//गुटका कारण कार्यदल असफल

गुटका कारण कार्यदल असफल

काठमाडौँ । नेकपाको एकता प्रक्रियाका बाँकी काम सम्पन्न गर्न पुस १२ मा गठन भएको कार्यदल पूर्वएमाले पंक्तिमा जुर्मुराएको गुटका कारण असफल भयो । कार्यदलमा केपीका ३, प्रचण्डका ३ र माधव नेपालका ३ जना नेताहरू थिए । तर एक व्यक्ति एक कार्यक्षेत्रको अडान लिएको माधव नेपाल पक्षको अडानलाई ओली पक्षले निदान गर्न सकेन । ओली गुटका पृथ्वी सुब्बा र शङ्कर पोखरेल प्रदेश इञ्चार्ज पनि छन्, मुख्यमन्त्री पनि हुन् । यी दुवै जना आफ्नो प्रदेशमा जनपक्षीय काममा पछाडि छन् । पोखरेल त झन् कार्यदलकै सदस्य थिए । पार्टी एकता त भयो, ठूला नेताले पद पनि पाए, सरकारी सेवा–सुविधा पनि लिएकै छन् । सङ्कट प्रदेश र जिल्ला तहको नेतृत्वमा मात्र छैन, प्रदेश इञ्चार्ज बनाइएका प्रधानमन्त्री केपी ओली गुटका शङ्कर पोखरेल र पृथ्वी सुब्बा गुरुङ बनेका छन् । प्रदेशको मुख्यमन्त्री पनि यिनै हुने, पार्टी प्रदेश इञ्चार्ज पनि यिनै हुने, पोलिटव्यूरोमा पनि यिनैलाई ठाउँ दिनै पर्ने भएकै कारण विष्णु पौडेल र रामबहादुर थापाको कार्यदल असफल भएको हो । नेकपामा एकता प्रक्रिया टुङ्गोमा पु¥याउन यसअघि तीनवटा कार्यदल बने । तिनले कामको टुङ्गो लगाउन भने कहिल्यै सकेनन् । नेतृत्वले चासो बढी लिएर कार्यदलको काम अपूर्ण भएको होइन । माओवादीमा भन्दा एमालेभित्रै गुट–उपगुट च्याउ उम्रेसरह भएकाले नेतृत्वले दिएको जिम्मेवारी समयमा सम्पन्न नभएको हो । प्रदेशको नेतृत्व चयन गर्नुपूर्व बनेको कार्यदलले काम समयमा सम्पन्न गर्न सकेन । त्यहाँ वरिष्ठ नेताहरू वामदेव गौतम, माधवकुमार नेपाल र झलनाथ खनालका बीचमा समेत समन्वय थिएन । नेपाल पक्षले प्रदेश सातमा भीम रावल प्रदेश– ३ मा अष्टलक्ष्मी शाक्यलाई इञ्चार्ज दिएपछि प्रदेश– ४ का पृथ्वी सुब्बा, ५ का शङ्कर पोखरेलको खेदो किन खन्दैछन् ? नेकपाभित्र मिहिन ढङ्गले हेरिएको छैन । भन्नेहरू भन्छन्– अब पछिल्लो कार्यदलले जति काम गरेको छ, त्यो अधुरो कामलाई पूर्णता दिलाउन अध्यक्षद्वयले दुई घन्टा समय निकाले भने काम फत्ते हुन्छ । त्यो बखत अहिले अत्तो थाप्नेहरू डुक्रिनेबाहेक केही हुँदैन । पार्टी स्थायी समितिले दिएको जिम्मेवारी सफल बनाउन नसक्ने टिममा योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुवीर महासेठ, वर्षमान पुन, शङ्कर पोखरेल, वेदुराम भुसाल, लेखराज भट्ट रहेको कुरा नेकपाका कार्यकर्तालाई थाहा छ । भूगोल मिलाएर कार्यदल सदस्य चुुन्नुको कारण उनीहरूले भूगोल, जिल्ला नेतृत्वमा ल्याउने दल क्षमतावान्, इमानदार र पार्टीप्रति लगनशीलहरूलाई छनोट गर्लान् भन्ने विश्वास हो ।