//प्रहरीमा भयो उलट–पुलट

प्रहरीमा भयो उलट–पुलट

काठमाडौँ । नेपाल प्रहरीले आइतबारदेखि सातै प्रदेशमा समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई राष्ट्रिय महत्वका साथ अगाडि ल्याएको छ । राजधानीमा आयोजित विशेष कार्यक्रमको प्रमुख अतिथिको रुपमा गृहमन्त्री रामबहादुर थापा उपस्थित थिए । यो कार्यक्रमले मुलुकको शान्ति सुरक्षालाई बलियो बनाउने र प्रहरीको विग्रदै गएको साख सुधार्ने विश्वास गरिएको छ । प्रहरी आईजीपी सर्वेन्द्र खनाल संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनको कोटा बढाउन सफल भएका छन् । अब प्रहरीले मिसनमा २० प्रतिशत महिला पठाउने छ । राष्ट्रसङ्घको महासभामा गएको समयमा आईजीपी खनालले मिसनको कोटा बढाउन गरेको आग्रहलाई संयुक्त राष्ट्रसङ्घको कार्यविधि कार्यान्वयनमा ल्याउन सहमत भएपछि नेपाल प्रहरीको मिसन कोटा बढेको हो । संयुक्त राष्ट्रसङ्घले शान्ति मिसनमा सहभागी राष्ट्रका प्रहरी, सेना, सशस्त्रलाई महिला कोटा बढाउन निर्देशन दिएको छ । शान्ति मिसनमा नेपाल छैटौँ स्थानमा छ । आईजीपी खनालले अबका दिनमा कार्यक्षमता र अनुसन्धानभन्दा सोर्सफोर्सका आधारमा मिसनमा पर्ने गलत धन्दा रोक्न सक्नुपर्छ । उनको कार्यकालमा मिसनको कोटा बढ्यो, महिला सहभागिता बढाइयो । पुरानो विकृति कटाउन सक्नु पनि आईजीपीको कार्यक्षमतामा पर्छ ।

खनालले आफ्नै सचिवालयअन्तर्गत रहने गरी मिसन छनौट समिति बनाएका छन् । गृह मन्त्रालयले ११ डीआईजीको पदस्थापना तथा सरुवा पनि गरेको छ । प्रदेश– २ मा हरि पाल, ५ मा पीताम्बर अधिकारी पुगेका छन् । दिनेश अमात्य प्रदेश– २ बाट लागूऔषध नियन्त्रण व्यूरो र प्रदेश– ५ का शेरबहादुर बस्नेत विमानस्थल प्रहरी कार्यालय पुगेका छन् । महानगरीय आयुक्त कार्यालयका मनोज न्यौपानेलाई प्रहरी निर्देशनालयमा थन्क्याइएको छ भने आयुक्त कार्यालयको कमान्ड शैलेश थापाले पाएका छन् । प्रवक्ताका रूपमा उत्तम सुवेदीलाई खटाइएको छ भने सीआईबीमा नीरज शाहीलाई पठाएर नारायणसिंह खड्का प्रबन्धमा ल्याइएका छन् । प्रहरीको आवश्यक खरिद काम प्रबन्धले गर्ने भएकाले त्यसलाई भण्डार नै मानिन्छ । आईजीपीको अति विश्वासीले मात्र प्रबन्ध पाउँछन् ।

आईजीपीलाई फसाउने प्रशासन र प्रबन्ध हुन् । त्यस्तै ठाकुरप्रसाद ज्ञवाली अख्तियार, तारणी लम्साल सुरक्षा सेवा, विनोद घिमिरे सचिवालय, पूर्णचन्द्र जोशी राजमार्ग सुरक्षा, विकास श्रेष्ठ साइबर व्यूरो, प्रद्युम्न कार्की तालिम केन्द्र, हरिभक्त प्रजापति महिला बालबालिका निर्देशनालय र सूर्य उपाध्यायलाई सुरक्षा परिषद्मा खटाइएको छ । आईजीपी भएको यो अवधिसम्म खनाल विवादमुक्त छन् । उनले प्रहरी पोसाकको बद्नाम गर्ने डिल्लीराज विष्ट र जगदीश भट्टको कुकर्ममा कडा प्रहार गरेका हुन् । सङ्गठनको बद्नाम गर्ने र धन कमाउन अपराधीसँग मिल्नेहरूलाई जागिर छोउनले पहिले नै निर्देशन दिएका पनि हुन् ।
असक्षम नै सशस्त्रमा अगाडि
अर्धसैनिक बल सशस्त्र प्रहरीले छ जना एसएसपीलाई बढुवाका निम्ति छनोट गरेको छ । बढुवा मापदण्डमा नपरेका र शैक्षिक योग्यता नपुगेका सञ्जय राणाले राजीनामा दिएका छन् । सशस्त्रमा दुई व्याच मिलाएर बढुवा सिफारिस गरिएको हो । सङ्गठनमा असक्षम भए पनि कुरेनीघाटमा रहेका प्रजाभक्त श्रेष्ठलाई पहिलो नम्बरमै राखिएको छ । रामप्रसाद श्रेष्ठ र प्रजाभक्त अघिल्लो व्याचका हुन् । उनीहरू आईजीपी बन्न पाउँदैनन् । नारायणदत्त पौडेल, राजु अर्याल, चन्द्रप्रकाश गौतम र गोविन्द क्षेत्री एकै समूहका हुन् । यस पटक अर्याल र गौतमले निकै दौडधूप गरेका थिए तर केही लागेन । आईजीपी शैलेन्द्र खनालको पदावधिपछिको समयमा आईजीपी हुने टिम नारायणदत्त पौडेलको हो । नौ महिनाअगावै बढुवा हुनुपर्ने यो टिममा पहिलो नम्बरमा को पुग्ने भन्ने लडाइँ थियो । आईजीपी खनाल पनि कोषराज वन्तको बाटोमा जुटेका छन् । सशस्त्रको बद्नामी बनाएको वन्तको टिमले हो । व्यवहारमा चाम्रो स्वार्थका निम्ति झुक्ने स्वभावका शैलेन्द्रको कार्यकाल सशस्त्रमा स्वच्छ र पारदर्शी हुने कुरामा छोटो समयमै शङ्का बढेर गएको छ । खनालविरुद्ध एआईजी पुष्पराम केसी घुँडा धसेर लागेका छन् । एकले अर्काको खेदो खन्ने प्रवृत्तिको सुरुवात सनत बस्नेत आईजीपी भएदेखि चलेको हो । बस्नेतले ठाकुरमोहनलाई धकेलेर इँटा गणना गर्ने, फौजी तालिम नलिएका कोषराज वन्तलाई आईजीपी बनाएदेखि नै सशस्त्र धराशयी भएको हो, आईजीपी खनालको अबको बाटो कस्तो हुन्छ ? सङ्गठनमा ठेकेदारको बोलवाला छ । हिजोदेखिका लुटाहाहरू प्रबन्ध लेखा कानुनमा छँदैछन् । विज्ञापनको नाममा लुट्नेहरूको त्यहाँ गिरोह नै छ ।