Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई हिरासतमा राख्ने म्याद बिहीबार सात दिन थप भएपछि रास्वपाले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको हो। रास्वपाले आज अपरान्ह १ बजे माइतीघरमा हुने प्रदर्शनमा सहभागी हुन कार्यकर्तालाई आह्वान गरेको छ। गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका रवि हाल कास्की प्रहरीको हिरासतमा छन्। पहिले ६ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत कास्कीले आजमात्रै थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ। सडक प्रदर्शन गरेर लामिछानेलाई छुटाउने प्रयास गरेको रास्वपाले पोखरामा स्थानीय जनताको साथ पाउन सकेको थिएन। स्थानीयको सहभागिता नभएपछि रास्वपाका नेताहरुले घरदैलो समेत गरेर भिड जम्मा गर्ने प्रयास गरेका थिए। तर त्यो पनि असफल भएपछि अब उनीहरुले काठमाडौंमा प्रदर्शन गर्ने भएका हुन्। बिहीबार पत्रकार सम्मेलनमा रास्वपा सहप्रवक्ता मनीषा झाले कानुन पनि कानुनसम्मत भइदिनुपर्ने र राजनीतिक प्रतिशोध हुन नहुने बताए। उनले आफूहरू सदनबाट आवाज उठाउने ठाउँमा रहेकामा अहिले संसद् पनि बन्द रहेको विशेष समितिहरू पनि ‘पंगु’ भएकाले न्यायका लागि सडकमा ओर्लिएको स्पष्ट पारे । काठमाडौं माइतीघर मण्डलामा हुने आन्दोलन भने शान्तिपूर्ण नै हुने उनले बताए। उनले संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा ४० सहकारीबाट ८७ अर्ब रुपैयाँ अपचलन भएको बाहिरिएको स्मरण गराउँदै ८७ अर्ब रुपैयाँको कुरा नगर्ने, खाली १५ प्रतिशत मात्र गोर्खा मिडियाको स्वेट सेयर लिएका लामिछानेलाई मात्र थुन्न नमिल्ने बताए । ८७ अर्ब रुपैयाँमध्ये गोर्खा मिडियामा ६५ करोड गएकामा तत्कालीन प्रबन्ध निर्देशक लामिछाने हुँदा २२ करोडमध्ये त्यसको १५ प्रतिशत मात्र स्वेट सेयर लिएको बताए । उनले भने, ‘हामी ८७ अर्ब रुपैयाँमै चर्चा गरौं न, सबैलाई समातौं ।’ उनले राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरसमेत मुछिएको उल्लेख गर्दै उनलाई कारबाही नगरेको बताए । पार्टी उपसभापति डा। स्वर्णीम वाग्लेले लामिछानेको पक्राउ राजनीतिक प्रतिशोध नै भएको कुरा प्रहरीको कार्यशैलीबाट अझ पुष्टि भएको दाबी गरे । उनका अनुसार लामिछानेलाई पाँच दिनयता बल्ल चार(पाँच घण्टा मात्र बयानमा उपस्थित गराइनुले राजनीतिक प्रतिशोध भएको पुष्टि भएको बताए । उनले भने, ‘के रवि लामिछानेलाई दालभात खुवाउन मात्र ल्याएको हो, मानमर्दन गर्ने शैलीमा सरकार केन्द्रित भएको छ ।’ उनले राज्यको ढुकुटी कसरी सक्ने भन्ने मै अहिलेको सत्तारूढ दल रहेको आरोप लगाए । रास्वपाले सहकारीपीडितको समस्या समाधानका लागि जलेश्वरको केन्द्रीय समितिको बैठकको निर्णयबमोजिम प्रतिवेदन तयार पारी तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई बुुझाएको स्मरण गराए । उनले सय दिनमा अहिलेको सरकारले सहकारीपीडितको पक्षमा चुइँक्कसम्म नबोलेको खाली आफ्ना अध्यक्ष लामिछानेलाई मात्र समातेको बताए । पोखराको आन्दोलनका लागि रास्वपाले पूर्वदेखि सुदूरपश्चिम क्षेत्रका विभिन्न जिल्लाबाट कार्यकर्ता उतारेको थियो । लामिछानेलाई म्याद थप गरिएको र काठमाडौंकेन्द्रित आन्दोलन हुने भएपछि कतिपय कार्यकर्ता पोखराबाट फर्किन सुरु गरेका छन् । रास्वपाले गत शनिबार बिहान लामिछानेलाई हिरासतमा राखेदेखि नै फरकफरक ठाउँमा आन्दोलन चर्काइरहेको थियो ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल