//बैङ्कले सेयर ब्रोकर पाउँदैमा सुधार होला ?

बैङ्कले सेयर ब्रोकर पाउँदैमा सुधार होला ?

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पत्राचार गर्दै बैङ्कलाई ब्रोकर लाइसेन्स दिन निर्देशन दिएको छ । यससँगै लगानीकर्ताले बुझ्नुपर्ने कुरा के छ भने बैङ्कले नै ब्रोकर लाइसेन्स पाउने हो अथवा सहायक कम्पनीमार्फत् ब्रोकर लाइसेन्स पाउने हो । त्यस्तै, बैङ्किङ कारोबार नै गर्न नपाएका ग्रामीण क्षेत्रका बासिन्दालाई पुँजी बजार भनेको थाहा नभएको अवस्थामा पुँजी बजारमा लगानी गर्छन् भन्ने सोच्नु कत्तिको जायज होला ? केही बुझेका र शिक्षित भनेका मानिहरू त बजारलाई राम्रोसँग बुझ्न नसकिरहेको अवस्थामा ग्रामीण भेगका सर्वसाधारणले दोस्रो बजारमा लगानी गर्न पाउँछन् र बजारमा कारोबार बढ्छ भनेर हल्ला गर्नु कत्तिको उचित होला ? त्यसैले बैङ्कले लाइसेन्स पाउँदैमा बजार बढ्छ भनेर सोच्नुभन्दा पनि लगानीकर्तालाई कारोबार गर्न सहज हुन्छ भनेर सोच्नुपर्ने हुन्छ ।
नेपालमा सबै चिज बैङ्कलाई दिँदा विश्वसनीय हुन्छ भन्ने धारणा छ । बैङ्कलाई ब्रोकरको लाइसेन्स दिँदा मार्केटमा तरलता प्रवाह गर्ने निकायले नै ब्रोकरको कारोबार गर्दा लगानीकर्तालाई केही सहज हुन्छ भन्ने कुरा हो । तर बैङ्कहरूले सीधै ब्रोकरको काम गर्ने नभई सहायक कम्पनीमार्फत् ब्रोकरको काम गर्नुपर्ने हुन्छ । बैङ्कको सहायक कम्पनीले लाइसेन्स पाउँदैमा बैङ्कको सम्पूर्ण शाखाबाट ब्रोकर सेवा उपलब्ध हुन्छ कि हुँदैन भने प्रश्न मुख्य हो ।
यसमा नेपाल राष्ट्र बैङ्कले पनि स्पष्ट निर्देशन दिनुपर्ने हुन्छ । बैङ्कको सहायक कम्पनीको रूपमा ब्रोकर लाइसेन्स पाएपछि मुख्य कम्पनीले आफ्नो सम्पूर्ण शाखाबाट ब्रोकरको काम गर्छन् कि गर्दैनन् भन्ने कुरा अहिले अस्पष्ट रहेको छ । व्यक्ति अथवा प्राइभेट संस्थालाई नदिएर बैङ्कको सहायक कम्पनीलाई मात्र दिनुको कारण के होे ? अहिले सहायक कम्पनीमा सबैभन्दा धेरै १० करोड पुँजी रहेको छ । सहायकलाई दिने भनेकोमा यदि प्रााइभेटले पनि १० करोड पुँजी लिएर आएमा ब्रोकर लाइसेन्स पाउने कि नपाउने अर्को प्रश्न आउन सक्छ । यस्ता विषयले सेयर बजारलाई विवादमा पारिरहेको हुन्छ । राष्ट्र बैङ्कले सहायक कम्पनीले आफ्नो मुख्य कम्पनीसँग भएको पुँजी पनि बजारको तरलताको लागि प्रयोग गर्न पाउँछ कि पाउँदैन भन्ने प्रष्ट पारेको छैन । यो कुरा प्रष्ट नभईकन बैङ्कलाई ब्रोकर लाइसेन्स दिँदैमा वा नदिँदैमा खासै ठूलो अर्थ राख्दैन । बजारमा पनि प्रभाव पार्दैन । सेयर विश्लेषक रुक्मागत काफ्ले भन्छन्– ‘बैङ्कलाई ब्रोकर दिँदैमा बजारमा सुधार भयो भन्ने सोच्नु गलत हो । यसले बजार परिसूचक बढाउन भन्दा पनि बजारको पहुँच सर्वसाधारणसम्म पु¥याउन सहयोग गर्छ ।’ काफ्ले भन्छन्– ‘हामीलाई बैङ्कको पहुँच चाहिएको हो । देशभर रहेका नागरिकले जुनसुकै बेला पनि सेयर खरिद तथा बिक्री गर्न पाऊन् । साथै, सेयर खरिद–बिक्रीपछि राफसाफको राम्रो प्रबन्ध होस् । जुन काम बैङ्कलाई ब्रोकरको काम गर्न दिँदा सहज हुन्छ भन्ने हो । तर यसमा सीडीएससीले पनि आफ्नो प्रणालीमा सुधार गर्नुपर्छ । हाम्रो बैङ्किङ क्षेत्रको पहुँच देशभरि विस्तार हुँदै गएकाले सर्वसाधारण लगानीकर्ताले फाइदा पुग्छ भन्ने बुझाइमा माग गरेको देखिन्छ ।’
यस्तो विषयमा टेक्निकल कुरा स्पष्ट नभईकन काम सुरु गर्दा प्रक्रिया लामो हुने र थप अस्पष्टता देखिने हुन्छ । अहिले काम गरिरहेका ब्रोकरहरूलाई अवरोध आउँछ कि भन्ने चिन्ताको विषय पनि मुख्य छ । उनी भन्छन्– ‘बैङ्कलाई लाइसेन्स दिँदा राम्रै हुन्छ तर टेक्निकल कुरामा पहिले नै स्पष्ट हुन जरुरी छ । यदि त्यस्तो नभएमा भोलिका दिनमा मेनुपुलेसनको सम्भावना झनै बढी हुन सक्छ । किनकि बैङ्कसँग ठूलो मात्रामा पैसा हुन्छ । अहिले पनि दोस्रो बजारमा बजारको मेनुपुलेसन गर्न बैङ्किङ प्रणालीलाई नै प्रयोग गरेको देखिन्छ । बजारमा कुनै दिन एक अर्बको कारोबार हुन्छ, कुनै दिन तीन अर्बको कारोबार हुन्छ भने कुनै दिन १५ करोडको मात्र कारोबार हुन्छ । हाम्रो कारेबारमा यति धेरै फरक आउनुको कारण बैङ्किङ च्यानलको पैसा प्रयोग भएर नै हो । बजार मेनुपुलेसनको सम्भावना हुँदाहुँदै नियामक निकायहरूले आफ्नो भूमिका निर्वाह गर्न नसककेको अवस्थामा वाणिज्य बैङ्कलाई लाइसेन्स दिँदा थप जोखिम बढ्न सक्छ । यस्तो अवस्थामा नियमन कमजोर हुँदा तिनीहरूसँग भएको निक्षेप र आफ्नो पुँजी बजारमा बढी मेनुपुलेट गर्न ठूला खेलाडीहरूले अथवा बैङ्ककै सहायक कम्पनीहरू आफँैले नै भूमिका खेल्न सक्छन् । यसरी मेनुपुलेसन सुरु भयो भने साना लगाीकर्ता झनै ठगिने स्थिति आउन सक्छ । यस्ता लुकेका केही तथ्यहरू रहेका छन् । ठूला कम्पनीलाई लाइसेन्स दिँदै गर्दा त्यस्ता कम्पनीलाई कसरी नियमन गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्ने हुन्छ ।’
लगानीकर्ता चाहन्छन्, नेपालको अधिकांश क्षेत्र जुन ठाउँमा बैङ्किङ पहुँच पुगेको छ, त्यहाँबाट दोस्रो बजारमा सेयर कारोबार होस् । सबै सर्वसाधारणले सेयरको किनबेच गर्न पाऊन् । बैङ्कहरूले उपत्यकामा मात्र नभएर जहाँ ब्रोकरहरूको पहुँच पुगेको छैन, त्यस्तो क्षेत्रमा काम गर्ने छन् । बैङ्कलाई लाइसेन्स दियो भने सबै ठाउँमा सेयर ब्रोकरको पहुँच पुग्छ भन्नेमा लगानीकर्ता ढुक्क भएको बताउँछन् सेयर बजार लगानीर्ता सङ्घका अध्यक्ष उत्तम अर्याल । उनी भन्छन्– ‘अहिलेसम्म बाटो नै बनेको थिएन । अब बैङ्कहरूलाई लाइसेन्स दिने बाटो खुला भएको छ, यो सकारात्मक पक्ष हो । तर बैङ्कको सहायक कम्पनीले लाइसेन्स पाउने भएकाले सहायक कम्पनीको काम बैङ्कका शाखाले गर्छन् कि गर्दैन भन्ने कुरा पनि उब्जिएको छ ।’ पहिला लाइसेन्स पाएपछि मात्र बैङ्कले सेवा विस्तार गर्ला भन्नेमा उनी विश्वस्त छन् । अहिले भनेको बैङ्कलाई ब्रोकर लाइसेन्स दिनु नै ठूलो उपलब्धि हो ।