Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रतिपक्षका नेताहरु घुमुञ्जेल चर्किएको नक्कली भुटानी शरणार्थी काण्ड सत्तासिन पार्टीका शक्तिशाली भाउजुहरुतिर जोडिएपछि यो घटना अर्को ३३ किलो सुन काण्ड बन्ने खतरातर्फ मोडिएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै रकम लिएर ठगी गरेको प्रकरणमा जोडिएपछि गत वैशाख २० गतेदेखि नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी गायब छन्। गत मंसिरको चुनावमा सत्ता गठबन्धनलाई भारी मतले पराजित टोपबहादुर तत्कालीन नेकपा विघटन हुँदा माओवादी समूह छाडेर एमालेमा बसेका थिए। चितवनमा भएको एमालेको दसौँ महाधिवेशनमा राम्रो मतसहित सचिव पदमा विजयी भएका उनी अध्यक्ष केपी शर्मा ओलीनिकट नेता मानिन्थे।नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि उनी कानुनलाई सहयोग गर्ने भन्दै सन्धिखर्कबाट काठमाडौंका लागि हिँडेका थिए। तर उनी बुटवल आसपास झरेपछि मोबाइल फोन पनि बन्द गरेर बेपत्ता छन्। जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जीसमेत जारी भएको अवस्थामा रायमाझी गायब भएपछि सत्तारुढ दलहरु एमाले अध्यक्ष ओलीमाथि खन्निएका छन्। गम्भीर अपराधमा मुछिएका रायमाझीको बचाउमा ओली नै लागेको आरोप लागिरहेका बेला यो प्रकरणमा लहरो तान्दा पहरो थर्किने अवस्था छ। बाबु पाँच दिनदेखि हराइरहेका बेला उनका छोरा सन्दीप जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। यो प्रकरणमा पीडितहरुले उनको नाममा चार वर्षअघि नै डेढ करोडको चेक भेटिएको थियो।
यो प्रकरणको लहरो हाल एमाले उपाध्यक्ष रहेका पूर्वमाओवादी नेता रामबहादुर थापा बादलसम्म पुग्दै गर्दा सत्तारुढ कांग्रेसतिर पनि सोझिएको छ। यसअघि नै पक्राउ परिसकेका केशव दुलाल र टंक गुरुङसहितले पूर्वगृहमन्त्री बादल पत्नीसमेत रहेकी पूर्वसञ्चारमन्त्री नैनकला थापा र अख्तियार प्रमुख रहेका तत्कालीन गृहसचिव प्रेम राईको नाम पनि बयानका क्रममा जोडिसकेका छन्। बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई अहिले प्रहरीको हिरासतमा छन्। काठमाडौं प्रहरीको हिरासतमा नै उनले ढाँटेको भन्दै दुलाल र सानु भण्डारीले झन्डै कुटपिट कोसिस गरे। मुक्का हानिसकेको अवस्थामा इन्द्रजितलाई हिरासतमा कुटिनबाट प्रहरीले जोगायो। यो प्रकरणको लहरो फैलिँदै गर्दा अब सत्तारुढ दलका नेता र पत्नीहरु पनि यसमा तानिन थालेका छन्। यो प्रकरण नेता बालकृ्ष्ण खाँण हुँदै सभापति शेरबहादुर देउवाको घरभित्रै पुग्ने अवस्था आएको छ। केही दिनयता सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भइरहेको एउटा अडिओ संवादमा पीडित भनिएकाहरुले बालकृष्णको नाम पनि मुछेका छन्।
यसअघि नै पक्राउ परेकाहरुले बालकृष्ण र पत्नी मञ्जुको नाम मुछेको समाचार सार्वजनिक भइरहेका बेला त्यसलाई थप बल पुग्ने गरी अडिओ अहिले फेसबुक, टिकट र ट्विटरमा पनि भाइरल भइरहेको छ। कम्तीमा तीनजनाले संवाद गरेको उक्त अडिओको करिब १५ देखि २० मिनेटको पूरा संवाद विवरण अनुसन्धानरत प्रहरीसँग रहेको बताइएको छ। तर त्यसको १ मिनेट ३ सेकेन्डको अडिओ क्लिपले खाँण र देउवा परिवारलाई पनि मुछेको छ। उक्त अडिओमा पूर्वप्रधानमन्त्री देउवा पत्नी आरजु राणा र पूर्वगृहमन्त्री बालकृष्ण खाण पत्नी मञ्जुले करोड(करोड लिएको संवाद सुन्न सकिन्छ। यो अडिओलाई लिएर प्रहरीले पनि अनुसन्धान अघि बढाएको छ। प्रहरीले यसको आधिकारिकता जाँचलाई अनुसन्धानकै एक अंगका रुपमा अघि बढाइएको जनाएको छ। ‘जाहेरवालाले १५÷२० मिनेटको अडिओ हामीकहाँ बुझाएका छन्। यसमा जसको नाम लिइएको छ उनीहरुको संलग्नता खुल्दैन। उनीहरुले भनेअनुसार संलग्नता हो कि होइन हामी परीक्षण गर्दैछौँ। आरोप मात्रै लगाइएको हो कि प्रमाणले पनि पुष्टि गर्छ त्यो हेरिन्छ’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने। अडिओमा संवादका क्रममा आरजुले साढे दुई करोड रुपैयाँ र मञ्जुले घरमै ६ करोड रुपैयाँ लिएको दाबी गरिएको छ। सुरुमा टिकटकमा सार्वजनिक भएको यो अडिओ अहिले ट्विटर र फेसबुकमा पनि भाइरल भइरहेको छ। नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिने बहानामा करोडौं उठाएको एक समूहबाट आरजु र मञ्जुले साढे आठ करोड रुपैयाँ बुझेको उक्त अडिओमा उल्लेख छ। उक्त प्रकरणमा संलग्न गिरोहले अडिओको सुरुमा कर्मचारी प्रमुख जिल्ला अधिकारीहरुको सरुवाले आफूहरु हैरान भएको बताएको सुन्न सकिन्छ। उनीहरुले काम हुने प्रलोभनमा आफूहरुलाई दुहुनो गाई बनाइएको भन्दै तीतो पोख्छन्।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल