//सीके आएपछि क्षेत्रीय दलहरू झस्किए

सीके आएपछि क्षेत्रीय दलहरू झस्किए

होला त राजपा र फोरमको एकता ?

काठमाडौँ । सरकारसँग सम्झौता गरेको १५ दिन नबित्दै सीके राउतले मधेसका २२ जिल्लाका प्रतिनिधि सहभागी गराएर परिषद् बैठकबाट जनमत पार्टी खडा गरेपछि मधेसलाई आधार बनाएका सङ्घीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच पार्टी एकता गर्ने बाध्यता खडा भएको छ । सत्तालाई प्राथमिकता बनाएका सत्तामा नरहँदा चर्का कुरा, सत्ता पाएपछि चुपचाप कमाइमा लाग्दै आएका दुई दलबीच पार्टी एकताको बाध्यतामा सीके राउत नै देखिएका हुन् । चुनावमा कार्यगत एकता भए पनि यिनीहरूले पार्टी एकतालाई महत्व दिएका थिएनन् । फोरम र राजपालाई मधेसकेन्द्रित क्षेत्रीयता बढाउनु थियो । पहाडी क्षेत्रमा फोरम र राजपाको सङ्गठन थिएन । न त सीकेको जनमत पार्टीको रहेको छ । राउतले स्वतन्त्र मधेसको हङ्गामा चलाए । देश टुक्र्याउने योजना बनाए । छुट्टै झन्डा छुट्टै राष्ट्रिय गान, छुट्टै सेना खडा गर्ने पार्टीको भूमिगत कार्ययोजना बनाए । उनलाई नेपालमा विखण्डन ल्याउने गरी लगानी गर्ने युरोपेली युनियन र पश्चिमा विखण्डनकारीहरू थिए । देशबाट मधेस टुक्र्याउने धम्की दिएर मुलुकमा नाकाबन्दी गरी भारतीय खान्की चलाएका महन्थ ठाकुर र राजेन्द्र महतो जस्ता अङ्गीकृतहरूले चलाएको पृथकतावादी सोचले सीके राउतहरू उत्पादन भएका हुन् । राष्ट्रिय अखण्डता र सार्वभौमिकतामाथि प्रहार गर्न मधेसका मुखियाहरू पछि पर्दैनन् ।
सीके पनि त्यस्ता मुखियाहरू भन्दा पृथक रूपमा देखिएनन् । राजकाज र राज्य विप्लवको मुद्दामा जेल पर्दा सीकेका गतिविधि ठप्प भए । राउत आतङ्क खडा गरेर युवाहरूलाई हतियारको तालिम दिलाए । तर आफ्नो अभावमा सङ्गठन अगाडि बढाउने गरी उत्तराधिकारी खडा गर्न भ्याएनन् । त्यही कारण उनको गतिविधि ठप्प भयो । जेल बसाइले उनलाई शान्तिवार्तामा आउन बाध्य बनायो । सीकेले जब परिषद् भेला गरी शान्तिपूर्ण राजनीतिक धारमा आएको दाबी गरे, त्यसले राजपा र फोरमलाई पार्टी एकता प्रक्रियामा जान बाध्य बनायो । उनीहरू मधेस योजनामा फरक छैन, नेपालीभन्दा भारतीयलाई नागरिकता दिने लक्ष्य छ ।
नेपालमा बृहत् वाममोर्चामार्फत् चुनावमा संयुक्त उम्मेदवारी दिएर नेकपाको संसद्मा बहुमत भयो । नेपाली काँग्रेससँग राजपाका घटकहरूको मेल खान्थ्यो । राप्रपा नामका पूर्वपञ्चहरूको एकतालाई समेत बाध्यतामा पार्ने गरी मधेस एकीकृत पार्टी अभियान चलेको छ । संविधान सभाको समयमा देखिएको विकृतिजन्य सत्ता खेलको अन्त्य संविधान जारी भएपछि भयो । अहिले कम्युनिस्टहरूको बलियो शक्ति नेकपा खडा छ । नेपाली काँग्रेसको वर्गीय चरित्र पूर्वपञ्चहरूसँग मिल्छ । त्यही कारण पञ्च र काँग्रेसबीच चुनावमा तालमेल थियो । पञ्चहरू ध्वस्त भए । पञ्चहरू हिन्दू धर्म र संवैधानिक राजतन्त्रको वकालत गणतन्त्रात्मक व्यवस्थामा अहिले खोज्दैछन् । जब कि सङ्घीयता र गणतन्त्रले राजतन्त्र स्वीकार्दैन । पञ्चहरू राजतन्त्रलाई स्पेस खोज्दैछन् । मधेसमा सीके राउतको सङ्गठन बढ्ने भनेको राजपा र फोरम कमजोर हुनु हो । राउतका राजनीतिक गतिविधि स्पष्ट छैनन् । तर फोरम र राजपाका घटकहरू संसदीय अभ्यासका ११ वर्षको चलखेल गरेका हुन् । धेरै व्यक्ति सङ्गठित एकता गर्नुअगाडि संसदीय मोर्चामा रहेर तत्कालीन नेकपा एमाले र नेपाली काँग्रेसबाट सक्रिय थिए । संविधान सभाको निर्वाचन घोषणा हुनासाथ काँग्रेस–एमालेप्रति विमति जनाउँदै खडा भएका क्षेत्रीय दलहरूमा सङ्गठित भएकाहरू नै पद र कुर्सीका लागि विभाजित हुँदै अहिले एकीकृत सङ्गठनमा समेटिएका छन् । तर मुलुकको समृद्धि र विकासमा चीनको लक्षित घोषणा छैन ।
राउतलाई राज्यले नै मधेसमा स्थापित गरेको आशङ्कामा राजपा भूमिगत भयो । राजपाले सरकारलाई दिएको समर्थन फिर्ता गर्नु र सीके राउत सरकारबीच वार्ता भएर ११ बुँदे सम्झौता हुनु आफैँमा संयोग थियो । तर मधेसीमा शङ्का गरे । सत्तामा रहेको फोरम र प्रतिपक्ष बनेको राजपा मधेसको मामिलामा एउटै मुद्दामा देखिए पनि पद विभाजन र एकले अर्काको अस्तित्वप्रति शङ्का गर्ने शैली हटाएका छैनन् । राष्ट्रिय जनता पार्टी यसको नमुना हो । जुन पार्टी बन्दा साना–साना छ घटक थिए । उनीहरूले आफूले पाउने सेवा–सुविधामा नेकपाका वर्तमान नेताहरूले जस्तै आफ्नै परिवारभन्दा बाहिर देखेनन् । राजपाकै नेतृत्वमा छ जनाको अध्यक्ष मण्डल छ । हरेक दुई–दुई महिनामा अध्यक्ष फेरिन्छन् । यस्तो सङ्कीर्णतामा सीके राउत अट्ने स्थिति त थिएन नै, अब उपेन्द्र यादव र अशोक राई जस्ता वाम पृष्ठभूमिका अनुहारहरू काँग्रेस र पूर्वपञ्चरूपी राजपाको सङ्कीर्ण घेरामा कसरी अटाउलान् ?