//ग्यास उद्योगीसँग निगम लचक

ग्यास उद्योगीसँग निगम लचक

काठमाडौँ । राजनीतिक दलका नेता सांसद स्थानीय तहका प्रतिनिधिहरू जनताको सेवाभन्दा आफू र आफन्तमार्फत् राष्ट्रको ढुकुटी लुट्न सफल भइरहेका बेला ग्यास उद्योगीहरूले पनि आफ्नो स्वार्थ पूरा गर्न बजारमा ग्यासको कालोबजार चर्काएका छन् । सरकार दर्शक छ, कुनै पनि समस्याको समाधान समयमा नगर्ने प्रवृत्ति छ । नेपाल आयल निगमबाट खरिद स्वीकृति लिएपछि इन्डियन आयल कर्पोरेसनबाट ग्यास ढुवानी अनुमति प्राप्त गर्ने ग्यास उद्योगीहरूले १० बुँदे माग राखेका छन् । उनीहरूको माग सम्बोधन गर्न निगमले उच्चस्तरीय वार्ता समिति बनाएर छलफल सुरु गरेको छ । उद्योगको संरचना खर्च ग्याँस बिक्री कमिसन, ढुवानी, भाडा, उद्योगको नोक्सान, बीमा खर्च, मुनाफा बिक्रेताको नाफा जस्ता आफ्नै मात्र स्वार्थका एजेन्डा ग्याँस उद्योगीहरू उठाएका छन् । उनीहरूले गर्ने अपराध सिलिन्डर काट्ने तौल घटाउने कालोबजार चम्काउने प्रवृत्ति मात्र होइन, कमजोर फिटिङका कारण ग्यास सिलिन्डर विष्फोट भएर भएका मानवीय क्षति हटाउनेतर्फ भने उनीहरू सचेत छैनन् । निगम लचक भएपछि बजारमा ग्यासको कृत्रिम अभाव खडा गरिएको छ । यो राम्रो सन्देश होइन । आयल निगमले इन्धनमा मूल्य समायोजन गरेको छ । भारतले पठाएको मूल्य सूचीमा निगम निर्भर रहन्छ । अहिले ग्यास उद्योगहरूले दर्शाएका समस्याको समाधान गर्न निगम व्यवस्थापन गम्भीर रहेको कार्यकारी निर्देशक सुुरेन्द्रकुमार पौडलले बताएका छन् । प्रवक्ता वीरेन्द्र गोइतका अनुसार हाल दैनिक १ हजार १ सय १ मेट्रिक टन एलपी ग्यास आयत भइरहेको छ । मासिक रूपमा नेपालमा ३६ हजार मेट्रिक टन ग्यास खपत हुन्छ, यो भनेको ७७ हजार सिलिन्डर हो । नेपालमा सेवा भन्ने ठाउँ रहेन । राजनीति नाफामा केन्द्रित हुन्छ । व्यापार व्यवसाय नाफामा केन्द्रित छ । यसैले बारम्बार समस्या आउँछन् । व्यवस्थापन जनताको विरोधको निसाना बन्ने गर्छ । सरकार, उद्योगी, आयल निगमको व्यवस्थापन पक्षले समयमा सचेत हुन जरुरी छ ।