Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अर्थमन्त्रिविरुद्ध बागी उठेका केसी भन्छन्,यसपालि जनार्दनलाई डाँडो कटाएर छोड्छु

१९ कात्तिक, रुकुम पश्चिम । नेपाली कांग्रेसका नेता तारक केसी रुकुम पश्चिममा जनार्दन शर्मासँग प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा गर्दैछन् ।
उनको दलको आधिकारिक निर्णय जनार्दन शर्मालाई सहयोग गर्ने छ, तर केसी भने उनै शर्मालाई हराउने उद्देश्य बोकेर चुनाव प्रचारमा छन् । यहाँ नेकपा एमालेबाट नन्दराम देवकोटा उम्मेदवार छन् ।
पटकपटक चुनाव जितेर ५ पटक मन्त्री भएपनि शर्माले रुकुम पश्चिमको विकासलाई अगाडि बढाउन नसकेको भन्दै केसीले मत मागेका छन् ।
‘रुकुमेली जनताले जनार्दनलाई पटक पटक जिताए, तर के पाए जनार्दनले त ५ पटक मन्त्री खाए । जनार्दनले जिते मन्त्री बन्छन् भन्नेबाहेक अरु केही छैन, रुकुमेली जनतासँग भन्नलाई, ३३ वर्षका केसीले भने, जनार्दनका झुटा आश्वासनबाट आजित जनताले यसपटक मत बदल्नेछन्, रुकुममा माओवादी विरासत तोड्ने छन् ।
आफूलाई कांग्रेसको २६ हजार मत र पहिलो पटक मतदान गर्ने युवा पुस्ताले मत दिने केसीले दावी गरे ।
प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा कांग्रेसले प्रदेशसभामा एउटा सिट दाबी गरेको थियो । सिट बाँडफाँटका क्रममा प्रदेशसभा ख कांग्रेसको भागमा परेको थियो र प्रेमप्रकाश ओलीले उम्मेदवारी दिएका थिए । तर बैंकिङ कसूर मुद्दामा उच्च अदालत सुर्खेतले सुनाएको १ महिना कैद र ७ लाख रुपैयाँ जरिवाना भुक्तान नगरेको देखिए पछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदियो र रुकुम पश्चिम कांग्रेसको उम्मेदवारविहीन भयो ।
माओवादीलाई सघाउनु कांग्रेसका लागि बाध्यात्मक परिस्थिति भएको केसी बताउँछन् । आफू कांग्रेसको आधिकारिक उम्मेदवार भएको दावी गर्दै केसी पार्टीभित्रको आन्तरिक भाँडभैलोका कारण मात्र स्वतन्त्र उम्मेदवार हुन पुगेको बताउँछन् । ‘मेरो जित नै काँग्रेसको जित हो । यो माओवादीको दमन विरुद्धको प्रतिवाद पनि हो केसीले भने, ‘देशमा को कहाँ मिल्यो थाहा छैन, तर रुकुमा काँग्रेस–माओवादी कहिल्यै मिल्न सक्दैन ।
जिल्लामा कांग्रेसका शीर्ष नेताहरु भने प्रतिनिधिसभामा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मालाई मत माग्दै घरदैलो गरिरहेका छन् । यसअघि जनार्दनका प्रतिद्वन्द्वी रहेका कांग्रेसका गोपाल जीजंग शाह, मानबहादुर नेपालीलगायतका नेताहरु संयुक्त चुनावी सभामा सहभागी भइरहेका छन् ।
केन्द्रको निर्णयविपरीत बागी उम्मेदवार बनेको भन्दै कांग्रेसले भने केसीलाई कारबाही गरिसकेको छ । कांग्रेस रुकुम पश्चिमका सचिव परमेश्वर भण्डारीका अनुसार केसीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको पत्र कांग्रेस केन्द्रीय कार्यालयबाट २५ असोजमा प्राप्त भइसकेको छ ।
तर कांग्रेसका केही नेताहरु भने खुलेरै केसीको पक्षमा मत मागिरहेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धनका नाममा माओवादीसँग तालमेल गर्दा रुकुममा कांग्रेसलाई सिध्याउने परिपञ्च रचेको कांग्रेस रुकुम पश्चिमका पूर्व उपसभापति वीरहादुर वलीको आरोप छ ।
देउवा दाइलाई नै पटक पटक भन्यौं, कि रुकुममा तालमेल नगरिदिनुस् । यदि गर्ने नै हो भने सम्मानजनक सिटको व्यवस्था गर्नुस् भन्यौं, तर त्यसो हुन सकेन । पार्टीलाई ध्वस्त पारेर माओवादीलाई जिताउन सकिएन वलीले भने ।
तालमेलकोसहमति हुन सकेको थिएन । २३ कात्तिकमा माओवादी केन्द्र र नेपाली कांग्रेस दुबैले प्रतिनिधिसभा र प्रदेशसभाका दुबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिए ।
तर कांग्रेस सभापति शेरबहादुरले देउवाले प्रतिनिधिसभामा उम्मेदवारी दिएका मानबहादुर नेपाली र प्रदेशसभा ९क० मा उम्मेदवारी दिएका कृष्णबहादुर रोकायालाई टेलिफोनबाटै हप्काएर उम्मेदवारी फिर्ता लिन लगाएको कांग्रेस स्रोत बताउँछ ।
कांग्रेसको रुकुमपश्चिम सभापति समेत रहेका प्रेमप्रकाश ओली प्रदेशसभा ख मा सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार बने पनि उनको उम्मेदवारी खारेजीमा पर्‍यो ।
त्यसैले कांग्रेसका कतिपय नेता कार्यकर्ता र शुभेच्छुकहरु पार्टीको जिल्ला र केन्द्रीय नेतृत्वसँग असन्तुष्ट छ ।
असन्तुष्ट पक्षको नेतृत्व गर्दै प्रतिनिधिसभामा उम्मेदवारी दिएका केसी ‘सूर्यमुखी फूल’ चुनाव चिह्न लिएर चुनावी मैदानमा छन् ।
उनी भन्छन्, रुकुममा माओवादीसँग तालमेल गरेर शीर्ष नेतृत्वले ठूलो गल्ती गर्‍यो । रुखको अस्तित्व मेटाउने गल्ती शीर्ष नेतृत्वले गरेको छ, केसीले भने, अब रुखको रक्षा सूर्यमुखी फूलले गर्छ ।
केसीले भौतिक पूर्वाधार, सडक र खानेपानीलाई प्राथामिकतामा राखेर घोषणपत्र सार्वजानिक गरेका छन् । विकासमा युवा साझेदारी कार्यक्रम, लघु उद्यम विशेष पञ्चवर्षीय योजना ल्याउने र जिल्लालाई एग्रो भिलेजका रुपमा विकास गर्ने महत्वकांक्षी सपना जनतालाई बाँडेका छन् ।
आफूले जिते बाटोघाटो, खानेपानी, विद्युत, शिक्षा र स्वास्थ्यलाई प्राथामिकतामा राखेर काम गर्ने उनको भनाइ छ । राज्यको स्रोत साधनको चरम दुरुपयोग रोक्ने र उत्पादनशील नागरिक, समुन्नत र आत्मनिर्भर जिल्ला निर्माणमा गर्ने गरी रुकुम विकास मोडल बनाएर काम गर्छौं’ उनले भने ।


सम्बन्धित समाचार