//दुग्ध व्यवसायमा विदेशी चलखेल

दुग्ध व्यवसायमा विदेशी चलखेल

रामचन्द्र उपे्रती

मानिसको खाद्य संरचनाभित्र डेरी (दूध र दूधजन्य परिकार) को महत्व परापूर्वकालदेखि नै रहँदै आएको कुरा सर्ववितितै छ । नेपाली समाजमा यसको धार्मिक महत्वसमेत रहेको छ । स्वस्थ रहन बच्चादेखि वृद्धवृद्धा र रोगी बिरामीले समेत दूधको सेवन गर्ने गरिन्छ । मानिसले खेती गर्नुपूर्व नै पशुपालन गरेको, पशुबाट प्राप्त हुने मासु र दूधको सेवन गर्ने गरेको लामो परम्परा रहेको छ । नेपाली समाजमा घर–घरमा गाईभैंसी पालेर दूधको उत्पादन गर्ने र दूध र दुग्धजन्य विभिन्न परिकार घरमै बनाएर प्रयोग गर्ने चलन परापूर्वकालदेखि नै बलवान् छ । यद्यपि पछिल्लो २०–२५ वर्षमा नेपाली समाजको जीवनशैलीमा ठूलो उथल–पुथल आएको छ । धेरै मानिसहरू गाउँबाट सहरमा बसाइँ–सराइ गरिरहेका छन् । धेरै ठूलो सङ्ख्यामा युवा विदेसिएका पनि छन् । यसको प्रभाव अन्य क्षेत्रमा जस्तै डेरी व्यवसाय र डेरी उद्योगमा पनि पर्ने नै भयो ।
गाउँमा मानिसले गाईभैंसी पालेर आफैँ दूध उत्पादन गर्थे । खेतीपातीका लागि पशुपालन अनिवार्य थियो । तर अहिले मानिसहरूको सहरको बसाइले गर्दा घर–घरमा गाईभैंसी पाल्ने कुरा असान्दर्भिक भएको छ । खेतीपातीमा औजार उपकरणको बढ्दो प्रयोगका कारण पशुपालन पातलिँदै गएको छ । पहिला पशुपालन निर्वाहको कुरा मात्रै थियो भने अब यो व्यवसाय बन्दै गएको छ । निर्वाहमा लागत मूल्य र उत्पादन मूल्यको हिसाब हँुदैन तर व्यवसायमा यो अनिवार्य बन्छ ।
गाउँबाट सहर बसाइँ सरेकाले पनि दूध र दुग्धजन्य वस्तुको सेवन गर्ने परम्परालाई सँगै लिएर सहर आएका छन् । गाउँमा दुःखले दूधको उत्पादन हुँदैछ । तर गाउँका उत्पादकले सहरका उपभोक्तासम्म सोभैm पु¥याएर सेवा दिन असम्भव प्रायः हुन्छ । त्यसैले त्यहाँ विभिन्न तहका बिचौलियाको जन्म भएको छ । गाउँबाट दूध सङ्कलन गरेर बजारका खुद्रा दूध व्यवसायी र घर–घरमा पु¥याएर बेच्ने र जीविका चलाउने ठूलै समूह सक्रिय छ । उता, सहरमा पनि फ्रिज डेरी गल्ली–गल्लीमा खुलेका छन् । यस्ता डेरी र घर–घरमा पु¥याएर दूध बेच्ने समूहका कारण गुणस्तर जस्तो भए पनि सहरमा बस्नेले सहजै दूध र दुग्धजन्य वस्तुको सेवन गर्न पाएका छन् ।
डोकामा दूध ः भाग्यमा छ भन्दैमा डोकामा दूध दोएर अडिँदैन भनेको सुनेको थिएँ । तर अहिले किसानद्वारा गोठमा दोएको दूध पहँेला, हरिया जर्किनमा भरिएर गाउँबाट सहर आइपुग्छ र सहरमा कुच्चिएका प्लास्टिकका बोतलमा भरिएर डोको, थुन्चे र झोलामा पाँजिएर मानिसका घर–घरमा पुग्छ । त्यो अवधिमा खाद्य सुरक्षाको सामान्य ख्यालसमेत नगरेको अवस्था छ । यो अवस्थाले मानिसको स्वास्थ्यमा गम्भीर असर पु¥याइरहेको छ । त्यसैले औषधि पसल, अस्पताल र डाक्टर थपिनुपरेको छ । उता मासु, तरकारी, फलफूल, पोकाका खानेकुरा सबैले अस्पताल थप्ने कुरालाई सघाइरहेकै छन् । कच्चा दूध प्रशोधन गरेर विभिन्न परिकार र प्रशोधित दूध बनाउने र सहरको उपभोक्तासम्म पु¥याउने आधुनिक उद्योग खुल्न थालेको पनि धेरै भयो । तिनले विगतमा केही ठूला सहरमा मात्र सेवा दिएको भए पनि अब यसको आवश्यकताको विस्तार तीव्र गतिमा हुँदैछ । उद्योगको आवश्यकता अनुसारको दूध सङ्कलन गर्ने गरी दूध चिस्यान केन्द्रको विस्तार पनि भइरहेको छ । सहरको दूधको माग धान्न गाउँमा व्यवसायिक गाईभैंसी पालनमा तीव्रता आएको छ । सरकारका कर्मचारीले पनि धेर–थोर कमिसन लिएर किसानलाई सघाउने गरेका छन् । जे होस्, गाउँमा धेर–थोर दूधको उत्पादन बढेको छ र त्यसले सहरको माग धानेको छ ।
सरकारले २०७५ असोजमा डेरी व्यवसायको बारेमा गोठदेखि ओठसम्मको एउटा मार्गचित्र कोरिएको निर्देशिका जारी गरेको छ । यसलाई छ महिनाको समय दिएर लागू गर्ने भनियो । लागू कसरी हुन्छ, त्यो पर्खाइको विषय भएको छ । यदि लागू भयो भने उपभोक्ताको स्वास्थ्यमा थोरै भए पनि न्याय हुने देखिन्छ । निर्देशिकामा दूध उत्पादक किसानदेखि सुरु भएर चिस्यान केन्द्र, उद्योग र खुद्रा बिक्रेता हुँदै उपभोक्ताको भान्सामा पुग्नुपर्ने नियम छ । खुला दूधको व्यापार गर्ने हजारौँ मानिसले यो नियम लागू गरेर दूध बेच्न सक्ने छैनन् । नियम नपु¥र्याई बेच्न नदिने नीति सरकारको हो । यदि यो नियम लागू भयो भने उद्योगले पनि अहिलेको जस्तो नाम मात्रको सरसफाइ र उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्ने कतिपय डेरी उद्योगको लापरवाही स्वीकार्य हुने छैन । यस्तो अवस्थामा उत्पादक किसान, दूध सङ्कलन गर्ने चिस्यान केन्द्र, प्रशोधन गर्ने उद्योग र बिक्री गर्ने व्यवसायी सबैले तोकिएको मापदण्ड पूरा गरेर मात्र उपभोक्तासम्म पुग्न पाउने छन् । यसले उपभोक्तामा विश्वास बढाउँछ, उपभोक्तालाई न्याय गर्छ । तर व्यवसायीको लागत केही मात्रामा बढाउँछ । लागत बढे पनि व्यवसायको दिगो विकासको आधार तयार हुन्छ भने उपभोक्ताले गुणस्तरहीन दूध र दुग्धजन्य परिकार पैसा तिरेर खरिद गर्नुपर्ने छैन । सुरुमा चल्दै गरेको चलन बदल्नुपर्दा, पाएको नाफा गुमाउनुपर्दा र लगानी बढाउनुपर्ने जस्ता कारण कतिपयलाई यो स्वीकार गर्न गाह्रो लागिरहेको छ । नयाँ व्यवस्थाअनुसार उपभोक्ताले भान्सामै पाएको दूध पसलमा गएर खरिद गर्नुपर्ने जस्ता व्यवस्थाका कारण केही असहज लाग्ने भए पनि विस्तारै यो सबै व्यवस्थित बन्दै जान्छ र मानिसले नयाँ चलनलाई अपनाउने छन् । किनकि नयाँ चलनले उत्पादकदेखि उपभोक्तासम्म सबैलाई न्याय गर्छ । सबैभन्दा बढी उपभोक्तालाई न्याय गर्छ । यसको प्रभाव विस्तारै उपभोक्ताको विश्वास बढ्छ । विश्वासले खपत बढ्छ । खपतले उत्पादन बढाउन माग गर्छ । यसरी हेर्दा अर्को ५–७ वर्षमा नेपालमा डेरीको बजार कम्तीमा पनि दोब्बरले वृद्धि हुनेछ ।
यो माग धान्न उत्पादक किसान र प्रशोधन गर्ने उद्योगले क्षमता विस्तार गर्नुपर्छ । यसमा सरकारले सघाउनुपर्छ । यसो हुन सक्दा स्वदेशी उत्पादनले बजार भेट्टाउने, धेरैले रोजगारी पाउने, सीप क्षमताको विकास हुने र सबैभन्दा महत्वको कुरा उपभोक्ताको स्वास्थ्यमा सकारात्मक सुधार हुने हुन्छ । आमजनताको पैसा औषधि, डाक्टर र अस्पतालमा कम खर्च हुन्छ र आम्दानी बढ्छ ।
सरकारको नजिकमा भएका एकथरी मानिस यो तमाम सम्भावनालाई देखेर यो माग धान्न नेपाली व्यवसायीमा सामथ्र्य छैन, त्यसैले विदेशीलाई यो व्यवसायमा ल्याउनुपर्छ भनेर लबिङ गरिरहेका छन् । खासगरीकन भारतीय ठूला डेरी उद्योगले यसमा चासो देखाएको अवस्था छ । उनीहरू नेपाली बजारको यो सम्भावनालाई आफ्नो पोल्टामा पार्न चाहन्छन् । यो उनीहरूको धर्म हो । नेपालमा विदेशी लगानी ल्याउने धुनमा डेरी उद्योगमा विदेशी लगानी ल्याउन कसरत हुन थालेको छ । संसद्मा पेस गर्न ऐनको मस्यौदा बन्न थालेको छ । उच्च पदस्थहरूसँग यस्ता विदेशी व्यवसायीको उठ–बस बाक्लिएको छ ।
गत वर्ष अलि बढी दूध उत्पादन भएको र त्यो सबै खपत नभएर किसानले दूध सडकमा पोखेको कुरालाई आधार बनाएर किसानको समस्या समाधान गर्न नेपाली डेरी उद्योगी सक्षम भएनन् भन्ने गरिन्छ । त्यसै गरी बजारमा गुणस्तरीय डेरीजन्य वस्तु उपलब्ध हुन सकेन पनि भन्ने गरिन्छ । केही ठूला तारे होटल र महलहरूमा विदेशबाट डेरीजन्य वस्तु आयात पनि हुने गरेका छन् ।
धूलो दूध, बटर, घ्यू, चकलेट, आइक्रिम, चिज, केन्डी मिल्क, लेक्टोज आदि अहिले पनि आइरहेको छ । देशको उत्पादनलाई बढावा दिएर, उद्योगलाई सक्षम बनाएर आयातलाई निरुत्साहित गर्नुपर्छ । यदि विदेशी लगानी डेरी व्यवसायमा ल्याउने हो भने त्यो निकै खतरनाक सावित हुनेछ । पहिलो कुरा, यहाँ भएका डेरी उद्योगले तिनीहरूसँग प्रतिस्पर्धा गर्ने पर्याप्त क्षमताको विकास गरिनसकेकाले टिक्न मुस्किल पर्छ र विदेशीको एकाधिकार बढ्दै जान्छ । राष्टिय पुँजी धराशयी बन्छ । दोस्रो र महत्वपूर्ण कुरा, विदेशीले यहाँ उद्योग चलाउन चाहिने कच्चा पदार्थ अर्थात् दूधको आपूर्ति नेपालमा हुन नसके विदेशबाट ल्याउन सक्ने भन्ने प्रावधान राख्न लगाउने छन् । अहिले राखेनन् भने पनि पछि थप्न लाउने छन् । किनकि उनीहरूलाई यहाँ उद्योग चलाएर यहाँका उपभोक्ताले तिर्ने पैसामा आफ्नो नाफाको खोजी गर्ने हो । यहाँका किसाले दूध उत्पादन गरून् वा नगरून्, त्यससँग खासै सरोकार हुँदैन । उद्योग चलाउन जहाँ कच्चा पदार्थ सस्तो हुन्छ, उनीहरू त्यहीँबाट ल्याएर चलाउने हुन् ।
भारतीय पुँजी डेरी उद्योगमा आउँदा उनीहरूले कच्चा दूध भारतबाटै ल्याउन बल गर्ने छन् किनकि नेपालमा भन्दा भारतमा दूधको उत्पादन लागत निकै न्यून छ । त्यहाँ डेरी उद्योगको लामो इतिहास छ । विधि, प्रविधि, सरकारी सहयोग आदिका कारण भारतीय किसानले नेपाली किसानले भन्दा सस्तोका कच्चा दूध उत्पादन गर्ने गरेका छन् । यस्तो अवस्थामा नेपाली किसानको दूध विभिन्न बहानामा नकिनेर वा अभाव सिर्जना गराएर उद्योग चलाउन दूध ल्याउनै पर्ने भयो, अनुमति देऊ भनेर भारतीय कच्चा दूध नेपाल भित्रिने छ । यस्तो अवस्थामा भारतीय कच्चा दूध मात्रै होइन, कतिपय प्रोडक्ट नै पनि आजको भन्दा धेरै भारतबाटै आउँछ । किनकि यताभन्दा उतै उत्पादन गर्दा सस्तो पर्छ । यहाँको बजारमा उनीहरूको ब्रान्डले पहिचान बनाइसकेको हुन्छ । यहाँ भएको रोजगारीसमेत गुम्ने अवस्था आउँछ । विशेष गरी कृषिमा विदेशी लगानी ल्याउनुभन्दा विदेशी प्रविधि, सीप, ज्ञान, केही समयका लागि विशेषज्ञ ल्याएर यहीको पुँजी उत्पादनमा लगाउनुपर्छ । धेरैले रोजगारी पाउन सक्ने, सजिलै बजारमा पहुँच राख्न सकिने, उपभोक्ताको अभाव नहुने, थोरै सिकेर धेरै गर्न सकिने व्यवसाय भनेको कृषि व्यवसाय हो । कृषिमा आज हामीले धेरै गर्न सकेनौँ भनेर विदेशी लगानी ल्याउने हो भने अहिले जसले कृषिमा केही गर्ने जाँगर देखाएर लगानी, समय, सीप लगाइरहेका छन्, तिनीहरू पछि हट्न बाध्य हुने छन् । अहिले केही गरौँ भन्ने उत्साह धेरै मानिसमा देखिएको छ । विशेष गरी विदेशबाट फर्किएका युवामा । हो, समस्या छन् । बिचौलियाको दबदबा छ, प्रविधिको अभावमा उत्पादन लागत बढी हुने गर्छ । समस्या छ भनेर काम नै नगर्ने हो भने हामीले कहिल्यै सिक्ने छैनौँ । कृषि उत्पादन क्रमशः बढिरहेको छ । यसको गतिलाई अझै बढाउनुपर्छ । बजार व्यवस्थित गर्नुपर्छ । गुणस्तरमा जोड दिनुपर्छ । उपभोक्तालाई पनि न्याय गर्नुपर्छ । दूध सडकमा पोखिनु, टमाटर बाटोमा मिल्काउनु, बन्दाकोभीको बारीमा डोजर लाउनु, भारतीय तरकारी बोकेका गाडी छेकिनु नराम्रो मात्रै होइन । राम्रो हुन थालेको सङ्केत पनि हो । यसलाई व्यवस्थित बनाउन सबै लागौँ । सानो समस्या देखिनेबित्तिकै कमिसनखोरको कुरा सुन्ने र आत्तिएर विदेशी लगानीका लागि जताततै ढोका खोल्नु गल्ती हुन्छ भन्ने बुझ्नु आवश्यक छ ।