//बारामा आँधीहुरीको बबन्डर

बारामा आँधीहुरीको बबन्डर

काठमाडौँ । बारामा अचानक आएको आँधीहुरीसँगै व्यापक जनधनको क्षति भएपछि सहयोगको अपिल गरिएको छ । सामाजिक सञ्जालमार्फत्, कलाकार, नेता, शिक्षक, पत्रकार, विद्यार्थी सङ्गठन, सर्वसाधारणसम्मले बाराबासीको दुःखमा साथ दिनु जरुरी रहेको भन्दै सहयोगको अपिल गरेका हुन् । आइतवार साँझ आएको हावाहुरीका कारण बारामा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने पर्सामा एक जनाको मृत्यु भएको छ । घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गर्दै उद्दार र राहतमा कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
गृहमन्त्रीको निर्देशन
गृहमन्त्री रामबहादुर थापाले आइतवार साँझ बारा र पर्सामा आएको भीषण हावाहुरीले ठूलो जनधनको क्षति पु¥याएको भन्दै दुःख प्रकट गरेका छन् । गृह मन्त्रालयमा हालसम्म प्राप्त विवरणअनुसार २७ जनाको मृत्यु तथा करिब सात सय घाइते भएको भन्दै मन्त्री थापाले घटनालगत्तै राहत तथा उद्धारमा सुरक्षा निकाय परिचालन गरिएको जानकारी दिए । सोमवार बिहान एक सूचनामार्फत् मन्त्री थापाले राहत, उद्धार तथा उपचारमा गम्भीर हुन तथा कुनै कमी हुन नदिन मातहतका निकायलाई निर्देशन दिएको समेत उल्लेख गरेका छन । उनले घटनामा परी मृत्युु भएकामा श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासहित मृतक परिवारप्रति समवेदना प्रकट गरेका छन ।
मृतकका परिवारलाई तीन लाख
प्रदेश दुई सरकारले आइतवार राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख प्रकट गरेको छ । सोमवार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले तत्कालीन राहतस्वरूप मृतकका परिवारलाई तीन लाख रूपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । हावाहुरीमा परी ३१ जनाको ज्यान गएको छ भने पाँच सय बढी घाइते भएका छन् । यस्तै, बैठकले प्राकृतिक विपत्तिमा परेर घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने र घरबार गुमेकाहरूको बासस्थानका लागि सरकारले पहल गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले हावाहुरीको चपेटामा परेकाहरूको उद्धार, राहत तथा पुनस्र्थापनाको कार्यमा प्रदेश सरकारले आफ्नो सम्पूर्ण शक्ति परिचालन गर्ने बताएका छन् । स्वास्थ्य सेवा शिविर टोली र राहत सामग्री लिएर मुख्यमन्त्रीसहित अन्य मन्त्री घटनास्थलतर्फ गएका थिए ।
घटनास्थलमा प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओली पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर हावाहुरी प्रभावित जिल्ला बारा गएका छन् । हावाहुरीबाट ठूलो मात्रामा धनजनको क्षति भएपछि प्रधानमन्त्री बारा गएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार प्रधानमन्त्री ओली सोमवार बिहान साढे १० बजेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत् भद्रपुरबाट बारा गएका हुन् । प्रधानमन्त्री ओली आइतवार झापा र मोरङका कार्यक्रममा सहभागी हुन काठमाडौँबाट त्यसतर्फ प्रस्थान गरेका थिए । सोमवार उनी झापाका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम थियो । तर आइतवार आँधीले बारा र पर्सामा ठूलो जनधनको क्षति पु¥याएपछि प्रधानमन्त्री पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेर प्रभावित क्षेत्र गएका हुन् ।
उपचारका लागि रगत अभाव
बारा र पर्सामा आएको हावाहुरीका कारण घाइते भएकाहरूको उपचारका लागि रगत अभाव भएपछि नेपाली सेना र प्रहरी जवानहरूले रक्तदान गर्न थालेका छन् । रातभरि उद्धारमा खटिएका सेना र प्रहरी जवानले घाइतेहरूका लागि रक्तदान गरेका हुन् । आइतवार साँझ आएको भीषण हावाहुरीले अहिलेसम्म बारामा २७ र पर्सामा गरी २८ जनाको ज्यान गएको छ भने चार सय जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरूको उद्धारको काम चलिरहेको छ । मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । प्रदेश नम्बर २ सरकारले आइतावार रातिदेखि नै घाइतेहरूको उद्धार गर्न प्रभावित क्षेत्रमा आफ्नो मातहतको उद्धार टोली पठाइसकिएको मन्त्री यादवले जानकारी दिए । एक्कासि तीव्र गतिको हावा चलेकाले सर्वसाधारणको भागदौड मच्चिएको थियो । कतिपय घरमै बसेका व्यक्तिको समेत घर भत्किएर मृत्यु भएको प्रहरीले जनाएको छ । तराईका अन्य जिल्लामा पनि हावाहुरीबाट सर्वसाधारण प्रभावित भए पनि ठूलो क्षति नभएको प्रहरीले जनाएको छ ।
पूर्वराजाद्वारा दुःख व्यक्त
पूर्वराजा ज्ञानेन्द्र शाहले आइतवार राति हावाहुरीबाट पर्सा र बारामा जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् । सोमवार पूर्वराजाले एक समवेदना सन्देश जारी गर्दै आइतवार साँझ आएको हावाहुरीबाट भएको जनधनको क्षति भएको दुखद खबरले स्तब्ध भएको बताएका छन् । उनले सन्देशमा भनेका छन्– ‘प्राकृतिक विपदको घडीमा दिवङ्गत आत्माप्रति श्रद्धाभाव राख्दै पीडितजनहरूमा समवेदना प्रकट गर्दछु । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछु ।’
राहत र उद्दारमा खटिन देउवाको निर्देशन
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बारा र पर्सालगायतका तराईका जिल्लामा भएको भीषण हावाहुरीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आफ्ना कार्यकर्तालाई राहत र उद्दारमा खटिन निर्देशन दिएका छन् । सोमवार बिहान सामाजिक सञ्जालमार्फत् सभापित देउवाले बारा र पर्सालगायतका क्षेत्रमा आएको प्राकृतिक विपत्तिमा उद्दार र राहतमा उत्रिन कार्यकर्ताहरूलाई निर्देशन गरेका हुन् । ‘बारा र पर्सालगायत तराईका विभिन्न क्षेत्रमा आएको भीषण हावाहुरीका कारण ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । घाइतेहरूको उपचार तदारुकताका साथ गर्न सरकारलाई आग्रह गर्दछु । साथै, नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूलाई उद्दार र राहतमा खटिन निर्देशन गर्दछु’– देउवाले सामाजिक सञ्जालमा लेखेका छन् । आइतवार रातिको हावाहुरीका कारण त्यस क्षेत्रमा ३१ भन्दा बढीले ज्यान गुमाइसकेका छन् भने चार सयभन्दा बढी घाइते भएका छन् ।