Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आजविश्वासको मत लिने भएका छन् ।

उनी पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

विश्वासको मत लिन आज प्रदेशसभा बैठक आह्वान गरिएको छ । नागरिक उन्मुक्ति पार्टी नाउपाले विश्वासको मत नदिने भएपछि बुधबार तोकिएको प्रदेशसभा बैठक स्थगित गरी आजका लागि बोलाइएको छ ।

विश्वासको मत दिन नागरिक उन्मुक्तिलाई आग्रह गरिएको छ तर नाउपाले टीकापुर काण्डमा दोषी ठहर भई जेलमा रहेका नेता रेशम चौधरीलगायतका नेताहरुलाई रिहा नगरेसम्म रावललाई विश्वासको मत नदिने अडान लिएको छ ।

नाउपाले विश्वासको मत नदिए रावल मुख्यमन्त्रीबाट पदमुक्त हुनेछन् । त्यसपछि सबैभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नेछ ।

सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ५ र राप्रपाका १ जना सांसद छन् ।