‘प्रेमगीत’बाट चम्किएका प्रदीप
पछिल्ला छिमलका सर्वाधिक व्यस्त, महँगा र डिमान्डेड अभिनेता प्रदीप खड्काले आइतवारबाट जीवनको २७औँ वसन्त पार गरेका छन् । ललितपुरको कुसुन्तीमा सन् १९९२ मार्च १० मा माता सारदा खड्का र पिता टेकबहादुर खड्काको कोखबाट जन्मिएका उनले सिक्किम मनिपाल युनिभर्सिटीबाट सम्बन्धन प्राप्त लर्ड बुद्ध फाउन्डेसनबाट एमबीए सकाएका छन् । उनले मार्केटिङमा मास्टर्स गरेका हुन् । आफ्नै लगानीमा फिल्म ‘स्केप’बाट अभिनय यात्रा थालनी गरेका उनलाई सन् २०१६ मा प्रदर्शनमा आएको सुदर्शन थापा निर्देशित फिल्म ‘प्रेमगीत’ रातारात स्टार बनाएको थियो ।
नेपाली फिल्ममा भविष्य नदेखेर अस्ट्रेलिया उड्न लाग्दा उनलाई यो फिल्म हातमा परेको थियो । यो फिल्मपछि उनले आफ्नो करिअरलाई लिएर चिन्तित हुनुपर्ने अवस्था सिर्जना भएको छैन । उनलाई लिएपछि ‘फिल्म हिट हुन्छ’ भन्ने मान्यता अहिले फिल्म मेकर्समा छ । खास गरी युवा पस्ताका ढुकढुकी प्रदीपले अहिले एक फिल्मबापत ४० लाखमाथि पारिश्रमिक बुझ्ने गरेका छन् । दुई लाख पारिश्रमिक लिएर फिल्म ‘प्रेमगीत’ गरेका उनले यसैको दोस्रो पार्टमा आठ लाख पारिश्रमिक बुझे । यो फिल्मले मुनाफा कमाएको भन्दै निर्माता सन्तोष सेनले उनलाई ५० लाखको आसपास पर्ने क्रेटा गाडी गिफ्ट नै गरेका थिए । ‘लिलिबिली’ मा उनले २२ लाख बुझे भने ‘रोज’ मा २५ लाख हात पारे । चकलेटी ब्वाई प्रदीपले विभिन्न फिल्मबाट अवार्ड पनि उचालिसकेका छन् । ‘फान अवार्ड– २०७३’ मा ‘स्टार अफ द इयर’ घोषित भएका उनले ‘एलजी सिने सर्कल फिल्म अवार्ड– २०७५’ मा पपुलर नायकको अवार्ड चुमेका थिए । यस्तै, पहिलो ‘एलजी फिल्म अवार्ड’ मा फिल्म ‘प्रेमगीत’ बाट उनले अभिनेत्री पूजा शर्मासँग उत्कृष्ट जोडीको अवार्ड उचालेका छन् । उनले अहिलेसम्म कुनै फिल्मबाट उत्कृष्ट अभिनेताको अवार्ड हात पार्न भने सकेका छैनन् । एकपछि अर्को फिल्मबाट सफलताको सिँढी चढिरहेका प्रदीप फिल्म छनोटमा निकै चुजी मानिन्छन् । निर्माताहरू लाखौँ तिरेर फिल्म गराउन अगाडि–पछाडि दौडिए पनि उनी स्क्रिप्ट र टिम मन परे मात्र काम गर्न राजी हुन्छन् । वर्षमा दुई फिल्मभन्दा बढी फिल्म नगर्ने उनी पछिल्लो रिलिज फिल्म ‘रोज’ असफल भएपछि भने निर्देशक छनोटमा गम्भीर देखिन थालेका छन् । फिल्म राम्रो बन्न निर्देशक राम्रो हुनुपर्ने उनले महसुस गर्न थालेका छन् । अर्को महिना अर्थात् चैत २२ गते उनको नयाँ फिल्म ‘लभ स्टेसन’ प्रदर्शनमा आउँदैछ । यसलाई भेट्रान निर्देशक उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । यसपछि उनले हेमराज विसीको एक लभस्टोरी फिल्म गर्दैछन् । माटो सुहाउँदो फिल्म बनाउन सिपालु मानिने रामबाबु गुरुङको ‘कबड्डी– ३’ पनि उनले साइन गरिसकेको खबर प्राप्त छ । उनले उनीसँग फिल्म ‘बेला’ पनि गर्दैछन् । अर्को वर्ष उनले ‘प्रेमगीत– ३’ पनि गर्ने पक्का भइसकेको छ । ‘डिप्लोम्याटिक’ जवाफ दिन खप्पिस प्रदीप प्रायः आफ्नो बोलीका कारण भने आलोचित बन्ने गरेका छन् । अभिनेतामा अहिलेका ‘हटकेक’ अनमोल केसीका प्रतिस्पर्धी मानिने उनको फिल्म निर्माण कम्पनी प्रदीप मिडिया प्रालि छ, जसबाट ‘स्केप’ र ‘ठूलोमान्छे’ नामक फिल्म निर्माण भइसकेका छन् भने प्रदर्शनको तरखरमा रहेको फिल्म ‘लभ स्टेसन’मा पनि उनको व्यानरले सहकार्य गरेको बताइएको छ । फिल्मका कारण मात्र होइन, केही समययता उनी ‘लिलिबिली’ अभिनेत्री जसिता गुरुङसँग अफेयरमा रहेको खबरका कारण पनि चर्चामा छन् । तर यो कुरा दुवै नकार्छन् । दोस्रो पटक फिल्म ‘लभ स्टेसन’मा सहकार्य हुनुले भने यो कुरालाई थप मसला मिलेको छ । दर्शकहरू पनि प्रदीप र जसितालाई ‘रियल जोडी’ बनेको हेर्न चाहन्छन् । ‘प्रेमगीत’मा अभिनेत्री पूजा शर्मासँगको प्रदीपको पेयरिङलाई पनि निकै रुचाइएको थियो । विदेशी फिल्मका कारण स्वदेशी दर्शक नेपाली फिल्म भनेपछि नाक खुम्च्याउने गर्दछन् । नेपाली फिल्म हेर्न लायक हुँदैन भन्ने सोचाइ अझै युवा पुस्तामा व्याप्त छ । यसलाई धेरै हलसम्म प्रदीपले गलत सावित गर्ने प्रयास गरेका छन् । नेपाली फिल्म भनेपछि दूरी बनाउने युथलाई उनले ‘नेपाली फिल्म पनि स्तरीय बन्छन्’ भन्ने उदारहण पेस गर्दै आएका छन् । यस कारण पनि उनीमाथि नेपाली फिल्म क्षेत्रको ठूलो आशा र भरोसा अडिएको छ ।