Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नक्कली शरणार्थी काण्डमा ३२ जना विरुद्ध मुद्दाको तयारी तयारी

काठमाडौँ । पैसाका लागि सिंहदरबारमा बस्नेहरुले कतिसम्मको अपराध गर्दा रहेछन् भन्ने कुराको नमूना हो नक्कली भुटानी शरणार्थी प्रकरण । यो प्रकरणको लहरोले जति ठूला माछालाई तान्छ भन्ने अपेक्षा गरिएको थियो त्यो रुपमा घटना बाहिर आउन नसके पनि झ भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै नेपाली नागरिकबाट पैसा उठाउने गिरोहका सदस्य र तिनलाई संरक्षण गर्नेमाथि राज्यविरुद्धको अपराधसहित कम्तीमा चार कसुरमा मुद्दा चल्ने भएको छ । हिरासतमा रहेका पूर्वउपप्रधानमन्त्री र पूर्वगृहमन्त्रीसहित १६ जना र फरार १६ गरी ३२ जनामाथि राज्यविरुद्धको अपराध, संगठित अपराध, ठगी र किर्तेसम्बन्धी कसुरमा मुद्दा चलाउनुपर्ने प्रहरीको निष्कर्ष छ । राज्यका विभिन्न ओहदामा बसेर नेपालीलाई अनागरिक बनाउने गरी अपराधमा संलग्न हुने, सरकारी गोप्य दस्ताबेज नै साटफेर गरी गिरोहलाई दिने, सरकारी कागजात किर्ते गरी नक्कली प्रतिवेदन खडा गर्ने, अवैध रूपमा नागरिकलाई विदेश पठाउन खोज्नेलगायत अपराधमा आकर्षित हुने सबै कसुरमा मुद्दा दायर गर्ने तयारी छ । रायसहितको प्रतिवेदन सम्भवतः आइतबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाउने स्रोतले बतायो । शुक्रबार नै बुझाउने तयारी रहे पनि बिहीबार यो प्रकरणमा भुटानी शरणार्थीसमेत रहेका अधिकारवादी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेपछि प्रतिवेदन पेस गर्ने समय लम्बिएको हो । पक्राउ परेकामध्ये सार्वजनिक पदमा रहिसकेकाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र बाँकीलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पनि थप अनुसन्धान गर्नुपर्ने भन्दै दुवै निकायमा लेखी पठाउने राय छ । अदालतमा मुद्दा दायर गर्नुअघि अनुसन्धान प्रतिवेदनको अध्ययन सहज होस् भनेर प्रहरीले प्रतिवेदन लेखनकै क्रममा जिल्ला सरकारी वकिल कार्यालयका अधिकारीलाई समेत सहभागी गराएको छ । पक्राउ परेका पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सरकारका सचिव टेकनारायण पाण्डे, गृह मन्त्रालय मातहतको नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र खाण गृहमन्त्री हुँदाका प्रमुख स्वकीय सचिव नरेन्द्र केसी सार्वजनिक पद धारण गरेका आरोपित हुन् । उनीहरूमाथि राज्यविरुद्धको अपराधसहित अख्तियारमार्फत थप अनुसन्धान गर्नुपर्ने भएकाले सम्बन्धित निकायमा लेखी पठाइने उल्लेख छ ।
अधिकारवादी नेता रिजाल भुटानी शरणार्थी हुन् । उनलाई पनि अन्य आरोपितसरह मुद्दा चलाउनुपर्ने राय छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन रचिएको अपराधबाट देशको अन्तर्राष्ट्रिय प्रतिष्ठा, स्वाभिमान र विश्वासमा चोट पुर्‍याएको अनुसन्धानको निष्कर्ष छ । गिरोहका नाइके केशव दुलाल र सानु भण्डारीसहित सन्देश शर्मा, सन्दीप रायमाझी, सागर थुलुङ राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरीविरुद्ध संलग्नताका आधारमा राज्यविरुद्धको अपराधसहितका कसुर तथा उनीहरू र परिवारका नाममा रहेको सम्पत्ति अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई लेखी पठाइने भनिएको छ । गृह मन्त्रालयका केही कर्मचारीलाई ‘साक्षी प्रमाण’का रूपमा राख्न पनि राय दिइएको छ । गृह मन्त्रालयका सचिव र मन्त्रीस्तरीय निर्णयबाट भएका कानुनविपरीतका गतिविधि अनि सक्कली प्रतिवेदन साटफेरमा गिरोहको प्रवेशका विषयमा कर्मचारीलाई साक्षीका रूपमा राख्न लागिएको हो । अनुसन्धान गर्ने क्रममा गिरोहका नाइकेहरू दुलाल, भण्डारी र गुरुङ गत चैत १२ मा काठमाडौंबाट पक्राउ परेका थिए । उनीहरूविरुद्ध ठगीमा अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको प्रहरीले त्यसपछि संगठित अपराधको दफा लगाएर अनुसन्धान दायरा फराकिलो पारेको थियो ।


सम्बन्धित समाचार