Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुध्रिएला त काँग्रेस ?

काठमाडौं । जनताले बदला लिएपछि रुपान्तरणको कुरा गर्न सजिलो छ तर आफूले खाँदै आएको भाग छाड्न कोही तयार छैनन् । मूलधारका दलहरु झस्किने गरी उपनिर्वाचनको नतिजा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पक्षमा गएपछि नेपाली कांग्रेसमा सुधार र रुपान्तरणको बहस सुरु भएको छ। पार्टीबाट राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलको गृह क्षेत्रमा अकल्पनीय पराजय बेहोर्न परेपछि कांग्रेसमा नेताहरुले रुपान्तरणको बहस सुरु गरेका हुन्। उपनिर्वाचनको मत परिणामले दलहरुलाई ‘सच्चिने कि सकिने’ भन्ने विकल्प दिएको भन्दै कांग्रेसका शीर्ष नेताहरुका अभिव्यक्ति पनि पार्टी सुधार र रुपान्तरणको बहसमा केन्द्रित हुन थालेका छन्।
सभापति शेरबहादुर देउवाले पार्टीका सांसदहरुसँगको छलफलका क्रममा उपनिर्वाचनले ठूला पार्टीप्रति जनताले चासो नदेखाएकाले पार्टीलाई सुधारेर जानु पर्ने आवश्यकता औँल्याएसँगै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी रुपान्तरणमा जोड दिएका छन्। कांग्रेसमा छुट्टै समूहको नेतृत्व गर्दै आएका नेता डा। शेखर कोइरालाले पनि उपनिर्वाचनको मत परिणामपछि पार्टी नयाँ ढंगबाट अगाडि बढ्नु पर्ने बताएका छन्। गृहनगर विराटनगरबाट कोइरालाले उक्त अभिव्यक्ति दिएको एक दिनपछि महामन्त्री शर्माले बुधबार उपचुनावमा विजयी उम्मेदवारलाई शुभकामना दिँदै मत परिणामले कांग्रेसलाई रुपान्तरित हुन सन्देश दिएको धारणा सार्वजनिक गरेका छन्। उनले देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समयअनुरुप आफूलाई बदल्नु पर्ने र आफूहरु नवीन अभियानमा नयाँ ढंगले जुट्ने बताएका छन्। शर्मापछि बुधबार बेलुका अर्का महामन्त्री थापाले पनि वैचारिक र सांगठनिक दृष्टिले रूपान्तरण गरेर कांग्रेसलाई जनभावनाअनुसार नयाँ जीवन दिने गरी लाग्नु पर्ने धारणा सार्वजनिक गरेका छन्। सभापति देउवा, महामन्त्रीद्वय थापा–शर्मा र नेता कोइरालाले भने जसरी के साँच्चै पार्टीमा सुधार र रुपान्तरण हुन्छ ? यतिबेला कांग्रेस नेता–कार्यकर्ताको मनमा कौतुहल जागेको छ। उनीहरुमा पार्टीभित्र सुधार र रुपान्तरणका लागि को–को सुध्रिन्छन् र कस्तो रुपान्तरण हुन्छ भन्ने प्रश्न पनि भेटिन्छ। उपनिर्वाचनले मूलधारका दलहरुप्रति जनताले चासो नदेखाएपछि पार्टीलाई सुधारेर जानु पर्ने आवश्यकता देखेका सभापति देउवा रुपान्तरणका लागि कांग्रेसले बजेट ल्याउँदा जनतालाई सम्बोधन गर्ने र जनतासँग जोडिने कार्यक्रम ल्याउनु पर्ने बताइरहेका छन्। प्रतिनिधि सभा सदस्यसमेत रहेका केन्द्रीय सदस्य प्रदीप पौडेल भने पार्टीको सुधार र रुपान्तरणका लागि उपनिर्वाचनको समीक्षा गरेर अगाडि बढ्ने परिस्थिति हुनुपर्नेमा जोड दिन्छन्। कांग्रेस नेता तथा पूर्वमन्त्री डा मीनेन्द्र रिजाल उपनिर्वाचनको मत परिणामबारे एकअर्कालाई दोषारोपण गर्ने भावबाट नभएर सतर्क भएर सप्रिनु पर्ने बेला भएको बताउँछन्। चरित्र सुधार्ने र कांग्रेसलाई गतिशील बनाउने कुरा आफूबाट सुरु हुने रिजालले बताए। नेता कोइराला पनि उपनिर्वाचनको मत परिणामलाई लिएर पार्टीभित्र निर्मम समीक्षा हुने र हारको दोष एकजना माथि थोपरेर अरु उम्किने अवस्था नरहेको बताउँछन्। निर्वाचनमा पार्टीले बेहोरेको पराजयको जिम्मेवारी सबैले लिनुपर्ने उनको भनाइ छ। ६ महिनाअघि दर्ता भएको दलले उपनिर्वाचनमा गरेको विजय कांग्रेसलाई सतर्क गर्ने घण्टीका रुपमा मात्रै बजेको रिजालको भनाइ छ।