//समाज कल्याणमा भ्रष्टाचारको थुप्रो

समाज कल्याणमा भ्रष्टाचारको थुप्रो

काठमाडौँ । निःस्वार्थ भावनाले स्थापना भएको समाज कल्याण परिषद्भित्र बढिरहेको भ्रष्टाचार छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश मोहनरमण भट्टराईको नेतृत्वमा छानबिन समिति गठन भएपछि भ्रष्टहरूबीच खैलाबैला मच्चिएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई परिषद्को गिरोहले घुमाइरहेको छ । भ्रष्टाचार र अनियमितताको भण्डार बन्दै गएको परिषद्मा सम्पत्ति हिनामिना गर्नेहरूमाथि कस्तो कारबाही होला, त्यो भने यतिखेर प्रतीक्षाको विषय बन्दैछ । उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना र मन्त्रालयबाट सचिवका रूपमा खटाइएका राजेन्द्रकुमार पौडेलको मिलिभगतमा अहिले पनि समाज कल्याणभित्र लुट मच्चिइरहेको छ । यो गिरोहले संस्थाको हितमा भन्दा आफ्नो स्वार्थमा परिषद्लाई प्रयोग गरिरहेको कुरा बागबजारको खसीबजार, बूढानीलकण्ठ, सिनामङगल लगायतका जग्गा कौडीको मूल्यमा भाडामा लगाई आफैँ खाने गरेका छन् । यही टोलीले विक्रम थापा समाज कल्याणमन्त्री हुँदा अपाङ्ग कोषको नाममा रहेको खसीबजारको जग्गा दश वर्ष म्याद थप्नका लागि रू. ३५ लाख हजम गरेको थियो । यो काममा उपाध्यक्ष बरालको हात रहेको कर्मचारीहरू बताउँछन् । यिनै बरालले सदस्य–सचिवको काममा समेत हस्तक्षेप गर्दै आएको कुरा ०७४ मंसिर २५ मा आफूलाई स्वकीय सचिव चाहियो भन्दै बालिका खड्कालाई नियुक्ति गर्नुले पुष्टि गर्दछ । आपूmअनुकूल मात्र नभई उनले कोषाध्यक्ष ठगुन्नाकी छोरी उर्मिला ठगुन्नालाई नासु पदमा नियुक्ति दिएको अवस्थामा कर्मचारीहरूको चर्को विरोध नभएको होइन । अहिले उर्मिला भृकुटीमण्डपस्थित राष्ट्रिय अपाङ्ग कोषमा छिन् भने अर्की छोरी निर्मला ठगुन्नालाई नियुक्ति गर्ने बेलामा एकाएक रोकिएको थियो । उनले सुनील चन्दलाई नियुक्त गरी जेष्ठ नागरिक कोषमा खटाएर परिषद्बाटै तलबभत्ता खुवाउने गरेका छन् । बगैँचामा काम गर्ने सावित्रा कोइरालालाई करार नियुक्ति गर्ने पनि यही गिरोह हो । उपाध्यक्ष र र कोषाध्यक्षको टिमले गरेका अपराध मन्त्रीले कति बुझिन् ? सदस्य–सचिवले कति बुझे ? त्यो भने छानबिनले स्पष्ट गर्दछ । परिषद्भित्रको मनपरीमा मन्त्रालय तानिएका डिल्ली भट्ट जहाँ पनि जोडिँदै आएका छन् । कोषाध्यक्ष ठगुन्नाले परिषद्को स्रोत–साधनमाथि गरेको मनपरीविरुद्ध अख्तियार, मन्त्रिपरिषद्को कार्यालय, हेल्लो सरकार, राष्ट्रिय सतर्ककता केन्द्र जस्ता ठाउँमा नपुगेको होइन । यिनै ठगुन्नाले परिषद्को गाडी दार्चुला जाँदा दुर्घटना गराएका थिए । सो गाडी मर्मतका लागि ५ लाख लिए पनि गाडी अहिलेसम्म परिषद् आउन सकेको छैन । गैरसरकारी संस्थाहरूको भत्ता खाएर विदेश भ्रमण गर्नेमा उपाध्यक्ष बराल र कोषाध्यक्ष ठगुन्ना प्रतिस्पर्धी बनिरहेका छन् । त्यही परिषद्मा दुईथरी नागरिकता भएका शिवकुमार बस्नेत जस्ता निर्देशकले मन्त्रीका पिएलाई लिएर चीन भ्रमणसमेत गरेका थिए । तिनै बराल बेलायतसम्म पुगेका थिए । त्यसो त निर्देशक हरि तिवारीको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी भएको पदोन्नतिमाथि पूर्वन्यायाधीशको अध्यक्षतामा गठित उच्चस्तरीय छानबिन आयोगले कस्तो रिपोर्ट देला ? त्यो भने प्रतीक्षाको विषय बनिरहेको छ । स्मरणीय छ, समाज कल्याण परिषद्का ठगुन्ना उमेरले बूढो भए पनि बैंसले उन्मत्त देखिने गरेको बेलाबखत ठमेलतिर देखिने उनको व्यवहारले पनि पुष्टि गर्दछ ।