//गरीबको भलो कहाँ हुन्छ सरकार !

गरीबको भलो कहाँ हुन्छ सरकार !

ईश्वरी वाग्ले
वर्तमान सरकारलाई जनताको अल्पकालिक साथ थियो । तर प्रधानमन्त्रीदेखि मन्त्रीहरू मात्र होइनन्, प्रम कार्यालयको सल्लाहकार टिम सफल चुस्त विश्वासी भएन । अहङ्कार र दम्भ ओली नेतृत्वको आजको परिचय होइन । त्यही कारण राजतन्त्रसँग भिड्नु कुहिनाले पहरोसँग जुट्नुसरह हो । बयल गाडा चढेर अमेरिका पुगिँदैन भन्ने यथास्थितिवादका प्रसङ्ग ओलीको मुखबाट आएका थिए, अहिले जस्तो प्रधानमन्त्री त्यस्तै छन्, त्यो स्वाभाविक हो । ओली नेतृत्व एकल दम्भले ग्रस्त छ, अर्को गुटबन्दीमा व्यस्त छ, त्यसपछिको प्रवृत्ति पार्टीको ख्याल नगरी एकलकाटे शैली प्रदर्शन । कुनै पनि मन्त्रीले एक वर्षे कार्यकालमा यो काम सफल भयो । अब देश हिजोको त्यो ढाँचामा चल्दैन । आजको शैली फरक व्यवहार सरल भन्ने देखाएएनन् । जब पार्टीलाई बाइपास गरिन्छ, त्यो बखत हुने यस्तै हो । पुराना कथाले पेट भर्दैन । प्रधानमन्त्रीको काममा सहयोगीका रूपमा सरकारी तलब सुविधा लिएर राखिएका नोकर–चाकरहरूले स्तुति गाएर अलमल्याएका छन्, जसले मुलुकको विसङ्गति हटाउन सिन्को भाँच्ने प्रयास गरेनन् । सबै मान्छेले सत्ता खोज्दैन । आफ्ना दैनिक जीवनका काममा सरकारको नीति र कार्यक्रम सरल होस् भन्छ । तर वर्तमान सरकार जनताबाट धुत्ने तर केही नदिने भयो । कम्युनिस्ट पार्टी जब आदर्श, सिद्धान्त र नीतिगत काम छाड्छ, त्यो बेला पार्टी नेतृत्वको मान–मर्यादा कार्यकर्ताले राख्दैनन् । एक पटक सांसद भयो, राजधानीमा रमायो, अर्को पटक सांसदबाट मन्त्री भयो, भ्रष्ट बन्यो, ठूलो घर धेरै जग्गा गाडी जस्ता विलासी जीवनतर्फ केन्द्रित भयो । चुनाव जित्छ, मोफसलबाट तर सम्झना मोफसलतर्फ छैन । आफ्नैबाट सन्तुष्टि लिन्छ । मौका पर्दा आफ्नै कुलकुटुम्बको हितमा बरु बद्नाम बन्न रुचाउँछ । आफ्नो निर्वाचन क्षेत्रको जनता, कार्यकर्तालाई चिन्दैन । यस्तो आपराधिक संस्कृतिले नेकपालाई कहाँ पु¥यायो ? सरकारमा नेकपा रहेको एक वषैमै उत्पन्न जनआक्रोश र सङ्घर्षले देखाउँछ । सिकाउनेले आफूसँग विद्रोह गर्नेले हिजो आफूले जस्तो व्यवहार गरियो, त्यस्तै कर्मकाण्ड गर्छ भन्ने सोचेका भए यो एक वर्षमा सरकारका उडन्ते योजनाले कान टट्टाउँदैनथ्यो ।
प्रधानमन्त्री इमानदार भए पो अरू मन्त्री जवाफदेही हुन्छन् । सम्पन्न हुन वर्षौं लाग्ने हावाको बिजुली अरूको आर्थिक लगानीको भरमा रेल र पानीजहाजको हल्ला त गर्छ । तर रू. ४ अर्ब ३५ करोड ५६ लाख भ्रष्टाचार भएको रेकर्ड त वायु सेवा निगमको वाइड बडी प्रकरणले देखाएको बेला डुक्रन्छ । संसदीय सर्वोच्चतालाई स्वीकार्ने भन्नु तर संसद्को गरिमा नेकपाले नराख्नु जस्तो लज्जित काम कसरी गरियो होला ? प्रधानमन्त्रीले यस्तो विषयलाई ध्यान दिन नसकेर नै आलोचित भएका हुन् । तर उनी र उनको टिम जनता र राष्ट्रप्रति सचेत छैन । देशमा फेरि विद्रोही र सत्तासीनबीचमा द्वन्द्व चर्किंदैछ । हिजो एकजुट छँदा नेत्रविक्रम चन्ददेखि रामबहादुर थापासम्मले तत्कालीन माओवादीमाथि संसद्वादी संसदीय दल दलमा फसेर जनयुद्धमाथि ध्वस्त गरेको एक भ्रष्ट आरोप लगाए । माओवादीले आफ्नो कार्यकाललाई इज्जतमा राख्न नसक्दा काँग्रेस र एमालेले खेदो खने । प्रवृत्ति हटेको छैन । मान्छे तीनै छन् । अहिले पार्टी एकता त गरिएको छ तर अपनत्व छैन । पार्टीमा अपनत्व नहुँदाको परिणाम धमाधम आउँदैछ । सरकारको भण्डाफोर नेकाँले भन्दा नेकपाको नेताले नै गरेका छन् । परिवर्तन मुखले भनेको छ । संस्कार दलाली र गुलामीलाई प्रोत्साहन दिनमा व्यस्त छ । जनताको सर्वोपरितालाई लुच्छ्ने, कोपर्ने जस्ता काम भएका छन् । अझै सूचनामाथि अङ्कुश लगाइँदैछ । यथार्थमा गणतन्त्रका पण्डित पुरोहितहरूको ध्यान आफू कसरी राष्ट्र लुटेर खल्ती भर्ने कसरी महँगा गाडी चढ्ने कसरी गरीब निमुखाको सेवा शुल्कमा आफू रजाइँ गर्ने भन्नेमा केन्द्रित छ । जहाँ पनि लुटको चमत्कार जागेको छ । अस्पतालमा समेत गरीबले स्थान पाउँदैन । ठूलाबडाका लागि डाक्टरहरू तयार छन्, आवश्यक पर्दा भेटिन्छ । गरीबको भलो कहाँ छ ? न त कृषिको क्षेत्रमा सरकार गम्भीर छ न त शिक्षा, स्वास्थ्य र रोजगारीमा गम्भीर छ । जनताले प्रत्यक्ष देख्ने भनेकै व्यवहारिक पक्ष हो । जहाँ गयो, त्यहाँ घूस नदिई काम हुँदैन । यस विषयमा संसद् बैठकमा सांसद महोदयहरू समेत गम्भीर देखिएनन् । संसदीय गरिमा ध्वस्त भएकै कारण जनताको चासो राजनीतिमा नरहेको हो । जुन जोगी आए पनि कानै चिरेका भन्ने पुरानो उखान अहिले स्थापित छ । हिजो राजा थिए, त्यसको पछि सेना, प्रहरी, व्यूरोक्रेसी र पञ्च थिए । प्रवृत्ति त्यही हो । आज राजाको दरबार धेरै छन् । प्रत्येक दलका अध्यक्ष र उनीहरूको गुटलाई कानुन लाग्दैन । अपराध माफ हुन्छ । प्रहरीले नेताका कर्तुत थाहा पाएर पनि कारबाही गर्न सक्दैन । देशलाई सूचना र सञ्चारको युगबाट अन्धकारको रछ्यानमा धकेल्ने योजनामा टेकेर प्रेसमाथि प्रतिबन्ध लगाउने खेल जारी छ । त्यो पनि नेकापको नाममा । जनताको भावनामाथि खेलबाड गरेर नै सडकको स्टक्चर भद्रगोल छ । पानीको हाहाकार उस्तै छ । आफ्नै देशको उत्पादनको संरक्षण नगर्ने सरकारले जनमुखी भनाउन फोस्रो भाषण गरेकै छ । सरकारको झूट पुलिन्दा प्रचार गर्न हप्ताको एक दिने प्रचार कटवाल प्रथाबाट जारी छ । सरकारले जनपक्षीय काम गरेको भए पो एक हप्ते सूचनाको लागि प्रेस झुम्मिन्छ । काम मन्त्रीका भाषण र भ्रष्टाचारमा केन्द्रित छन् । पार्टीको कमान्डमा सरकार छैन । पार्टी एकतालाई गुटबन्दीले घेरेको छ । जनअपेक्षित देखिने काम यही सरकारले घोषणा गरेर नयाँ योनजाका साथ बढाएर सम्पन्न हुने बेलासम्म देश लथालिङ्ग छ । सरकारले जस पाउँछ कसरी ?