पक्षलाई सान्त्वना होइन, झन् पीडा थपेका छन् । के बिगारेकी थिइन् निर्मला पन्तले प्रम केपी ओली, गृहमन्त्री रामबहादुर थापा, प्रहरी आईजीपी सर्वेन्द्र खनाल, नेकपाका नेता भीम रावल, कर्ण थापा र निरु पालहरूको ? किन बचाए यिनले बलात्कारी र हत्यारा ?
प्रमको मोहमा अपराधी
कञ्चनपुरका प्रहरीको अपराध थिएन भने प्रमाण नष्ट किन गरियो ? कपडा किन फालियो, लास किन जलाइयो ? निलम्बन मात्र हो, मान्छे मार्न सघाएका प्रहरीप्रतिको कारबाही ? यही हो नेकपाको सुशासन र शान्ति ? गृहमन्त्री भन्छन्– प्रहरीले जबर्जस्ती औँठाछाप लगाएछ । गृहमन्त्रीले त्यो कुरा थाहा पाएपछि कारबाही के गरे ? यही हो सक्षम सरकारको हैसियत ! प्रधानमन्त्री केपी ओलीले कोष्टारिकाबाट भुके– निर्मला पन्तका हत्यारा पत्ता लगाउन १२ वर्ष लाग्छ । साधारण जनतालाई टर्चर दिएर कञ्चनपुरको शासक बनेका अपराधी एसपी डिल्लीराज विष्ट बचाएर अपराधी पत्ता लाग्न १२ वर्ष लाग्छ भन्ने दम्भ प्रमलाई कसरी आयो ? के यो केस सरकारले दबाए र दब्छ ? सुदूरपश्चिमका जनताले मान्छन् ? त्यहाँ नेकपाको हालत के हुन्छ अब ? एसपी विष्टले पौरखी छोराको उपद्रो त बचाउने प्रयासु गर्लान्, अहिले सफल होलान्, पाप धुरीबाट कराउँछ । हो, नेताहरू समय सधैँ तिम्रो पक्षमा हुँदैन । नेपाली काँग्रेस र नेकपा एमालेको जनवर्गीय सङ्गठन बनेको हो नेपाल प्रहरी ? कसरी प्राप्त हुन्छ विश्वास !
असफल पार्टी र सरकार !
सरकारको सफलता कहीँ छैन । नेकपाको नाममा अहङ्कार, घमण्ड चर्काएर देशको राष्ट्रिय स्वाभिमानको रक्षा कसरी हुन्छ ? लुम्बिनी जस्तो अन्तर्राष्ट्रिय धार्मिक संस्थामा पनि अपराधी भित्र्याएको छ । भएको राजनीतिक नियुक्तिमा भ्रष्टाचारी, दुराचारीको बढावा गराइएको छ । मान्छेको जीवनको खेलबाड गरेको छ । आफैँले घोषणा गरेका कार्यक्रम फेरि फिर्ता लिएको छ । सत्ता अपराधको सीमा नाघेको छ । जनताप्रतिको दायित्व र जिम्मेवारी कहीँ कतै लिएको छैन । के नेकपाको प्रतिबद्धता यही थियो चुनावको बेला ?
पार्टीको काम अलपत्र छन् । एकता भयो भनिएको छ । सत्ताले पेलेको छ । राष्ट्रको ढुुकुटीबाट आफ्ना दलालहरूको हितमा बाँढेको छ । कालोबजार नियन्त्रण छैन । देशभर प्रहरी असफल भएको छ । स्थानीय तह जनतालाई सताउने औजार बनाइएको छ । यही हो नेकपाको समृद्धि ? यही हो राष्ट्रको विकास ? आन्तरिक व्यवस्थापन गर्न नसक्ने पार्टीले सरकारको कामको कसरी निगरानी गर्छ ? कहाँ के बोल्ने भन्ने कुरा प्रधानमन्त्री, पार्टीका अध्यक्ष, वरिष्ठ नेताहरूले ख्याल नगर्दा जनतामा कस्तो सन्देश गयो, ख्याल गरेको छ सिंहदरबारले ?
अब पर्ला नि हेगमा उजुरी ?
हिजो माओवादीविरुद्ध एमालेका एनजीओ र आईएनजीओहरू लागेका थिए । यिनलाई मानवअधिकारको चिन्ता थियो । अर्जुन कार्की, सपना प्रधान, मन्दिरा शर्मा, सुबोध प्याकुरेल, सुशील प्याकुरेल, अग्नि खरेल, टीकाराम भट्टराई जस्ता दिग्गज एमालेहरू माओवादी नेताका रिपोर्ट सीआईएलाई बुझाएर डलर खान्थे । यिनको ध्यान एमालेको जनताको बहुदलीय जनवादलाई फैलाउने थियो । हेग र अदालतको यिनले चर्को कुरा गर्थे । के निर्मला पन्तको बलात्कारी हत्यारा र अपराधीहरूको टिमविरुद्ध निर्मलाका आफन्तले अन्तर्राष्ट्रिय अदालत गुहार्न सक्दैनन् भन्ने छ ?
एमालेका डलरवादीहरूले मात्र थाहा पाएका छन् हेग ? माओवादीले हतियार नउठाएको भए काँग्रेस र एमालेको नेतृत्व राजाको पैताला चुसिरहेका हुन्थे । कार्यकर्तामा नेतृत्वको भ्रष्ट चरित्र, लुटाहा शैली र गुटबन्दीको विरुद्ध विद्रोहमा जाने अवस्था थियो । निरङ्कुश राजाले कोर्रा लगाएपछि मात्र काँग्रेस र एमालेका नेताको घैंटोमा घाम लागेको हो । केपी ओली त हिजो पनि अहङ्कारी र गुटबन्दीका योजनाकार हुन् । ओलीले तत्कालीन नेतृत्व मात्र होइन, झलनाथ खनाल अध्यक्ष भएपछि पनि एमालेमा कति गुटबन्दी गरे ? अहिले माधव नेपालले त्यसैको पालाको पैंचो लिएका हुन् । माधव नेपाल आफ्नो निर्णय र विचारले पार्टी चलाएका नेता होइनन् । प्रदेश तहका सङ्गठन क्षमता र कार्यविभाजनलाई असन्तुष्टि जनाएर माधवले चलाएको रोइलोको के अर्थ छ ? पार्टीको महासचिव पदमा १५ वर्षसम्म रहेको नेताले संसद्मा सरकारविरुद्ध बोलेका कुरा सत्य हँुदाहुँदै पनि कार्यकर्ताले नाक खुम्च्याउनुप¥यो । त्यो कुरा पार्टी सचिवालय वा स्थायी कमिटीमा उठाएको भए नियमसङ्गत मानिन्थ्यो । तर माधव कुर्ले सदनमा । यो अवधिमा धेरै पटक विदेश भ्रमण गर्ने नेता उनै थिए ।
बद्नाम यिनै भए
यही प्रवृत्तिले सप्रँदैन सरकार र पार्टी एकता भनियो, त्यसले जनतामा सञ्चार राम्रो गएको छैन । गुटका आधारमा मन्त्री बनाइएकाहरूको छाडापनमाथि नियन्त्रण छैन । कर्मचारीले सरकारले खटाएको ठाउँमा जान भन्छ । पार्टीको दबदबा जताततै छ । अपराधीले पार्टीका आरक्षण पाएका छन् । पैसाले अपराधी चोख्याएर अपराधमा प्रहरी बेइमानी भो भने घटना दब्छ । कञ्चनपुर घटना दबाउने प्रयास भएको कारण त्यही हो । किनकि देशभर बलात्कारका घटना भए । असार, साउन, भदौ बलात्कारी महिना झैँ चर्चित भए । तर निर्मला काण्ड अन्तर्राष्ट्रियकरण भयो किन ? यहाँ प्रहरीको जिल्ला नेतृत्व जोडियो, अपराधमा प्रहरीकै छोरा र भाइ जोडिए । अपराधी बचाउने नेकपाका दुई नेताले देखाएको रवैया जोडिएको कुरालाई जबसम्म स्वीकारिँदैन, तबसम्म नेकपाको सरकार र यिनका नेता बद्नाम हुने छन् ।