//आन्तरिक लडाइँले काँग्रेस शिथिल

आन्तरिक लडाइँले काँग्रेस शिथिल

काठमाडौँ । नेपाली काँग्रेसको कलह हटेन । १४औँ महाधिवेशनका निम्ति पूर्ण तयारी गर्न नेताहरू देश दौडाहामा छन् । संसद्को प्रमुख प्रतिपक्षी दलको शिथिलताले सरकार छाडा भएको छ । संसद्मा सरकारलाई नियन्त्रणमा ल्याउने प्रमुख प्रतिपक्षले हो । तर काँग्रेस आफैँभित्रको अन्योलता र लडाइँमा केन्द्रित छ । बहुमतको आडमा महासमितिको निर्णय उल्ट्याएको दाबी गरेका ५६ जिल्लाका सभापतिहरू समेत विभाजित भएका छन् । शनिवार राखिएको केन्द्रीय समिति बैठक पनि अनिश्चितकालका लागि स्थगित भएको छ । काँग्रेसले विपक्षीको रूपमा संसद्मा उपस्थित हुँदा सरकारका गलत कामको प्रतिवाद गर्न सकेन । अन्तरपार्टी कलहमा रमाएका नेताले गुटबन्दीको अन्त्य गरेनन् । बरु गुटबन्दीको टिम बन्दै गएका छन् । हिजो कोइराला र भट्टराईबीचको द्वन्द्वमा फाइदा लिने रामचन्द्र र शेरबहादुर आज आफैँ गुटको संयोजक भए । गुटबन्दा फरक यिनमा छैन । कार्यकर्ता च्याप्नेले गुटको आधारमा हो । पार्टीको अंकुराको रूपमा रहेको नेपाल विद्यार्थी सङ्घ, तरुण दलको लथालिङ्गले वर्तमान नेतृत्वले देखाएको सङ्गठनप्रतिको अवधारणा झल्कन्छ । काँग्रेस आफैँ प्रजातन्त्रवादी शक्ति हो । तर त्यो समूह प्रजातन्त्रको प्रयोग गर्ने प्रतिस्पर्धाप्रतिको महत्वमाथि खेलबाड गरेको छ । त्यसकै झल्को हो– केन्द्रीय सदस्य, महासमिति, महासमितिको बैठकका सहभागीहरू प्रतिस्पर्धाबाट आउनुपर्ने महासमितिको निर्णय उल्ट्याउने बहुमत पक्षको बहादुरी । काँग्रेसभित्र व्यक्तिका स्वार्थले जनवर्गीय सङ्गठनहरूको अस्तित्वलाई मास्ने प्रयास गरेको छ । कम्युनिस्ट पार्टीको एकता प्रक्रिया अलपत्र परेका कारण जिल्ला, नगर र गाउँस्तरमा राजनीतिक गतिविधि छैनन् । राजनीतिक शून्यताले गतिहीन वातावरण पैदा गर्छ । जनता जागरुक भएनन् भने राष्ट्रमा अन्योल हुन्छ । गणतन्त्रमा जनता नै सर्वेसर्वा हुन् । जनताको साथबाट निर्वाचित स्थानीय तहसमेत योजनाविहीन बन्न पुग्नुको कारण दलीय निष्क्रियता हो । यतिबेला स्थानीय सरकारहरू योजनाविहीन छन् । स्थानीय सरकारलाई स्थानीय दलहरूले क्रियाशील बनाउने हो । केन्द्र र प्रदेशलाई त्यही तहले सक्रिय बनाउने हो । संयोगवश यो समयमा न त काँग्रेस केन्द्र र प्रदेशमा सशक्त छ न त सत्तापक्षको पार्टी एकता प्रक्रिया टुङ्गिएको छ । सरकारको गलत कामको प्रतिवाद गर्न काँग्रेस आफैँ सुदृढ हुनुपर्छ । काँग्रेसमा आन्तरिक प्रजातन्त्रको व्यवस्थापन गर्न कार्यकर्ता नेताको तानाशाही चरित्रको विरोध गर्दैमा कार्यकाल समाप्त गर्न बाध्य छ । शेरबहादुर र रामचन्द्रको भागबन्डामै लडाइँ हुँदा कोइराला वंश, कृष्ण सिटौला पक्षको रूपमा अर्को टिम खडा हुनु स्वाभाविक हो । एक वर्ष बाँकी छ, काँग्रेसको चौधौँ महाधिवेशन हुन । तर महाधिवेशन गरेर नेतृत्व चयन गर्न पार्टीकै हस्तक्षेपले सम्भव नहुँदा तरुण दल तीन वर्षदेखि चार जना पदाधिकारीको भरमा छ, नेविसङ्घ मंसिरदेखि अवैध छ । त्यसको सङ्गठन नै छैन । महिला सङ्घ त नेतृत्व पूर्ण छैन, किसान सङ्घ, भूपू सैनिक सङ्घ मात्र होइन, पार्टीका विभागहरूसमेत देउवाको कार्यकालमा पूर्ण नहुँदै अवधि बिताए । एक चरण देउवा–पौडेल मात्र होइनन्, डा। शशांक, डा। शेखर, प्रकाशमान, विजय गच्छदार, विमलेन्द्र निधिसमेत जिल्लाहरूको दौडधूपमा लागेकोे देखियो । आफैँ बिरामी भएपछि रोकिएका कृष्ण सिटौलाले युवा नेताहरू गगन थापा, प्रदीप पौडेल, मधु आचार्यहरूलाई परिचालन गरिरहेका छन् । देशकै प्रजातान्त्रिक शक्तिहरूको राजनीतिक क्रियाशीलतामा शिथिलता आउँछ भने त्यो अवस्थामा प्रजातन्त्र गणतन्त्र जेसुकै व्यवस्था भए पनि लोकप्रिय बन्न सक्दैन । कम्युनिस्ट पार्टी त सिद्धान्त र आदर्शबाट विचलित भएको छ भने काँग्रेस भनेको मासबेस पार्टीमा नैराश्यता जाग्नु सामान्य विषय बन्दैछ ।