Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महन्थले टार्लान् राष्ट्रपतिको गर्जो

काठमाडौं । प्रतिनिधिसभा विघटनका बेला नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष महन्थ ठाकुरको दह्रिलो साथ पाए। ओलीलाई ठाकुरको त्यो सहयोग प्रतिनिधिसभाको दुवै विघटनमा थियो। जबकि प्रतिनिधिसभा विघटनलाई साथ दिने ठाकुरको निर्णयप्रति जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव विल्कुलै सहमत थिएनन्। आफूलाई साथ दिएका ठाकुरपक्षीय जसपाका नेताहरूलाई मन्त्रीमण्डलमा सहभागी गराएर ओलीले गुण तिरे। यद्यपि त्यो मन्त्रीमण्डललाई सर्वोच्च अदालतले वैधानिकता दिएन। र, १९ दिनमै ठाकुरनिकट नेताहरू सरकारबाट बाहिरिनु प¥यो। जसपामा विग्रह पैदा भयो। ठाकुरहरू पार्टीबाट बाहिरिएर लोकतान्त्रिक समाजवादी पार्टी लोसपा गठन गरे।
गएको स्थानीय तह चुनावमा पनि ओलीले लोसपाको साथ पायो। अनि लोसपाले एमालेको। कतिपय स्थानीय तहमा दुवै पार्टीले सहकार्य गरेर चुनाव लडेको थियो। तर, आम निर्वाचनसम्म आइपुग्दा समीकरणहरू फेरिए। एमाले–लोसपाको सहकार्यमा ब्रेक लाग्यो। स्थानीय चुनावमा एमालेसँग तालमेल गरेको लोसपाले आम निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा ‘इन्ट्री’ पायो। त्यसयता ठाकुर नेतृत्वको लोसपा कांग्रेससँग आवद्ध छ। शुक्रबार प्रतिनिधिसभा परिसरमा फरक दृष्य देखियो।
संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीको सम्बोधन सुनेर बाहिरिँदै गर्दा एमाले अध्यक्ष ओलीले लोसपा अध्यक्ष ठाकुरलाई आफ्नो कारमा बस्न आग्रह गरे। ठाकुर पनि तयार भइदिए। उनलाई कारमा बसाल्न ओली आफैंले सहजीकरण गरे। नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा भवनबाट ओली र ठाकुर सवार कार बालकोटतर्फ हुँइक्कियो। ओलीले चिया खान भन्दै ठाकुरलाई आफ्नो निवास बालकोट लगे पनि अन्तर्य भने आगामी राष्ट्रपति निर्वाचन थियो।
प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग ओली राष्ट्रपतिका उम्मेदवारलाई लिएर ‘मौन’ असन्तुष्ट बनेका छन्। राष्ट्रपतिका उम्मेदवार राष्ट्रिय सहमतिको आधारमा खोज्नुपर्ने प्रचण्डको प्रस्तावसँग ओलीले ‘बेमेल’ राखेका छन्। राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई खडा गर्ने र शीतल निवाससम्म पु¥याउने ओलीको ‘अटुट चाहना’ छ। प्रचण्ड भने एमालेका ‘क्याडेट’ लाई राष्ट्रपतिमा सहयोग गर्न अनइच्छुक छन्। डराएका छन्, सशंकित छन्। राष्ट्रपतिका उम्मेदवारलाई लिएर चुनावपछि बनेको सातदलीय गठबन्धनका दुई प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच फाटो ल्याइदिएको छ। यो विषय दुवै खोलेर बोल्न सकेका छैनन् नै, एकअर्कालाई छाड्ने साहस पनि गर्न सकेका छैनन्।
आफ्नो पार्टीका राष्ट्रपति उम्मेदवारलाई प्रचण्डले सहयोग नगर्ने संकेत पाइसकेका एमाले अध्यक्ष ओलीले लोसपा अध्यक्ष ठाकुरको साथ खोजेका हुन्। चिया खुवाउन कारमा सँगै बालकोट लगेका ओलीले लोसपा अध्यक्ष ठाकुरसँग करिब एक घण्टा छलफल गरे। लोसपाका नेताहरूले अगामी राष्ट्रपतिका लागि ठाकुरलाई ‘प्रोजेक्ट’ गरिरहेका छन्। एमाले उम्मेदवारको नाममा सहमति ओलीलाई कठिन भइरहेको बेला कारमा सँगै बसालेर लगेका ठाकुरलाई उनले राष्ट्रपतिका लागि प्रस्ताव गर्ने धेरैको अनुमान थियो। तर, एक घण्टाको बालकोटमा बसाइमा ओलीले लोसपा अध्यक्ष ठाकुरलाई राष्ट्रपतिका लागि प्रस्ताव गरेनन्। बरू राष्ट्रपति निर्वाचनमा आफूहरूलाई साथ दिन आग्रह गरे।
ठाकुले वचन त दिएनन्। तर, एमालेका तर्फबाट राष्ट्रपतिको उम्मेदवार को हुने ओलीसँग प्रश्न गरे। ओलीको जवाफ थियो– राम्रै उम्मेदवार दिन्छौं। राष्ट्रियसभाको उपनिर्वाचनमा लुम्बिनीमा माओवादीले केही भोट कांग्रेसलाई दिएको ओलीको हिसाब छ। चुनाव जिते पनि भोट घटेको उनले ठाकुरलाई हिसाब देखाएका थिए। राष्ट्रपति निर्वाचनमा कांग्रेसले आफ्नो उम्मेदवार दिने पक्का छ। र, त्यो बेला पनि माओवादी केन्द्रको भोट कांग्रेसतिर ‘ट्रान्सर्फर’ हुनसक्ने अनुमान गरेका ओलीले लोसपाको साथ खोजेका हुन्। सत्ता गठबन्धनमा सामेल नभए पनि लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो। यद्यपि सभामुख र उपसभामुखको निर्वाचनमा भने यो पार्टीले कांग्रेस उम्मेदवारलाई सघायो। प्रचण्डलाई विश्वासको मत दिएकोले लोसपाले मधेस प्रदेस सरकारमा भाग खोजेको छ। एमाले अध्यक्ष ओलीले यसबारे छुट्टै छलफल गर्ने ठाकुरलाई आश्वासन दिएका छन्। राष्ट्रपति निर्वाचनमा एमालेले अघि सार्ने उम्मेदवारलाई सहयोग गर्ने÷ नगर्ने केही नभनेर ठाकुर बालकोटबाट फर्किए।