//निगमको दशवर्षे रणनीति

निगमको दशवर्षे रणनीति

काठमाडौँ । नेपाल आयल निगमले दशवर्षे रणनीति बनाउने भएको छ । उच्च मनोबल र नीतिगत योजनामा अगाडि बढ्न सुरु गरेको व्यवस्थापनले ट्याङ्करमा भारतबाट तेल ओसारेर बनाउने त्यो रणनीतिको पहिलो कदम निगमको भण्डार क्षमता बढाउनु रहेको छ । सरकारले प्रदेश तहमा इन्धन डिपो बनाउन दिएको निर्देशनअनुसार खरिद गरिएको जमिनको यथार्थता भने व्यवस्थापनले सार्वजनिक गर्न सकिरहेको छैन । भारतीय आयल कर्पाेरेसनसँग वार्षिक रू. १ अर्ब ५० करोडको कारोबार गर्दै आएको नेपाल आयल निगमले ९० दिनलाई पुग्ने इन्धन भण्डारण क्षमता बढाउने तयारी गरेको हो । त्यसका लागि पोखरा, विराटनगर डिपोको स्तरोन्नति अहिलेको आवश्यकता बन्दैछ । निगमसँग हाल ७१ हजार ६२२ किलोलिटर भण्डारण क्षमता रहेको छ । नेपालमा विद्युतीय सवारी साधनको चर्चा चले पनि वर्षमा इन्धन खपत औसत १५ देखि २० प्रतिशत बढ्दो छ । निगमले काठमाडौँ, अमलेखगन्ज, विराटनगर, जनकपुर, भैरहवा, पोखरा, नेपालगन्ज, सुर्खेत र दिपायलमा भण्डारण गर्ने इन्धन ७१ हजार ६२२ किलोलिटर हो । भारतीय सीमा क्षेत्रबाट पाइप लाइनमार्फत् आपूर्ति हुने सहज स्थान रक्सौल अमलेखगन्ज हो । निगमको पाइप लाइन प्रोजेक्ट सफल हुनासाथ रक्सौल–अमलेखगन्ज ट्याङ्कर ढुवानीको खर्च घट्ने छ ।