Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यिनका बाउ छोरालाई कानुन लाग्दैन सरकार ?

काठमाडौँ । दसी प्रमाणले भेट्छ भने बहालवाला प्रधानमन्त्री होस् या मन्त्री सबैलाई छानविनको दायरामा ल्याउनुपर्छ । तर यहाँ ठूलाबडालाई जोगाउन सत्तापक्ष र प्रतिपक्षको मिलीभगन हुने गरेको छ । विद्युतीय चुरोट भेपमा लुकाएर भित्र्याइएको तस्करीको सुन प्रकरणमा जोडिएका पूर्वसभामुख एवं सत्तारूढ माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा अझै अनुसन्धानको दायराबाहिर छन् । जबकि प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस भएको आरोपपत्रमा महरा बाबुछोराको सुन तस्करसँग टेलिफोन सम्पर्क भएको कल डिटेल रेकर्डसमेत उल्लेख छ । विवरण पेस भएको ४७ दिन बितिसक्दासमेत उनीहरूमाथि प्रहरीले सामान्य सोधपुछसमेत गरेको छैन । २०७९ पुस १० मा दुबईबाट चिनियाँ नागरिक दाओजिन वाङसहितको गिरोहले भेपभित्र लुकाएर करिब ९ केजी सुन ल्याएको थियो । जाँचपासका क्रममा भेप शंकास्पद देखिएपछि भन्सारले जफत गरी गोदाममा राखेको थियो । भेप जफतपछि अत्तालिएको गिरोहले पूर्वसभामुख महरा र छोरा राहुलमार्फत सामान छुटाउन दबाब दिएको अनुसन्धानबाट खुलिसकेको छ । भेप छुटाउनकै लागि चिनियाँ तस्कर वाङसँग महराले छोरा निर्मलको फोनमार्फत ११ पटक कुराकानी गरेको तथ्य पनि पुष्टि भइसकेको छ । विमानस्थल भन्सार प्रमुख अरुण पोखरेललाई पनि महराले सम्पर्क गरी ‘राहुल आउँछ, हेर्दिनुहोला’ भनेको स्रोत बताउँछ । राहुललाई सुन तस्कर वाङले ६४ पटक र राहुलले दाओजिनलाई १ सय ३१ पटक सम्पर्क गरेको देखिन्छ । हाल फरार असिन भनिने अर्का चिनियाँ तस्करलाई राहुलले ३ पटक सम्पर्क गरेका थिए । राहुलले नै फरार रहेका अर्का व्यक्ति लोकेन्द्र पौडेललाई ३६ पटक फोन सम्पर्क गरेको देखिन्छ । महराले छोरा निर्मलको फोनमार्फत ११ पटक कुराकानी गरेका छन् । यी सबैसहित महराका बाबुछोराले सुन तस्कर र यसको नेटवर्कमा रहेका गिरोहसँग समेत २ सय ५६ पटक संवाद गरेको प्राविधिक अनुसन्धानले पनि पुष्टि गरिसकेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले सुन प्रकरण र महराका बाबुछोराको कनेक्सन खुलाइसकेको छ । सुन भएका भेप जफत गरेर भन्सारले गोदाममा राखेकामा पछि त्यहीँबाट चोरी भएको थियो । भन्सारका कर्मचारी, एजेन्टसहितको सेटिङमा सुन चोरी भएको पाइएपछि सीआईबीमार्फत यसको अनुसन्धान भएकामा चोरीमा संलग्न ९ जनामाथि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । तर, सुन ल्याउने गिरोहमाथि मुद्दा दायर त परैको कुरा, अनुसन्धानसमेत हुन सकेको छैन । भेपमा सुन ल्याउने चिनियाँ गिरोहका सदस्य वाङसँग आफ्नो पुरानै सम्बन्ध रहेको र भेप प्रकरणमा पनि चिनजानका हिसाबले सहजीकरण गर्न आफूले भन्सारका कर्मचारीलाई सम्पर्क गरेको महरा स्वयंले पनि स्वीकार गरिसकेका छन् । भन्सारले भेप नियन्त्रणमा लियो भनेर चिनियाँ व्यक्तिले भनेपछि आफूले कर्मचारीसँग कुरा गरेको उनले बताएका छन् । महराले वाङसँग फलफूल व्यापारीका रूपमा आफूले चिनेको दाबी गरेका छन् । तर, उनी सुन तस्करका नाइके भएको अनुसन्धानबाट खुलेको छ । उनी अहिले फरार छन् । सीआईबीले भेपभित्रको सुन चोरीमा संलग्नविरुद्ध यसअघि मुद्दा दायर भएको र अनुसन्धान अहिले पनि जारी रहेको जनाएको छ । सीआईबीका एसएसपी दिनेश आचार्यले भेपमा लुकाएर ल्याइएको सुन र गोदामबाट हराएको भेपभित्रको सुनसम्बन्धी छुट्टाछुट्टै विषय भएको भन्दै तस्करीबाट भित्रिएको सुन प्रकरणमा अनुसन्धान भइरहेको बताए । भेपमा लुकाएर ल्याएको सुन प्रकरणलाई लिएर केही दिनअघि जिल्ला सरकारी वकिल कार्यालय, गृह मन्त्रालय र प्रहरीका उच्च अधिकारीबीच अनौपचारिक छलफल भएको थियो । त्यस क्रममा यो प्रकरणमा जोडिएका पूर्वसभामुख महरा, उनका छोरा राहुल र चिनियाँ तस्करलाई कारबाहीको दायरामा ल्याउने विषय पनि उठेको थियो ।


सम्बन्धित समाचार