//प्रहरी जागे पनि चोरी हटेन

प्रहरी जागे पनि चोरी हटेन

काठमाडौँ । समाजलाई शान्ति सुरक्षा दिने नेपाल प्रहरीले टोलटोलमा अभियान चलायो तर त्यो अभियानको काम कतै देखिँदैन । बरु टोलटोलमा चोरी बढिरहेको छ । प्रहरीको गस्ती विगतमा भन्दा घटेको छ । ट्यापे, चुल्ठे, मुन्द्रेको रजाइँ फेरि चम्किन थालेको छ । गोंगबुमा हतियारको कारोबार गर्ने अभिलास लामा पक्राउ परे । उनीसँग चाइनिज पेस्तोल भएको थाहा पाएपछि प्रहरीले खुट्टामा गोली हानेर घाइते बनाई पक्रेको हो । प्रहरीले स्थानीय तहका वडास्तरमा गठन गरेको समुदायमा प्रहरी साझेदारी समितिहरू देशैभर स्थापना भएपछि काठमाडौँ परिसरले नागरिक सहायता कक्ष स्थापना गरेको छ । गुण्डागर्दीलाई जह्रैदेखि फाल्न आईजीपी सर्वेन्द्र खनालले दिएको आदेश परिसर हुँदै प्रभाग र वृत्तले कसरी कार्यान्वयन गर्लान् ? जबकि अहिले चक्रपथबाहिरको क्षेत्रका टोले गुण्डा, ट्यापे र मुन्द्रेहरूको बिगबिगी बढेको छ । सप्तरीमा दीपेन्द्र चौधरीको प्रहरीको गोलीबाट मृत्यु भएको छ । उनी सशस्त्र समूहका हुन् । हतियारधारीमाथि प्रहरीको कडीकडाउ देखिएकै छ । समाजविरुद्ध लाग्ने गुण्डागर्दी कमी भएको दाबी प्रहरीको छ । तर व्यवहारमा कहीँ कमी देखिँदैन । उता, कल बाइपास चोरी प्रकरण फेरि देखिएको छ । अन्तर्राष्ट्रिय कल बाइपास धन्दामा भारतका सुनिलकुमार र रामकरल जाट सहभागी भएको प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोले बताएको छ । सुनसरी घर भई सामाखुसीमा डेरामा बस्ने सञ्जीव राईले भाडामा लिएको कोठामा जडित १२८ पोर्टको भीओआईपी गेटवेसहित उनीहरू पक्राउ परेका हुन् । लामो समयसम्म कल बाइपास प्रकरण हराएको थियो । सुजाता कोइरालाका छोरीज्वाइँ बङ्गलादेशका नागरिक रुबेल चौधरी यही काण्डमा कानुनलाई लोप्पा खुवाउँदै बेपत्ता भएका थिए ।