//आयल निगममा सुधार

आयल निगममा सुधार

काठमाडौँ । लोडसेडिङको अन्त्य भएकाले नेपाल आयल निगमबाट मट्टितेल खरिद गर्नेको सङ्ख्या घटेको छ । निगमको भण्डारणमा २ हजार १ सय २४ किलोलिटर मट्टितेल मौजुदा हुनु यसको प्रमाण हो । कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल पुस २५ गतेबाट कार्यसम्पादनमा लागेका हुन् । उनले डिपोमा हुने गडबडी र ताल्चा लगाएको ट्याङ्करबाट पनि सबुद इन्धन डिपोमा आउने क्रममा बडबडी भएपछि व्यवस्थापन कडा गराए । ४९ वर्षको इतिहासमा पहिलो पटक निगमले क्षमताअनुसार भण्डारण गरेर इन्धनको मौजुदा बढाएको हो । कुशल व्यवस्थापकको पहिचान यही हो । ‘डिपोहरूले ८० प्रतिशत इन्धन भण्डारण गरेका छन्’– प्रवक्ता वीरेन्द्र गोइत बताउँछन् । आयल निगमका १२ डिपोमध्ये अमलेखगन्ज, विराटनगर र भैरहवा डिपो ठूला हुन् । ४४ हजार ९७ किलोलिटर इन्धन मौजुदा हुँदा १० दिनलाई पुग्ने प्रवक्ता गोइत बताउँछन् । भण्डारगृह मर्मत समयमा भएको भए निगमले ७१ हजार ६ सय किलोलिटर इन्धन डिपोजिट गरेको अवस्था हुने थियो । जसले क्षमताअनुसार भण्डारण गर्दैन, बिक्रेताले मागेअनुसारको इन्धन दिँदैन, त्यहाँको डिपो प्रमुख कारबाहीमा पर्ने चेतावती कार्यकारी प्रमुखले दिएका थिए । कार्यकारी प्रमुख पौडेलले डिपोहरूमा निगरानी बढाएका छन् । निगममा दक्ष जनशक्ति छ । त्यो जनशक्तिलाई सही ढङ्गले परिचालन गर्दा निगममा सुधार आउँछ भन्ने कुरा पनि पौडेलको कार्यसम्पादनले पुष्टि गरेको छ । उनी आउँदा ३५ हजार किलोलिटर इन्धन मौजुदा थियो । तर तत्कालीन क्षमता ४४ हजार ९७ किलोलिटर रहेछ । कर्मचारी इमानदार र बिक्रेता बफादार हुने हो भने निगमको सुधार गर्न कठिन छैन । ग्यासमा हुने लापरवाहीलाई व्यवथापनले ध्यान दिनै पर्छ । उपभोक्ता ठगिने अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा मूल्य समायोजन समयमा नहुने निगमका आन्तरिक कमजोरी हुन् । नाफाबाट बोनस खाने कानुनी व्यवस्था छ तर ग्राहकभक्त नहुने संस्कार हटाउन जरुरी छ । यसैबीच, निगमले भारतीय इन्धन कम्पनी आईओसीको मूल्य सूचीका आधारमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको छ । निगमले आईओसीको मूल्य सूचीको आधारमा मूल्य निर्धारण गर्दा सार्वजनिक बिदा भन्दैन । अहिले पनि निगमले रू. १ अर्ब ६ करोड पुरानो घाटा बेहोरेको बताउँछन् । निगमले ग्यासको व्यापार सबैलाई समान गरेको छ । व्यापारी र सर्वसाधारण ग्राहकबीचमा अन्तर नहुँदा निगम आलोचित भएको हो । ठूलाबडाले नै निगमबाट फाइदा लिएका छन् । निम्न आय भएकाहरूका निम्ति निगमले कुनै कार्यक्रम ल्याएको छैन । आगामी आवबाट ग्यासमा परिवर्तन हुने तयारी भइरहेको छ । हिजो आयल निगमलाई कमाइको भाँडो बनाएका बोर्ड सदस्यहरूले डिपो प्रमुखहरूसँग मासिक असुल्दा उपभोक्ता मर्कामा पर्थे । कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलको कामको थालनीले निगममा सुधार आउने विश्वास गरिएको छ ।