Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
बागलुङ । जनताबाट निर्वाचित जनप्रतिनिधिले नै जनताको रकम कुम्ल्याएर बेपत्ता बनेपछि कसको के लाग्छ ? डेढ अर्ब रकम हिनामिना गरी बेपत्ता भएका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध रेडकर्नरको तयारी भएको छ । बागलुङस्थित जिल्ला प्रशासन र जिल्ला प्रहरीले प्रहरी प्रधान कार्यालयमा रेडकर्नर नोटिसका लागि सिफारिस पठाएको छ । विदेशमा लुकेर बसेको आशंकापछि रेडकर्नर नोटिस जारी गर्नुपर्ने पीडितले माग गरेका थिए । प्रहरी प्रधान कार्यालयको इन्टरपोल महाशाखाले जिल्लाको सिफारिसको आधारमा रेडकर्नर जारी गर्ने तयारी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले बताए । नेपालीसहित उनकी पत्नी र सहकारीका सञ्चालकविरुद्ध सर्वसाधारणले प्रहरीमा जाहेरी दिएका थिए । उक्त जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा संगठित ठगीको मुद्दा दायर गरेका छन् । उनी बेपत्ता भएपछि सयौं बचतकर्ता कहिले प्रहरीमा, कहिले सडकमा भौंतारिइरहेका छन् । अधिकांश पीडितले नेपालीविरुद्ध आर्थिक अपराधको मुद्दा लगाउन माग गरेका छन् । गत वैशाख ६ गतेको बैठकको निर्णय भन्दै ७ गते सूचना प्रकाशित गरेर सहकारी संस्था बन्द गरेपछि अहिलेसम्म खुलेको छैन । सुरुमा तरलता अभाव देखाएको सहकारीले अन्ततः पैसा हिनामिना पारेपछि बन्द गराएको हो । नियमित बचतमार्फत दैनिक कमाइ जम्मा गरेका सयौंको रकम नेपालीले हिनामिना पारेका हुन् । दुई दशकदेखि व्यवसायबाट कमाएको पैसाले घर बनाउने योजना बनाएका बागलुङ नगरपालिका–७ का एक पीडितले ५० लाख रुपैयाँभन्दा बढी रकम डुबेको गुनासो गरे । यहाँका डिलबहादुर कार्की, मञ्जु चालिसे, यामप्रसाद शर्मा, तुलसी गौतमलगायतका बचतकर्ता तथा सहकारी पीडितले दुई महिनासम्म सडक संघर्ष गरे । उनीहरूले न बचत फिर्ता पाए, न सहकारीका अध्यक्षको अत्तोपत्तो भयो । उनी सम्पर्कविहीन हुँदा १ हजार ५ सय ५० भन्दा धेरै जनाको १ अर्ब ६० करोड भन्दा धेरै रकम अलपत्र परेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले नेपालको विमानस्थल प्रयोग भएर कतै गएको रेकर्ड नभएको बताए । जेठ पहिलो साताबाटै कडाइ गर्दा पनि नेपाली बेपत्ता भएका हुन् । एउटा स्थानीय सरकारको प्रमुखसमेत हराउँदा खोजी नगर्नुमा रहस्य लुकेको अर्का पीडित पूजा शर्माको भनाइ छ । नेपाली बेपत्ता भएपछि ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले कार्यवाहक भएर काम गरेका छन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल