//महेन्द्रपथमा लम्किँदै ओली

महेन्द्रपथमा लम्किँदै ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्ति शुद्धीकरण विभाग, राष्ट्रिय अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभागलाई आफ्नो मातहतमा लग्दा विरोध गर्नेहरूको जित भएको छ । प्रधानमन्त्री कार्यालय मातहतमा जानु र नजानुको विभेद केही नभएको राष्ट्रिय अनुसन्धान विभागले हिजो जे गथ्र्यो, आज त्यही गरेकै छ । तर त्यसलाई चुस्त र सक्षम बनाउन प्रधानमन्त्री कार्यालयले केही गरेकै छैन । राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागले प्रधानमन्त्री कार्यालयमा रहेर कहाँ कति अनुसन्धानात्मक प्रगति गरे, उपलब्धि के भयो कतै देखिएन । प्रधानमन्त्री कार्यालयलाई शक्तिशाली बनाउनै पर्छ तर त्यसले गृहअन्तर्गतको राष्ट्रिय अनुसन्धान, अर्थअन्तर्गतको सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभागले प्रधानमन्त्री कार्यालयमा समावेश भएर के उल्कापात गराए । खोई अझै राष्ट्रिय गौरवका आयोजनाहरू प्रधानमन्त्री मातहतमा राख्ने भनिँदैछ । आयोजनाको निगरानी, रेखदेख प्रधानमन्त्रीले गर्नुपर्छ । तर विभागीय मन्त्रीहरू कामविहीन हुने तर प्रधानमन्त्री कार्यालय, कार्यक्रमहरू थुप्रिने राम्रो होइन । कार्यालय ओगट्ने काम नहुँदा प्रधानमन्त्रीलाई स्यावास कसले भन्छ ? राष्ट्रिय गौरवको आयोजना मेलम्चीको हालत तारेख दिलाउने मुद्दाको फैसला नगर्ने अदालतको जस्तो छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग होस् या हुलाकी राजमार्ग र धरान–चतरा–सिन्धुली–हेटौँडा सडक किन नहोस्, स्थिति सन्तोषजनक छैन । राजधानीका सडकको चाल होस् या स्मार्ट लाइन्सेन्सको चाला सन्तोषजनक छैन । सन्दर्भले यी सबै कार्यक्रम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग जोडिएका आयोजनाहरू हुन् । प्रधानमन्त्री ओली के गरौँ भन्ने सपना देख्छन् । उनको स्वास्थ्यले पनि दिँदैन, सहयोगीको विश्वास गर्नलायक गतिविधि पनि देखिँदैन । २५ अर्बभन्दा माथिको योजना प्रम कार्यालयमा लगेर के हुन्छ ? सरकारले गरेका निर्णयहरू पार्टीले थाहा पाउँदैन किन ? बिग्रिसकेपछिको अवस्थामा पछुताउने मात्र हो । कार्यक्रम डम्पिङ गर्ने र काम केही नहुने अहिलेको स्थितिले उत्साह देखाएको छैन । जनता निराश छन् । सिंहदरबारको कार्याक्षेत्र कटौती भएको अवस्थामा प्रदेशको क्रियाशीलताका लागि अधिकार नदिने राष्ट्रिय गौरवका योजना कब्जा किन गर्ने ? त्यसो त तत्कालीन राजा महेन्द्रलाई राष्ट्रवादी देख्ने आँखाहरू प्रम ओलीको कब्जा गर र कमाऊ नीतिको वर्णन गर्छन् । महेन्द्रले भ्रष्टाचार निवारण कार्यालय, पब्लिक सर्भिस, सेन्टर व्यूरो (गुप्तचर), कमान्डरी किताबखाना आफ्नो अधीनमा राखेर मातृका कोइरालालाई पङ्गु बनाएका थिए । ओलीको समृद्धि र विकास भनेको यस्तै कुकर्म हुन् । उनी गाउँछन्, पदका लम्पट, भ्रष्ट र लुटेराहरू नाचेका छन् । जनताले ओली शासन हेरेका छन्, महँगी र भ्रष्टाचारले ग्रस्त बन्दै छन् ।