Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा ३ वटा निकायले छानबिन तथा अनुसन्धानको काम गरिरहेकाले सरकारले यो प्रकरणलाई ओझेलमा नपार्ने बताएकी छिन् । बुधबार रिपोटर्स क्लब नेपालमा भएको साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले उक्त जग्गा प्रकरणबारे अख्तियार, भूमि व्यवस्था मन्त्रालय र सिआईबी तीनवटै निकायले आ–आफ्नो ढङ्गले काम गरिरहेको बताइन् । उनले भनिन्, सबैले आ–आफ्नो ढंगले काम गरिरहेका छौं । त्यही भएर अलिक समय लागेको हो । अब धेरै लामो समय जाँदैन् ।
उनले यो प्रकरणमा कारबाहीको लागि केही ढिलाई भएपनि दोषीहरु नउम्किने दाबी गरिन् । जनताले यो प्रकरणमा जुन अपेक्षा गरेका छन्, त्यहीअनुसारको नतिजा आउँछ, उनको भनाई छ । मन्त्री अर्यालले नेपालका सिमा स्तम्भको बारेमा जसरी बाहिर हल्ला आएको छ त्यस्तो अवस्था भने अहिले नरहेको स्पष्ट पारिन् ।
नेकपाको पार्टी कार्यालय सरकारी जग्गामा रहेको कुराबारे टिप्पणी गर्दै उनले पार्टीले भाडा तिरेर बसेको बताईन् । उनले भनिन्, पार्टीले निश्चित शुल्क तिरेर बसेको छ । यो प्रकृतिको जग्गा लिज सिष्टममा जानको लागि पत्राचार भैसकेको छ । यदि लिज सिष्टममा गएन भने भोगाधिकार अन्त्य हुन्छ । उनले २०७१ सालमै लिज नीति पारित भएकोले अब आफूहरुले लिज सिष्टममा लैजाने पनि बताइन् ।
मन्त्री अर्यालले सरकारले भूमिको समुचित उपयोग र व्यवस्थापन गर्ने गरि भू–उपयोग विद्येयक ल्याएको भन्दै नेपालमा अहिलेसम्मको अवस्था हेर्दा भुमि व्यवस्थापनसम्बन्धी एउटामात्रै कानून प्रयोग नभएको स्पष्ट पारिन् । उनले भनिन्, भूमि व्यवस्थापनसम्बन्धी विभिन्न कानूनहरु प्रयोग भएका छन् । भूमिको व्यवस्थापनको लागि एउटामात्रै कानून पर्याप्त छैन् । धेरै कानून आवश्यक छन् ।
उक्त विद्येयकमा जमिनको प्रयोग, वर्गीकरणलगायतका विषयहरु समेटिएको पनि उनले जनाईन् । मन्त्री अर्यालकाअनुसार उक्त विद्येयकमा जमिनको अधिकतम प्रयोगमा जोड दिईएको छ । त्यस्तै, जनताको सहभागितामा जमिनको एकीकरणबारे पनि विद्येयकमा जोड दिइएको उनले सुनाइन् ।
मन्त्री अर्यालले सरकारी जग्गा, जमिन अतिक्रमण र कब्जा गर्ने कामलाई वर्तमान सरकारले रोकेको दाबी गर्दै हिजो अतिक्रमण र कब्जा गरिएका सरकारी जग्गा यो सरकार आएपछि फिर्ता लिने प्रक्रिया अघि बढाएको बताइन् । उनले अब जग्गाको कित्ता, नापी पनि डिजिटल नापी (टोटल स्टेरेशन) बाट नाप र नक्शाको काम गरिरहेको पनि विश्वास दिलाइन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल