//जेल हाल्नुपर्ने विष्टलाई निष्काशन मात्र ?

जेल हाल्नुपर्ने विष्टलाई निष्काशन मात्र ?

काठमाडौँ । गरिब हुनु यो देशका नागरिकको निम्ति दशा बन्ने स्थिति निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा देखिएको लापरबाही र सरकारले देखाएको बहुलठ्ठी पनले छर्लङ्ग पारेको छ । स्थानीय जनताले अपराधीका रुपमा एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट, मीम दत्त नगरपालिकाका मेयरका भतिजा आयुष विष्ट मात्र होइन रोशनी बम र बविता बमलाई समेत यो अपराधका दोषी करार गरेका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेता भीम रावल र कर्ण थापाको लहलहैमा लागेर सुदूर पश्चिमाञ्चलमा आधार जमाएका अपराधी मनोवृत्तिका प्रहरी एसपी विष्टले गरेका अपराधका घटनालाई दबाए कम्युनिष्ट पार्टीको सरकारको बदनाम गर्ने यो घटनाले नेपाली जनताका छोरी बुहारीहरुको इज्जत कहाँ कतिबेला कसरी लुटिने हो भन्ने संका झन् बढायो । महिला अधिकारका कुरा गर्ने नेकपाका नेतृहरु शशी श्रेष्ठ, पम्फा भूसाल, रामकुमारी झाक्री, बृन्दा पाण्डे, निरु पालको तागत पनि देखियो । एउटी नाबालिकामाथि यौन दूराचार गरेर मात्र नपुगी हत्यासमेत गर्ने कार्यलाई प्रहरी पोशाकमा देखाइएको प्रवृत्तिप्रति नेपालमा नारी हिंसाविरुद्ध डलरको खेती गर्नेहरुलाई चुनौती बन्यो या बनेन त्यो भने भविष्यको गर्भमा छ । तर सरकारले लज्जित भएर उक्त अपराधमा शुरुदेखिनै सहभागी भएका तत्कालिन एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले निष्काशनको सिफारिस गर्न बाध्य भएको छ । नेपाल प्रहरीको समेत शीर झुकेको यो प्रकरणले विष्ट र भट्टको जागिर जाँदैमा निर्मलाले न्याय पाइन् ? प्रश्न अनुत्तरित छ । यो घटनामा विघटित एमालेका नेताहरुको बढी चासो रहनुको कारण के ? स्थानीयवासीहरुले शंका गरिरहेका छन् । निर्मला पन्त गरिबकी छोरी भएकै कारण बबिता बम, रोशनी बमजस्ता कुलघरानाका युवतीहरुको इज्जतप्रति बरु प्रधानमन्त्रीले चासो लिए निर्मलाको बारेका चासो लिन आवश्यक ठानेनन् । बरु उनले यो हत्या प्रकरणको मुल दोषी पत्ता लगाउन १२ वर्षसम्म पनि कुर्नुपर्ने डंका पिटे । नेपालमा तत्कालिन एमालेका महासचिव मदन भण्डारी शंकास्पद दुर्घटनामा परी मृत्यु हुँदा त्यही पार्टीले उनकै नामबाट जनमत बटुल्यो । अहिले स्वर्गीय भण्डारीकी श्रीमती राष्ट्रपति छिन्, केपी शर्मा ओली पार्टी अध्यक्ष तथा प्रधानमन्त्री छन् तै पनि मदन भण्डारी हत्या प्रकरणको यथार्थ विवरण बाहिर आएको छैन । राष्ट्रिय घटनाको रुपमा स्थापित भएका यस्ता काण्डहरुलाई दबाउने काम सरकार र सम्बन्धित पार्टीले गरेका प्रमाणहरु थुप्रै छन् । जो व्यक्तिलाई जेलमा सडाउनु पथ्र्यो ऊ खुल्ला छ तर पनि नेकपाको नाममा स्थापित सरकार महिलाहरुमाथि भएको अत्याचारप्रति मूकदर्शक बनेर टाली पिटिरहेको छ । यस्तो गैर जिम्मेवार पार्टी र सरकारको नेतृत्व नत कार्यकर्ताले चाहेको हो नत जनताले चुनेको थियो ।