//एकै रातमा सबैतिर डाङडुङ !

एकै रातमा सबैतिर डाङडुङ !

काठमाडौँ । उखानै छ– ‘जस्तो रोप्यो, त्यस्तै फल्छ ।’ नेपाली गणतन्त्रको सत्ता पाटोमा नअटेकाले अर्थात् धम्क्याएर खाने प्रवृत्तिमा पल्केकाहरूबाट सुरुवात जसरी भयो, त्यसरी नै राजनीतिमा ठगी परिवेश देखियो । गुण्डा र आवारालाई तह लगाएर कानुन हातमा लिई प्रहरीलाई निस्तेज पारिएको गर्भिलो शिक्षा हासिल गरेकाहरूको एउटा टुकडी नेकपाको नाममा खडा आतङ्क फैलाएको छ । राष्ट्रलाई ठग्ने भ्रष्टहरूमाथि नेकपाले लक्षित उद्देश्य साथ रामधुलाइ गरेको भए सायद जनताले क्या बात भन्दो हो । तर लुटेराहरू प्रशासनमा छन् । व्यापार व्यवसायमा छन् । निर्माण क्षेत्रमा छन्, वैदेशिक रोजगारीको क्षेत्रमा छन् । गाउँघरमा नयाँ क्रान्तिकारी सामन्त जन्मेका छन् । गरीबको घरबास उठाउनेहरूले फेरि पुरानै चरित्र देखाउँदै छन् । चुनावमा हामी ठूलो पार्टी, हामीले स्थानीय तहको विकासमा गर्नु, नगर्नु ग¥यौँ भन्ने गर्व गर्ने काँग्रेस र नेकपाका नेताहरूलाई कमाउनु छ । त्यहाँ पनि राष्ट्रकै राजस्वमा लुुटमार छ । विगतमा पहाडी जिल्लाहरूमा गएको बजेटमा जनयुद्धको नाममा धन बटुल्ने योजना सफल पारे जस्तै चलन अहिले सुरु भएको छ । जस्तो बीउ रोप्यो, त्यस्तै फल्ने क्रम यतिखेर चर्केको छ । सरकारले वर्तमान समयमा पनि असन्तुष्टि जनाउनेहरूसँग वार्ता गर्न उच्चस्तरीय राजनीतिक सम्वाद समिति बनायो । त्यसले नेकपाको राजनीति पचाएन । नेकपासँग वार्ता गरेन । हिजो बन्दुकको धम्की विद्रोहीलाई राज्यले दिन्थ्यो । अहिले जनयुद्धको अधुरो यात्रा पूरा गर्न नेकपाले नेकपाकै मिस्कट सरकार भएको बेला देशका विभिन्न स्थानमा रहेका टेफिफोन टावर ध्वस्त बनाएको छ । निजी सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई बुझाउनुपर्ने ६४ अर्ब राजस्व नतिरेको सजाय यो हो । एनसेलसँग नेकपाको चन्दाको बार्गेनिङ होइन भने पनि एनसेललाई टावर ध्वस्त हुँदैमा तत्काल ठूलो घाटा हुँदैन । व्यापारिक संस्थाहरूले आफ्नो स्रोत बचाउन बीमा गरेका हुन्छन् । राजेन्द्र खेतानले मायोज चाउचाउ कम्पनीमा भएको आगलागीको क्षतिपूर्ति आफैँले निर्धारण गरे, आफैँ अध्यक्ष रहेको बीमा कम्पनीबाट रू. ६ करोड पैसा निकालेर विदेश पठाए । आफू पनि देश छाडेर भागेको सबैलाई थाहा छ । एनसेलले पनि त्यस्तै गरेको केही दिन फोन सेवा नचल्न सक्छ । कर छल्न एनसेललाई सघाउने लोकमानसिंह कार्की, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, खड्ग ओली मात्र थिएनन् । सार्वजनिक लेखा समितिको निर्णय उल्ट्याउने सामाजिक विकास समितिका तत्कालीन सभापति पनि हुन् । अहिले देशमा भ्रष्टाचार चरम छ । त्यही बेला भ्रष्ट बचाउन टेलिफोन टावरहरू ध्वस्त बनाएर चन्दा उठाउन खोजिँदैछ ।
जनतालाई थाहा छ, १७ हजार जनताको हत्याबाट २ सय ३४ वर्षको वंशगत राजतन्त्रको अन्त्य भएको हो । सङ्घीयता, गणतन्त्र र समावेशिता जनयुद्धका उपलब्धि हुन् । समावेशिताको सुरुवात संसदीयकालमा संसद्बाट र स्थानीय तहबाट भएकै हो । नेकपा चन्दका लागि माओवादीको नाममा सत्ता रजाइँ गरेका पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराईलाई गद्दारको आरोप लगाउनु सामान्य हुन सक्छ । तर नेकपा एमालेको ठूलो पंक्तिले जनयुद्धको बेला सरकारी जासुसका रूपमा मानवअधिकारकर्मीको भेषमा कमाइ गरेकै हो, जहाँ ओली गुट सहभागी थियो । जनयुद्धमा सुरक्षाको नाममा खटेको सेनाले जनताको घर–घरमा प्रवेश गरेर महिलाको इज्जत लुट्ने र लुटपाट गर्ने अधिकार पाएकै हो । सेनाले बेपत्ता पारेका र मारेकाहरूको पीडामा प्रचण्ड र केपी ओलीले मलम लगाउने छाँट देखाएनन् । त्यही कारण चन्द पक्षले जनयुद्धको शैलीमा ओली र प्रचण्डको खेदो खनेका हुन् । नेकपाले आफ्नो आक्रोश त्यो एजेन्डामा पनि पोख्यो । जनयुद्धका घाइते अपाङ्गका बारेमा माओवादीका नेताहरूले केही राहत दिलाए, केही छुटेकै हुन् । नेतृवले सैद्धान्तिक निष्ठा र राजनीतिक पद्धति बिर्सेको कारण कार्यकर्तामा निराशा छ । यही बेला चन्द पक्षले एनसेलको उठीबास लगाउन खोजेको छ । जुन कम्पनी राज्यलाई कर तिर्नु आलटाल गर्छ । एनसेल लोकप्रिय कम्पनी हो । त्यो यथार्थता नेकपालाई थाहा थियो । औद्योगिक प्रतिष्ठानमा बम पड्किएपछि बोलाएर चन्दा दिने पुरानो चालन हो । यस पटकको यो चलन नेकपा चन्दले चलाएको हो भने जनयुद्धको हतियार अन्वेषक गृहमन्त्री रामबहादुर थापाले गर्ने के ? सर्पको खुट्टा सर्पले देख्छ भन्छन् । नेकपालाई कमजोर ठान्दा त्यसको परिणामले निर्दोष जनताले कति खेर ज्यान फाल्ने हुन्, यसै भन्न सकिने अवस्था भएन । भैंसेपाटीस्थित एनसेल कार्यालयलाई लक्षित गरी राखिएको कामबाट एक मृत्यु, दुई घाइतेको दोष केही थिएन । तर उनीहरू मकैमा घुन पिसिएसरी भए, तिनको मृत्यु दुःखद छ । राज्य ठग्ने ठगहरूलाई ठूला दल र तिनका नेताको संरक्षण प्राप्त छ । राजनीतिप्रति हिजो जस्तो असन्तोष थियो, आज त्यस्तै छ । सरकारमा नेकपा छ, त्यो नेकपामा आधा शक्ति हिजोको माओवादी र जनयुद्धका कमान्डरहरू छन् । तर तिनले जनताका बीचमा गरेका वाचा त पूरा गरेन, बरु राज्यमा भ्रष्टाचार चरमरूपमा बढाएका छन् । राज्यको ढुकुटीमा दोहन गर्ने मुलुकमा अशान्ति, गुटबन्दी, अराजकता, दलाली, कमिसनमुखी रवैया नेकपा डबलको पार्टी सिद्धान्त र नीति बनेको छ । जनताका बीचमा नेकपाको नेतृत्वले देखाएको कुशासन, विकृति र बेथितिको चाङ बढिरहेको छ । जनतामा चुलिएको आक्रोश आफ्ना गतिविधिमा आकर्षित बनाउन पनि नेकपा चन्दले देशमा बम आतङ्क खडा गरेको हो । सुरक्षा अङ्ग र जासुसी संयन्त्र यो मामिलामा पूरै असफल छ । राजनीतिको गुटबन्दी सुरक्षा अङ्गमा भएकाले नै घटना हुनुअगाडि त्यो अङ्गले सूचना पाउन नसकेको हो । नेपाली सेना त हिजो राजतन्त्रको रक्षक थियो आज व्यापार व्यवसायमा लागेको संस्था भएकाले राष्ट्रमाथि आइपरेको समस्यामा चासो दिने शक्ति नै होइन जस्तो छ । सेना व्यापार गर्ने, प्रहरी र सशस्त्रले राजनीति गरेपछि राष्ट्रिय अनुसन्धानले के–को अनुसन्धान गर्छ र चन्द पक्षले राज्यलाई दिएको चुनौती निराकरण हुन्छ ?