Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रायमाझीलाई कारबाही गर्दा एमाले सकिन्छ र ?

काठमाडौँ । एमालेभित्र पार्टी अध्यक्षका भित्रियाले गरेका गल्तीलाई मुलुक पनि आममाफी दिनुपर्ने अवस्था बन्छ । ७० करोड काण्डको टेप सार्वजनिक भएपछि गोकुल बास्कोटालाई भएको कारबाही भनेको मन्त्रीबाट राजीनामा मात्रै हो । अहिले फेरि अर्को काण्ड बाहिरियो नक्कली शरणार्थी । यसमा पनि एमाले आफ्ना सांसदलाई कारबाही गर्नेतिर खुलेको छैन ।, पार्टी सचिव एवं अर्घाखाँचीबाट प्रतिनिधिसभामा सदस्य रहेका टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएपछि एमालेले तत्कालका लागि पर्ख र हेरको रणनीति अंगीकार गर्ने देखिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका केन्द्रीय पदाधिकारी नै जोडिए पनि एमालेले तत्काल उनीमाथि कारबाही गर्ने मनस्थिति देखाएको छैन । आसन्न केन्द्रीय कमिटी बैठकका एजेन्डामा छलफल गर्न मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले रायमाझीबारे आन्तरिक कारबाही वा अनुसन्धानबारे केही निर्णय नलिइ उनले कानुनी प्रक्रियामा सघाउनुपर्ने ठहर गरेको छ । एक पदाधिकारीका अनुसार यो एमालेको पर्ख र हेरको रणनीति हो । आरोप लाग्दाबित्तिकै पक्राउ पुर्जी जारी हुने र निर्वाचित सांसद निलम्बन हुने अवस्था देखियो । केही दिन पर्खदा उहाँ निलम्बन नहुने अवस्था पनि हुन सक्छ । अरु पार्टीका नेताहरुबारे सरकारको रवैया के हुन्छ त्यो पनि हेर्नुपर्छ, ती पदाधिकारीले भने, पार्टीलाई धेरै क्षति हुने अवस्था आउदा आन्तरिक कारबाहीदेखि अरु उपाय त हुन्छन् नै । संसद्‍मा एक अंक पनि नघटोस् भन्ने चाहना त हुने नै भयो । भविष्यको सम्भावित सत्ता समीकरणमा एक–एक सांसदको महत्त्वपूर्ण भूमिका हुने भएकाले रायमाझी निलम्बनमा नपरून् भन्ने एमाले शीर्ष नेताको चाहना छ । पक्राउ पुर्जी जारी हुँदा गृहजिल्ला अर्घाखाँचीमा रहेका रायमाझी काठमाडौं आउँदै गर्दा बुटवलबाट फरार भएका छन् । ठगी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव रायमाझीको घरमा प्रहरीले मंगलबार छापा मारेको छ । सातदोबाटोस्थित रायमाझीको घरमा काठमाडौं प्रहरी परिसरको टोलीले छापा मारे पनि आरोपित रायमाझी भने भेटिएका छैनन । प्रहरीले रायमाझीविरुद्ध प्रमाण प्रस्तुत गरेर गत बुधबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको केही घण्टादेखि उनी फरार छन् । फरार हुनुपूर्व रायमाझीले पार्टीका को–को नेतासँग संवाद गरेका थिए भन्ने एमालेले केही बताएको छैन । यसबाहेक रायमाझीको पछिल्लो अवस्थाबारे पनि एमालेले केही स्पष्ट पारेको छैन । कांग्रेस र एमालेका नेताहरू जोडिएपछि नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनको निष्पक्षतामाथि पनि प्रश्न उठ्न थालेका छन् । पार्टीले सांसद रायमाझी आफैंले अनुसन्धानमा सघाउनुपर्ने निर्णय गरे पनि दोस्रो तहका नेताहरू भने उनलाई कारबाही नै गर्नुपर्ने पक्षमा देखिएका छन् । यो प्रकरण सतहमा आएपछि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचका भेटघाट अप्रत्याशित रूपमा बाक्लिएका छन् । तीन नेताबीच पनि मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट भएको थियो । यद्यपि भेटमा संसद्‍मा विचाराधीन विधेयक र संसदीय समितिका सभापतिहरूको विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।


सम्बन्धित समाचार