//मृत्युको कारण बन्दै सेल्फी

मृत्युको कारण बन्दै सेल्फी

जमाना सेल्फीको छ । मानिसहरूको हातहातमा स्मार्टफोन र अत्याधुनिक क्यामरा । कतै घुम्न जाँदा सेल्फी लिनु अति सामान्य भइसक्यो । सेल्फीकै लागि भनेर छुट्टै क्यामरा र एप्लिकेसन पनि बनाइएको छ । तर, त्यही सेल्फी विश्वमा हुने ‘मृत्युहरूको एक कारण’ बनेको छ । २०७३ पुसमा झापाबाट पाँचथरतर्फ मोटरसाइकलमा जाँदै गरेका विशाल सम्वाहाम्फे सडक पेटीमा मोटरसाइकल रोकेर सेल्फी खिच्दै थिए । सेल्फी खिच्दै गरेका सम्बाहाम्फेलाई फिक्कलबाट बिर्तामोडतर्फ आउँदै बसले ठक्कर दियो । सेल्फी लिने मोहले उनको ज्यानै गयो । यस्तै गत साउनमा मानसरोबर दर्शन गर्न गएका भारतीय तीर्थयात्री नगेन्द्र कुमार कार्तिकेयको हिल्सामा हेलिकप्टर नजिकै उभिएर सेल्फी लिने क्रममा मृत्यु भयो । हेलिकप्टरको पछिल्लो भागमा रहेको टेल रोटरमा ठोकिँदा नगेन्द्रले ज्यान गुमाउनुप¥यो । यस्तै सेल्फी लिने होडमा धेरैको मृत्यु हुने गरेको छ । तर, ती सबै घटना बाहिर आउँदैन । नदी, पहाड, भीर, ताल, झुलंगे पुल इत्यादि देख्नेबित्तिकै सेल्फी लिनेको संख्या धेरै छ । सेल्फी लिने क्रममा सावधानी नअपनाउँदा उनीहरूको ज्यान जानसक्ने खतरा जतिखेर पनि हुन्छ । सामान्य सेल्फीभन्दा अलि पृथक, उत्कृष्ट र साहसिक सेल्फी लिने ‘कल्चर’ विकास भइरहेको छ । ‘सेल्फी लिनका लागि भए पनि सगरमाथाको चुचुरोमा जानुपर्छ’ भन्ने ठट्टा नै गर्नेहरू छन् । तर, त्यही ‘सेल्फी कल्चर’ले धेरैको ज्यान लिने गरेको हालै अमेरिकामा सार्वजनिक एक रिपोर्टलेसमेत उल्लेख गरेको छ । विश्वभर सेल्फीका कारण हुने मृत्युका बारेमा अमेरिकाको ‘न्यास्नल लाइब्रेरी अफ मेडिसिन’ले गरेको एक अध्ययनले सन् २०११ देखि २०१७ भित्र सेल्फी लिने चक्करमा २ सय ५९ जनाको मृत्यु भएको सार्वजनिक गरेको छ । लाइब्रेरीले यस्ता मृत्युहरूको संख्या घटाउन खतरनाक स्थानहरू पत्ता लगाई त्यसलाई ‘सेल्फी निषेधित क्षेत्र’ घोषणा गर्नुपर्ने सुझाव दिएको छ । हिमाल पहाडका चुचुरा, अग्लो भवन, ताल, समुन्द्री किनारहरूमा सेल्फी लिँदा धेरैको मृत्यु हुने गरेको पाइएको छ । त्यस्ता स्थानहरूमा सावधानी नअपनाइ सेल्फी लिँदा डुबेर वा खसेर मानिसहरूको मृत्यु हुने गरेको हो । गत जुलाइमा अस्ट्रेलियाको न्यू साउथ वेल्सको कुरनेल स्थित चट्टानमाथि बसेर सेल्फी लिँदा १९ वर्षे गेभिन जिम्मरम्यानको खसेर मृत्यु भयो । यस्तै, क्यालिफोर्नियाको योसेमाइट राष्ट्रिय पार्कमा सेल्फी लिन खोज्दा टोमर फ्रयान्कफुटरको २५० मिटर तल खसेर मृत्यु भयो । उक्त अनुसन्धानमा यसप्रकारका घटनाका बारे अध्ययन गरिएको थियो ।

मृत्यु हुनेमा पुरुष बढी
रिपोर्ट अनुसार सेल्फी लिने चक्करमा धेरै मृत्यु हुने राष्ट्रमा भारत, रसिया, अमेरिका र पाकिस्तान रहेको छ । मृत्यु हुनेमा ७२.५ प्रतिशत पुरुष रहेको उल्लेख छ । यो अध्ययनले मृत्यु हुनेहरूको संख्या बढ्दै गएको देखाएको छ । सन् २०११ मा सेल्फीका कारण मृत्यु भएका तीन घटना मात्र फेला परेको थियो । सन् २०१६ मा सो संख्या ९८ र २०१७ मा ९३ पुगेको रिपोर्टमा उल्लेख गरिएको बीबीसीले जनाएको छ । यद्यपि, अनुसन्धानकर्ताहरूले सेल्फी लिँदा मृत्यु हुनेको संख्या यो भन्दा बढी हुनसक्ने बताएका छन् । सेल्फीलाई ’मृत्यु हुनुको एक कारण’का रुपमा कहिल्यै नलिइएकोले धेरै घटनाहरू बाहिर नआएको हुनसक्ने उनीहरूको तर्क छ । उक्त रिपोर्टका अनुसार ’सेल्फीका कारण मृत्यु भएका घटनाहरूका बारे रिपोर्ट गरिँदैन । त्यसैले वास्तविक समस्याको पहिचान गरी त्यसलाई सम्बोधन गर्नुपर्छ । सेल्फी लिने रहरका कारण भएका सडक दुर्घटनालाई अरु सामान्य दुर्घटनाका रुपमा रिपोर्ट गरिन्छ ।’ त्यसैले सेल्फीका कारण हुने दुर्घटनाको पहिचान गर्न खासै चासो नदिइएको रिपोर्टको निष्कर्ष छ । त्यसैले सेल्फीबाट हुने मृत्युहरूका बारेमा विस्तृत कारणहरू र त्यसबाट उत्पन्न समस्याका बारेमा पहिले नै आंकलन गर्नुपर्ने अनुसन्धानका क्रममा देखिएको छ । कारण पत्ता लगाइ त्यसको समाधान फेला पारे मात्र सेल्फीबाट हुने मृत्युहरूको रोकथाम गर्न सहज हुनेछ ।