//प्रहरीको ठेक्कामा लुट्नमै चासो

प्रहरीको ठेक्कामा लुट्नमै चासो

  • जाडो गयो, उलन टेन्डर खुल्यो
    काठमाडौँ । च्यानल मिलाएर गुणस्तरहीन सामान करोडौँ खर्च गरेर भित्र्यायो । लामो समय नटिक्ने कच्चा वस्तुले हाकिमहरूको कमाइ बढायो । नेपाल प्रहरीमा अहिले त्यही भएको छ । देख्न र भन्न आईजीपी सर्वेन्द्र खनालको भ्रष्टाचार र अपराधमा शून्य समाजको साचो लिएका एआईजी ठूले राईकै तजबिजमा झन्डै ५० करोडको ठेक्कामा यस्तो चलखेल भएको हो । अहिले प्रबन्धमा डीआईजी नारायण खड्का, डीएसपी नवराज थापा, निरीक्षक केशव गौतम रहेका छन् । ठूला खरिद र जबर्जस्त बढुवामा गृहमन्त्रीका पुत्र र उपराष्ट्रपतिका पुत्रसमेत जोडिएकाले प्रहरीलाई हरेक खरिदमा जिल्याउँदै आएका ठेकेदारहरू दीपक भट्ट, रितेश अग्रवाल, टोपेन्द्र विसी, पीताम्बर मुन्का, राजमान मिश्र र ज्ञानेन्द्र बस्नेतले ठूलो चलखेल गरेका छन् । अख्तियार र गुणस्तर तथा नापतौललाई समेत भाग छुट्ट्याएर दिलाइएको यो ठेक्कामा समयको भने ख्याल गरिएको छैन । समय कटेपछि तोकिएका सामान ठेकेदारले नदिने प्रबन्ध र ठेकदारबीचमा ठूलो रकमको तलमाथि गर्ने चलन प्रहरी र सशस्त्र प्रहरी दुवैमा छ । यस पटक चुस्ता, उलन पाइन्ट, उलन टाउजर, सिल्पिङ व्याग, कटन पाइन्ट र सर्ट, व्याग, झुल जस्ता सामानको खरिदमा प्रबन्ध र ठेकेदारहरूले भागबन्डा मिलाएका छन् । आईजीपीका विश्वासिलाहरूले चलाउने त्यो शाखाले गर्ने अपराधले पूर्वआईजीपीहरूको बद्नाम मात्र भएन, बिगो जरिवाना तिर्ने र जेल बस्ने काम पनि विगतमा भएको हो । जाडो गयो, टेन्डर खुल्यो । यो नेपाल प्रहरीका हाकिमहरूको कमाइको मेलोमेसो हो । प्रबन्धसँग गृहमन्त्री पुत्रको साइनो छ छैन तर डीएसपी नवराज थापा र निरीक्षक केशव गौतमले उनको नाम ठेकेदारहरूसँग लिएका छन् भने नेकपाको नाम ठेकेदारहरूसँग लिएका छन् भने नेकपाका नेता वामदेव गौतमलाई बा भन्दै साइनो लगाउने ठेकेदार दीपक भट्टले गृहमन्त्री रामबहादुर थापा र नेकपा अध्यक्ष पुष्पकमल दाहालको नाम भजाएका छन् । यो ठेक्कामा बढी दाम र काम लिने ज्ञानेन्द्र बस्नेत हुन् । उनले ७ करोड ९७ लाख ४० हजारको चुस्ता, ४ करोड ५१ लाख ८ हजार कटन सर्ट, ९७ लाख ८० हजारको झुल ठेक्कामा पारेका छन् । आईजीपी खनाल आएपछि दीपक मल्होत्राले कुहिएका बुट सप्लाइ गरे । ३५ हजार जोर बुट गोदाममा थन्किएको अवस्था छ । अख्तियार त्यहाँ जाँदैन, ब्रह्मान्डमा अर्को कडीकडाउ गर्ने निकाय छैन । त्यस्तै, राजमान मिश्रले २ करोड ५६ लाख ५ सयको उलन पाइन्ट पाए । ६४ लाख ६० हजारको व्याग, दीपक भट्टले भेट्टाए भने रू. २ करोड ४६ लाख ३७ हजार ५ सयको अन्डर टाउजर र भेष्ट २ करोड २८ लाख ९६ हजारको उलन स्वीटर पीताम्बर मुन्काले पाएका छन् । टोपेन्द्र विसीले ३ करोड ५ लाख ७२ हजार ५ सयको क्यामो फ्ल्याक पाएका छन् । रितेश अग्रवालले सिल्पिङ व्याग पाउँदा रू. १ करोड ५० लाखमा चित्त बुझाएका छन् । त्यसो त पूर्वराजा ज्ञानेन्द्रको सिप्रदी ट्रेडिङले फोर ह्विलको पिकअप रू. १२ करोड २४ लाख ८९ हजारमा लिएको छ । यी सबै ठेक्कामा ४० प्रतिशतसम्म कमिसन भागबन्डा गरिन्छ र प्रहरीको बजेट समाप्त पार्ने परम्परा छ । आर्थिक वर्ष सुरु हुन तीन महिना बाँकी हुँदा भएको यो ठेक्का प्रकरणमा भ्रष्टाचार कमी हुन्छ भन्ने अपेक्षा गर्नु बिरालोले दूध चोर्दैन भने जस्तै हो ।