//पौरखी पुत्रहरूको यस्तो फरमान

पौरखी पुत्रहरूको यस्तो फरमान

काठमाडौँ । ‘हामी मगर जातिका हौँ, हामीलाई बेइमानी गर्न आउँदैन बुझेको हो । बाहुनहरूले हामीलाई घोडा बनाएर राज गरे ।’ झट्ट सुन्दा कुनै फिल्मको डाइलग जस्तो लाग्ने यो भनाइ चाहे रक्सी भट्टीमा होस्, चाहे भीआईपी रेष्टुराँ तथा आराम घरका सञ्चालकका अगाडि होस् । उपराष्ट्रपति नन्दबहादुरका पुत्र दीपेश पुन र गृहमन्त्री रामहादुर थापाका पुत्र प्रतीक थापा प्रचण्डको विरोध गर्दै सत्ताको आडमा क्रसर उद्योग, बालुवा–गिटी सप्लाइ कार्य संयुक्तरूपमा चलाएको आरोप लाग्ने युवाहरूको रूपमा परिचित छन् । तिनीहरूले प्रचण्ड बाहुन, केपी ओली कुमाईं भन्दै गाली गर्नुको अर्थ लुट्नु हो । ‘मगर जातिलाई घोडा बनाएर बाहुनहरूले सत्ताको राज धेरै गरे, अब पालो हाम्रो हो ।’ भट्टीमा यस्तो हुङ्कार गर्दै यिनीहरूले नै आतङ्क मच्चाउँदा कारबाहीमा पर्नुको साटो बरु लाजिम्पाटको एक खाजा घरका सञ्चालक आफैँ प्रहरीको कस्टडीमा पुगेको तीतो पनि छ । दरबारमार्ग प्रहरीका डीएसपी सा’पलाई गृहमन्त्री पुत्र र उपराष्ट्रपति पुत्रको सेवक हुनै प¥यो किनकि प्रहरीले पनि पीडितलाई नै सताउँछ । यी बहादुर पुत्रहरूको आतङ्कले रेष्टुराँ, क्याफे र खाजाहरूको कति घाटा हुन्छ । उनीहरूले पीएको, खाएको पैसा त परै जाओस् । तोडफोड गरेको हिसाब राज्यले तिर्दैन । युद्ध गरेर आएका नेताहरू पथभ्रष्ट, सत्तालम्पट अत्याचारी बन्न रुचाउँदा अहिले कार्यकर्ताले धारेहात लगाउने नै भए । सम्मनित पदमा पुगेका नेताहरू कृष्णबहादुर महरा गृहमन्त्री बन्दा उनले राम्रै गरे । प्रहरीमाथिको अत्याचार हुन दिएनन् । तर छोरा एटम महराले ठमेलमा आतङ्क मच्चाउँदा जाँडले खुट्टा टेक्न नसकेको बेला प्रहरी नै हो, मन्त्री क्वार्टर पु¥याएर फर्किने । माओवादी जस्तो वर्ग विभेदको विरुद्ध आन्दोलन गर्ने पार्टीका नेताहरू सत्ता सञ्चालनमा पूर्ण असक्षम प्रमाणित भए । घुमुवा खटार प्रहरीले वेश्यावृत्तिका अखडा र जुवाघरबाट रकम उठाए झैँ अहिले मन्त्रीहरू चन्द्रदेव खनाल, विना मगर, मातृका यादव, शक्ति बस्नेत पूर्ण असफल र घुमुवा परिचालकका रूपमा व्याख्या गर्न लायक बनेका छन् । उठाउन खट्नेहरू घुमेकै छन् । काजी हुँदै प्रचण्ड खेमाका गिरिराजमणि प्रम ओलीवादी भएका छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको टिममा पुरानो माओवादीका पीएनसम्म परेनन् । टिमको पैसा उठाउने सुदर्शन पराजुली, जीवन गौतम, सुरेश न्यौपाने, प्रकाश खतिवडा, शिव फुँयाल हुन् । नारायण काजीको कम्बल ओडेर घिउ खाने आदर्शवादको अनुशरण गर्ने शिक्षामन्त्रीले सीटीईभीटीलाई ध्वस्त बनाए । उनले दीनानाथ शर्मालाई पच्छ्याएका छन् । शर्माले पनि सीटीईभीटी र निजी कलेजबाट करोडौँ कुम्ल्याएका हुन् । प्रचण्डलाई घुक्र्याएर, धम्क्याएर एबीसी टेलिभिजनका कामदार पत्रकारहरूको टाउको गनेर पैसा असुल्ने दीनानाथले छोरीहरूलाई आफ्ना सहयोगी राखेर अधिकृत र नासुको तलब आफैँ बुझ्नु अपराध थिएन । किनकि उनी संसदीय दलको नेता हुन् । माओवादी नेता देवेन्द्र पौडेलले भतिजो पीए राख्नु नौलो थिएन । त्यो बाग्लुङे नेताको परिचय हो । नेताका छोराछोरीले राजनीति गर्नै पर्र्दैन । तर उनीहरूले पहिला सरकारी सेवा र सुविधा पाउनै पर्छ भन्ने सर्वहारा सिद्धान्त हिजोदेखि बनिसक्यो र बन्दैछ । त्यो सिद्धान्त माओवादीले लागू गर्दा अरू रिसाएर हुँदैन । किनकि दीनानाथको टेलिभिजन मालिक ज्वाइँले निर्मल गुरुङको पत्रिकामा कस्ता लेख लेख्थे र शाहीकालको रक्षा गर्थे, माओवादीलाई आतङ्ककारी भन्थे, त्यो बेलाका केही पत्रिकाका पाना पल्टाउन प्रेस काउन्सिल जाने फुर्सद कसैलाई छैन । किनकि सबै धनी भइसके । हामी युद्ध गरेर आएको हौँ, सरकारी पुरस्कार, चन्दा, नियुक्ति, सहयोग जति छन्, त्यो हामीले पाउनुपर्छ । क्रान्तिकारी पत्रकार सङ्घमा भएकाहरूले जतिसुकै कष्ट गरून्, सङ्गठन बनाउन योग्य होऊन्, क्षमतावान् होऊन् वा पार्टीप्रतिको निष्ठामा रहून्, तिनले सहयोग पाउनै हुँदैन भन्ने खुकुरी चरित्रका कार्यकर्ताको विकास प्रचण्ड र बाबुराम गुटबाट ०६४ सालमा भएको हो । मन्त्रीहरू जनताको हितमा सिन्को नभाँच्ने, कार्यकर्ताको घुमुवा शैली नै अहिलेको आवश्यकता हो भन्ने ठानेपछि गृहमन्त्री पुत्र र उपराष्ट्रपति पुत्रको मगरवादले अहिले प्रहरी र सशस्त्रमा कमाल गर्नु अनौठो होइन । यी दुवै समूहको बढुवाका प्रतिस्पर्धीहरूले पौरखी पुत्रहरूको सेवा गरे, भनेको ठाउँमा सरुवा, भनेको पदमा बढुवा पाइने गरेको प्रहरी स्रोत बताउँछ । भट्टी पसलमा यिनले चलाउने लीला अध्यक्ष प्रचण्डविरुद्धको फरमान त कति छ कति ?
जब माओवादी नेतृत्वले वर्ग छाडेर डलरको खेतीमा जातको कुरा ल्यायो, त्यसपछि सुरु भयो पक्षपात । जाँड भट्टीमा हामी मगर हौँ, बेइमानी गर्दैनौँ भन्नुको कारण यही हो । दीपेश पुन र प्रतीक थापा त तत्कालीन परिवेशका प्रतिनिधि पात्र हुन् । जनयुद्ध सम्झौताबाट स्थगित भएको हो । लडाइँ जितेर माओवादी स्थापित भएको होइन । गृहमन्त्री रामबहादुर थापा र उपराष्ट्रपति नन्दकिशोर पुन हिजोका कमान्डर हुन् । उनीहरूको राज्यप्रति दायित्व छ । उनीहरू जातिवादमा इमानदार होलान् तर त्यो पदको बद्नाम कहाँ कसले कसरी गर्दैछ, त्यसको ख्याल गर्ने कि नगर्ने ? दीपेश र प्रतीकविरुद्ध कोही सुनियोजित ढङ्गले लागेको छ भने त्यसको प्रतिवाद हुनुप¥यो । पार्टीको इज्जत त यति बेला छैन । नेताहरू भ्रष्ट, तस्कर बन्दै गर्दा पार्टी भत्कन थाल्यो । उपाय नलागेपछि कम्युनिस्ट चरित्र, सिद्धान्त, आदर्श, नीति र कार्यक्रमबाट स्खलित भएको थाहा हुँदाहुँदै नेकपा एमालेसँग माओवादीको पार्टी एकता भएको हो । यो सत्य न त प्रचण्डले होइन भन्छन् न त रामबहादुर थापा र नारायणकाजीहरूले अस्वीकार गर्छन् । अहिले धन सङ्कलन पहिलो एजेन्डा बन्नुको कारण कम्युनिस्ट पार्टीमा आएको विचलन हो । यसको कारण काँग्रेस र एमालेसरह माओवादी नेता पुग्नु हो ।