//सरकारप्रति लगानीकर्ताको शङ्का !

सरकारप्रति लगानीकर्ताको शङ्का !

काठमाडौँ । सरकारका मन्त्रीहरू आफैँ भ्रष्ट छन् । जो शुद्ध छ, उसले स्थान पाउँदैन । गुटको निम्ति राज्यकोष लुटेर पैसा थुपार्नेहरूलाई चुनावमा करोडले पुग्दैन भन्ने थाहा छ । सरकारका काम र पार्टीको योजनाबीचमा तालमेल भएका छैनन् । प्रधानमन्त्री एक्लै समृद्धिको घोडा दौडाउन व्यस्त छन् । उनकै गुटका मान्छेहरूले पनि यो त अति भो भन्न थालिसके । गत साता दाता सम्मेलन भयो तर सरकारी अपेक्षा पूरा भएन । यही बेला फेरि देशमा राष्ट्रिय विपत्ति आइलाग्यो । सबै एकजुट भएर विपत्तिको सामना गर्न तयार देखिँदैछन् । राज्यकोषको अरबौँ रकम सही ठाउँमा सदुपयोग भएको भए भूकम्पपीडितले तीन वर्षसम्म उस्तै अवस्थामा रहनुपर्ने थिएन । गत साता बारा र पर्सा जिल्लामा आकस्मात आएको हावाहुरीले बिचल्ली भएका जनताको निम्ति सहयोग वर्षन थालेकोे छ । सरकारका कार्यक्रमहरू चुस्त छैनन् । प्रधानमन्त्रीले बोले झैँ काम हुने हो भने नेपाल विकसित राष्ट्र बन्न समय लाग्दैनथ्यो ।
काम झुलाउने र सताउने प्रशासनिक संयन्त्रको झन्झटिलो रवैया हटाउन सरकारले लगानी सम्मेलनअगावै वातावरण, वन, उद्योग, ऊर्जा, सडकबाट हुने समस्या हटाउने गरी एउटै बास्केटमा नियमावली खडा गरेको छ । प्रशासनिक तहबाटै सरकारले साथ नपाएको अवस्थामा लगानीकर्तालाई सहज बाटो बनाउने सरकारको तयारी छ । यस पटक सरकारसँग भन्दा निजी कम्पनीहरूसँग लगानीकर्ताहरू आकर्षित भएको देखिएको छ । चौधरी ग्रुपबाट धेरै फाइदा लिने र सरकारलाई दङ्ग्यान सफल भयो । राजनीतिक नेतृत्वप्रतिको आशङ्का अझै दाताहरूमा छ भन्दा फरक पर्दैन । प्रधानमन्त्री केपी ओलीले समृद्धि र विकासको रोइलो गाएको धेरै भयो । उनको भाषण र वागमतीको बगिरहेको प्रदूषित पानी एकै भएको छ । अध्ययनबिना ठूला परियोजनाको घोषणा गर्न प्रम सक्रिय छन् । योजनाको छनोट र आवश्यकताको ख्याल नगर्दा लगानी डुब्छ । प्रतिफल प्राप्त गर्न राज्यले गरेका लगानीको रेखदेख समयमा हुन सकेको छैन । राज्यका जिम्मेवारहरूलाई योजनाहरूप्रति चासो चिन्ता भए पो लगानी डुब्दैन । आफ्नै देशको खर्च गरेर बनाइएका देशभरका सडकहरू अधुरा किन भए ? जिम्मेवारी लिने भौतिक पूर्वाधार मन्त्रालय कस्ताको हातमा प¥यो ? अहिले देखिन्छ । विषयको ज्ञाता स्वच्छ चरित्र सिष्टमको ख्याल गर्ने योग्य व्यक्ति छनोट गर्दा प्रतिफल प्राप्त हुन्छ । यसको उदाहरण विद्युत् प्राधिकरणका कुलमान घिसिङ हुन् । यिनै घिसिङलाई मन्त्रीले मागेको घूस दिन नसक्दा एमालेकी तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले कसरी अपमान गरिन्, वर्तमान सत्ताका पादरीहरूलाई थाहा छ । राधा अन्धकारकी जननी भनेर परिचित भइन् । गुटको कारण उनी पुनः सांसद भइन् । काँग्रेसका डा. आरजु राणा, सुजाता कोइराला, एमालेबाट राधा ज्ञवाली, तत्कालीन माओवादीबाट हिसिला यमी भ्रष्टाचारमा चर्चित वीरङ्गना हुन् । यिनीहरूको सत्ता शासनमा नेपालले यिनको लुटको चर्चा पाएकै हो । वर्तमान सरकारले योजनाअनुसारको कमर्सियल प्रशासक र प्राविधिक छान्न सक्यो भने मात्र प्रमको समृद्धि र विकास सफल हुन्छ ।
बिटो खोज्दा असक्षमलाई मौका
सरकारले अझै पनि ठूला आयोजनाहरूमा नियुक्ति दिलाउने चरित्रहरूको संस्था सुधार्ने कार्यक्रमलाई महत्व दिएको छैन । जुन संस्थाको उद्देश्य जे छ, त्यो बुझेको अनुभवी क्षमतावान्लाई काम दिने हो भने देश बन्छ । तर नेतृत्व भ्रष्टाचारी हुनुभएन । प्रम ओलीले आफ्नै टिमका लुटाहाहरूको रेखदेख गरे जस्तो छैन । उनले जनतालाई आकर्षक कार्यक्रम दिन सकेनन् । पार्टीले सरकारका कार्यक्रम सम्पन्न गर्न स्थानीय तहबाट कार्यकर्ता परिचालन गर्न सक्थ्यो । तर प्रम जुन पार्टीको अध्यक्ष छन्, त्यो पार्टी नै अहिले जनताबाट टाढा छ । कार्यकर्ता भाँडिएका छन् । मन्त्रीले पार्टीको होइन, गुटको खेती गरेका छन् । सरकारले भागबन्डा लगाएर कसैलाई राजनीतिक नियुक्ति दिनै पर्ने बाध्यता छैन । प्रमुख प्रतिपक्षले संवैधानिक परिषद्को बैठकमा जानुको औचित्य देखेन । सदाचारको कुरा उठाउने संवैधानिक आयोगहरू भागबन्डामा भर्ने विगत अहिले छैन । असक्षमहरूको भीड नै नेता बिगार्ने अस्त्र बन्ने गरेको छ । यस्तो समयमा सरकारलाई राष्ट्र र जनताको सेवकका रूपमा प्रस्तुत हुने दर्जनौँ बाटा छन् । तर पार्टी र सरकारको समन्वय नहुँदा सबैतिर अलमल छ ।