Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। सहकारी ठगी तथा संगठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापतिलाई रवि लामिछानेलाई आज अदालतमा पेश गरिँदै छ। शुक्रबार राति काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँदै शनिबार विहान ३ बजे पोखरा पुर्याइएको थियो। लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो। लामिछानेविरुद्ध प्रहरीले संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुने भएको छ। प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान अदालतको अनुमति लिएसँगै दुवै आरोपमा अनुसन्धान हुने भएको हो। अदालतले दिएको अनुमतिमा सहकारी ऐनले परिभाषित ठगी तथा संगठित अपराध सम्बन्धि विषयमा अनुसान्धानको सिलसिलमा पक्राउ गर्न अनुमति दिएको उल्लेख छ। शुक्रबार साँझ काठमाडौंबाट पक्राउ परेका पूर्वगृहमन्त्री एवं सांसदसमेत रहेका लामिछानेलाई प्रहरीले शनिबार सडक मार्ग हुँदै बिहान ३ बजे पोखरा ल्याइ पुर्याएको थियो। सूर्यदर्शन सहकारीसहित सहकारीको साढे ६५ करोड रुपैयाँ भन्दाबढी रकम अपचलन गरी गोर्खा मिडियामा लगेको आरोपमा गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक लामिछानेलाई पक्राउ गरी पोखरा ल्याएपछि स्वास्थ्य परिक्षणपश्चात जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ। लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्याउने बेला उनका समर्थकहरूले केहीबेर नाराबाजीसहित अवरोध गरेका थिए। कास्की जिल्ला अदालतले प्रहरीलाई शुक्रबार अनुमति दिएसँगै लामिछानेलाई पक्राउ गरेर लगिएको हो। लामिछानेविरुद्ध सहकारी रकम अपचलन र संगठित अपराध सम्बन्धी मुद्दामा अनुसन्धानका लागि म्याद थप गर्न अदालतसँग अनुमति माग गरिने छ। म्याद थपको अनुमति पाए पछि प्रहरीले लामिछानेविरुद्ध सहकारी रकम ठगी र संगठित अपराधविरुद्ध अनुसन्धान अघि बढाउने छ। अदालतमा रविमाथि अनुसन्धानका लागि प्रहरीले समय माग गर्नेछ। जिल्ला सरकारी वकिल कार्यालय कास्कीसहितको टोलीले उनीमाथि अनुसन्धान सुरु गर्नेछ। प्रहरीले रविमाथि तीन अभियोगमा अनुसन्धान गर्ने देखिन्छ। यसअघि पक्राउ परेका छविलाल जोशीलाई दाबी गरेका सबै अभियोग रविमाथि पनि अनुसन्धान हुनेछ। रविलाई सहकारीको रकम संगठित रूपमा ठगी गरेको भन्दै सहकारी ऐन, २०७४ र संगठित अपराध निवारण ऐन, २०६४ ले वर्जित गरेको कसुर र सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि प्रहरीले म्याद माग गर्ने भएको छ। सूर्यदर्शन सरकारीमा संगठित रूपमा ठगी गरेकाले ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुनेछ। आइतबार रविलाई अदालतमा पेस गरिएपछि सरकारी वकिलहरूले बहस गर्नेछन्। दुवै पक्षको बहसपछि अदालतले अनुसन्धानका लागि प्रहरीलाई उचित समय उपलब्ध गराउने छ। हालसम्मको अभ्यास हेर्दा सुरुमा पाँचदेखि सात दिन म्याद थप हुने देखिन्छ। उक्त म्याद सकिएपछि फेरि म्याद थपका लागि अदालतमा पेस गरिन्छ। प्रहरीले बयान र अभियोगपत्र जिल्ला सरकारी वकिल कार्यालयलाई नबुझाएसम्म म्याद थपको प्रक्रिया चलिरहन्छ। सहकारी ठगी र संगठित अपराध गरी ६० दिनसम्म उनलाई यसरी थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न सक्नेछ। ६० दिन पूरा हुनु अगावै प्रहरीले अनुसन्धान प्रतिवेदनसहित जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा बुझाउने छ। सम्पत्ति शुद्धीकरणमा थप अनुसन्धान गर्न चाहेमा ९० दिनसम्म म्याद थपको माग प्रहरीले गर्न पाउने छ। त्यसपछि अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय पुग्नेछ। जिल्ला सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदनमा अध्ययन गरेर अभियोग दाबीसहित जिल्ला अदालत कास्कीमा पेस गर्नेछ। जिल्ला अदालतमा अभियोगपत्र पेस भएपछि लामिछानेको थुनछेक बयान अनि बहस सुरु हुनेछ। अदालतले सुरुमा बयान गराउने छ भने दुवै पक्षको दोहोरो बहस हुनेछ। दुवै पक्षको बहसपछि जिल्ला अदालतले थुनामा पठाउने कि धरौटी माग गर्ने भन्ने निर्णय सुनाउने छ। जिल्ला अदालतले धरौटी माग गरे रवि रिहा हुने छन् भने थुनामा पठाएमा उनी जेलमा जाने छन्। जिल्लाको आदेशपछि रविलाई त्योभन्दा माथिल्लो तह उच्च र सर्वोच्च जाने बाटो भने खुला हुनेछ। जिल्लाको आदेशविरुद्ध उच्च अदालत पोखरा र उच्च अदालतको आदेश पनि चित्त नबुझे सर्वोच्चसम्म आउने विकल्प रविसँग रहन्छ। यतिबेला सहकारी ठगी तथा संगठित अपराधमा अनुसन्धानमा सहयोग गर्न सीआईबीको टोली पोखरा पुगेको छ। सूर्यदर्शन सहकारीको बचत गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा प्रहरीका पूर्वडीआईजी जोशीलाई काठमाडौंमा पक्राउ गरी कास्की पुर्याइएपछि सीआईबीले इन्स्पेक्टर शिशिर थापा र सई रवि घिमिरेलाई पनि पोखरा खटाएको थियो। अहिले सो टोली पोखरामा रहेको छ। प्रहरीसँगको बयानमा जोशीले आफू सुरुवाती चरणमा गोर्खा मिडियामा सञ्चालक समिति उपाध्यक्ष बनेको र छोटो समयमै लामिछाने र राईबाट अलग भएर बाहिरिएको बताएका थिए।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल