//भिजन नहुँदा बिग्रियो वातावरण

भिजन नहुँदा बिग्रियो वातावरण

काठमाडौँ । सत्तामा पुगेपछि दम्भ बढ्छ, अहङ्कार चम्कन्छ । आफू र आफ्नो गुटबाहेक अरूलाई गणना नगर्ने प्रधानमन्त्री खड्ग ओलीले यो मुलुकलाई अन्धकारमा लागेका छन् । राष्ट्रका लागि ओलीको के–कति आवश्यकता छ र उनले सरकारको नीति तथा कार्यक्रमअनुसार कुनै काम नगर्दा अनेक प्रश्न उठेका छन् । छुच्चो स्वभाव, अरूलाई एकपछि अर्को गर्दै चिढ्याउने केपी ओलीको पुरानो बानी हो । तर अहिले सरकारले जसरी कार्यकर्ता र जनताको मूल्याङ्कन गरेको छ, त्यसले आक्रोश बढाएको छ । सरकारका योजना दुई तिहाइको बद्नाम गर्ने मात्र रहेका छन् । सरकारको सम्पत्तिको संरक्षण छैन । काम गर्ने र बिगार्नेहरूको मूल्याङ्कन गरिएको छैन । जङ्गल नष्ट गर्ने तस्करहरू बढिरहेका छन् । देशलाई कसरी अगाडि बढाउने भन्ने तत्कालीन, दीर्घकालीन र मध्यकालीन योजना छैनन् । राजनीतिक पहुँचका नेताहरूलाई पदको लोभ छ । पूर्वप्रधानमन्त्री समेत रहेका माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराईका बीचमा सरकार सञ्चालन र योजना छनोटका बारेमा छलफल भएको निश्चित मुद्दामा सहमति भएको समाचार आउँदैन । देशको स्थिति दिनानु दिन बिग्रेको छ । नेकपाको आन्तरिक जीवनमा तरङ्ग छैन । कानुनविपरीतका काम गर्ने होडबाजी चलेको छ । परिवर्तित समयमा कहाँ कसको कस्तो आवश्यकता पर्छ भन्ने विषयतर्फ नेतृत्व सचेत छैन । कार्यकर्तामा निराशा, शुभेच्छुकहरूमा हतास हुनुको कारण पनि नेताहरूबीचको बेमेल हो । पैसाका लागि जे पनि गर्ने प्रवृत्ति नेतामा रहेको छ । नेताकै कारण नेपालको परिवर्तनप्रति वितृष्णा पैदा हुँदैछ । पार्र्टीका सङ्गठनहरू लथालिङ्ग छन् । कार्यकर्तामा तत्कालीन अवस्थामा सन्तोष गर्ने एजेन्डा आएका छैनन् । विदेश घुम्न प्रतिपर्धा गर्नेले मुलुक बनाउने प्रतिस्पर्धा गरे राम्रो हो तर अहिले नेकपाको बद्नाम भएको छ । विकासका पूर्वाधार अलपत्र छन् । जलस्रोतको धनी देशमा जलविद्युत्मा लगानी भित्र्याउन कमिसनका कुरा आउँछन् । निश्चित रकमको प्रयोगले बन्ने योजनाहरूको थालनीमै अरबौँ रकम दलाली भाग छुट्ट्याइन्छ । नेतृत्वमा देखा परेको यस्तो अपराधको सर्वत्र भण्डाफोर हुन सकेको छैन । नेपालमै बद्नाम भएको चीनको गेजुवा कम्पनीलाई प्रतिस्पर्धाबिना बुढीगण्डकी सुम्पन ओली सरकारले गरेको तयारीमा समर्थनभन्दा विरोध बढी रहेको छ । बुढीगण्डकी अपर कर्णालीको लगानीका कुरा राज्यको तहबाट चासो लिएका छैनन् । नेताहरूलाई मात्र पद चाहिएको छ । अर्थतन्त्र विदेशीको कब्जामा छ । राज्य सार्वभौम अधिकारसम्पन्न गराउन औद्योगिकीकरणको विकास भएको छैन । कृषि क्षेत्र औद्योगिक दिशातर्फ गएको छ । नेपाली विदेशी दलाली पुँजीको एकाधिकार कब्जामा चलेको छ । कृषिप्रधान देशमा कृषि व्यवसायी हेपिएको अवस्थामा जनतालाई कसरी स्वाधीन राष्ट्रको सेवक बनाउन सकिन्छ । खोई नेताहरूमा राष्ट्र र जनताप्रतिको लगनशीलता ? पद नेतालाई नै चाहिएको छ । कमाउने ठाउँ नेतालाई चाहिएको छ । नेताले आफू आफ्नो सन्तान र गुटलाई जोड दिएको बेला देशको शासनमा जुनसुकै ओली पुगे पनि अर्थ हुँदैन । नेतृत्वले ध्यान दिएको खोई ? किन एकै दृष्टिकोण, एउटै विचार एउटा निर्णयका साथ पार्टी र सरकारका कार्यक्रम आएनन् ? प्रधानमन्त्री ओलीले पार्टीको अध्यक्षका नाताले वरिष्ठ नेताहरूसँग परामर्श गरेका छन् ? किन ओलीले यसतर्फ ध्यान दिएनन् ? ओलीलाई उनको गुटलाई मात्र राष्ट्र लुट्ने लाइसेन्स प्राप्त भएको हो ? नेकपाको बद्नाम हुनुको कारण नेताहरूकै कारण र नेताहरूकै गलत व्यवहारले हो ।