Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । कोरोना महामारी चर्किएपनि सडकमा यातायातको कमि छैन । सरकारले अन्तराष्ट्रिय उड्यान र आन्तरिक हवाई उड्यान बन्द गरेपछि विदेशबाट आएका नेपालीहरुलाई लुट्ने नेपालीहरु नै खडा भएका छन् । गाडी नै नपाएका बेलामा रु एक हजार वा भनौँ रु १२ सयसम्म पनि मानिसलाई तिर्न गाह्रो नहोला । बुटवलका लागि रु ६ ६ हजार भाडा असुल्ने लुटाहाहरु देखिए । गाडी चालक तथा टिकट काउन्टरका कर्मचारीका मिलेमतोमा काठमाडौँ–बुटवलको भाडा रु ६ हजारसम्म असुलेको पाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसरी यात्रुसँग बढी भाडा असुल्ने पाँच जनालाई काठमाडौँका विभिन्न क्षेत्रबाट बिहीबार पक्राउ गरेको थियो । उनीहरुले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीलाई घर पुर्याउन यसरी चर्को रकम असुल गरी भाडामा ठगी गरेका हुन् ।
कोभिड १९ को महामारीको मौका छोपेर उनीहरुले छोटो समयमै धेरै कमाउने योजना बनाएका थिए । ट्राफिक प्रहरीले त्यसलाई असफल पारिदिएको छ । कसैलाई तीन हजार, कसैलाई चार हजार र कसैलाई छ हजारसम्म पैसा लिएर बुटवलका लागि टिकट काटेको ट्राफिक बताउछ । महा शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईका अनुसार पोखराका लागि तीन हजार ५०० सम्म पनि भाडा लिएको पाइएको छ, सबै पक्राउ परेका छन् । उनका अनुसार बार्गेनिङ गर्दा जसबाट जति झार्न सकिन्छ त्यति रकम लिएको पाइएको छ । महाशाखाका अनुसार बिहीबार गरिएको अनुगमनका क्रममा बढी भाडा लिने तीन जनालाई गोंगबु बसपार्क क्षेत्रबाट र दुई जनालाई कलङ्कीबाट पक्राउ गरिएको हो ।कोभिड १९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञामा मौकाको फाइदा लिई पोखरा माइक्रो र बुटवल भैरहवा टिकट काउण्टरका कर्मचारीलाई नियन्त्रणमा लिइएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताएका छन् । काठमाडौँदेखि पोखरासम्मको नियमित भाडा रु ५०० र बुटवलसम्म रु एक हजार दुई सय तोकिएकामा पाँच सय प्रतिशतसम्म बढी भाडा असुलिएको भट्टराईले बताएका छन् । प्राप्त समाचार अनुसार पोखरा जाने यात्रुसँग रु तीन हजार ५०० र बुटवल जाने यात्रुबाट जनही रु छ हजारसम्म भाडा लिएको पाइएको छ । काठमाडौँ उपत्यका छाडी आफ्नो घर फर्किन खोज्ने यात्रुलाई ग १ ख ९६२१ माइक्रोमार्फत पोखरा र बा ४ ख ५१९७ नम्बरको बसमार्फत बुटवल जाने यात्रुबाट बढी भाडा असुलेको महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा पोखरा माइक्रोमा काम गर्ने पोखरा महानगरपालिका ३३ घर भई काठमाडौँ बस्ने ३२ वर्षीय बन्दराज पराजुली, रतुवामाई ९–मोरङ घर भई नेपालटार बस्ने २९ वर्षीय नवीन पौडेल तथा बुटवल भैरहवा काउण्टरमा काम गर्ने धादिङ थाक्रे–७ का रञ्जित सिलवाल रहेको महाशाखाले जनाएको छ । यस्तै बढीभाडा असुलेका आरोपमा आज कलङ्कीबाट पनि दुई जनालाई पक्राउ गरिएको छ ।
काठमाडौँदेखि झापाको नियमित भाडा रु एक हजारदेखि रु एक हजार दुई सयसम्म भए पनि यात्रुसँग दुई गुणा बढी अर्थात् जनही रु दुई हजार ५०० का दरले भाडा उठाउने खोटाङ घर भई कलङ्की बस्ने भीमबहादुर खड्का र रौतहट घर भई काठमाडौँ खसीबजार बस्ने ५० वर्षीय वैजनाथ चौधरीलाई महाशाखाको सादा पोशाकका प्रहरीले पक्राउ गरेको हो । उनीहरुले उपत्यकाको चक्रपथमा चल्ने बा ४ ख १९२५ नम्बरको पाथीभारा दर्शनको भाडा बसमा यात्रु लैजाने गरी टिकट काटेको पाइएको महाशाखाले जनाएको छ । ट्राफिक प्रहरी महाशाखाले विषम परिस्थितिमा हुन सक्ने यात्रु ठगी तथा आइपर्ने यातायातसम्बन्धी समस्या अनुगमनका लागि सादा पोशाकमा विशेष टोली परिचालन गरेको छ। टोलीले आफैँ यात्रु बनेर अनुगमन गरिरहेको छ । यसअघि बुधबार पनि बढी भाडा लिने बागलुङ भगवती काउण्टरका कर्मचारी मिलन सारुलाई पक्राउ गरिएको थियो । ट्राफिक निग्रानी गर्दा गर्दै पनि यस्तो लुट चम्किन्छ भने चासो नदिए के होला ? प्रहरीले कुनै गुनासो भएमा आफ्नो हटलाइन १०० वा ट्राफिक कन्ट्रोलको १०३ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल